नेपालगन्ज ।
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजनको सुविधा सुरु भएको छ । अस्पतालमा हालसम्म सिलिण्डरमा अक्सीजन बोेकेर पुर्ति गरिँदै आएकोमा विहीबारबाट लिक्विड अक्सिजन सुविधा सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए । अहिलेसम्म अक्सिजन सिलिण्डरमा बोकेर सेवा दिनु परिरहेकोमा अब उक्त झन्झट कम हुने डा. भट्टराईले बताए ।
‘क्यान्सरजस्तो रोगको उपचारमा जतिबेला पनि अक्सिजन आवश्यक पर्ने हुन्छ । तर हामी अहिलेसम्म सिलिण्डरबाटै अक्सिजन आपूर्ति गरेर सेवा दिँदै आएका थियौँ । लिक्विड अक्सिजन तुलनात्मक रुपमा सस्तो त हुन्छ नै अब आफ्नै परिसरमा अक्सिजन हुँदा त्यसले सेवा प्रवाहमा सहजता ल्याउनेछ । अक्सिजनको चिन्ता हट्नेछ,’ डा. भट्टराईले भने ।
उनले यसअघि आफू कार्यकारी निर्देशक रहेकै बखत लिक्विड कक्सिजनका लागि आवश्यक संरचनाहरू जडान गरेको बताए । यसबीचमा विविध कारणवश लिक्वड अक्सिजनको सुविधा हुन नसकेकोमा आफू पुनः कार्यकारी निर्देशक भएपछि त्यसको व्यवस्था गर्न सफल भएको बताए । उनका अनुसार लिक्विड अक्सिजनको व्यवस्थाका लागि अमेरिकी सहयोग नियोग युएसएआइडीले सहयोग गरेको छ ।
आविष्कार केन्द्रसँग मर्मतको लागि सम्झौता
सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच अस्पतालका उपकरण मर्मतका लागिद सम्झौता पनि भएको छ । अस्पतालका बिग्रेका उपकरणहरू मर्मत गर्नेगरी शुक्रबार नै सम्झौता भएको डा. भट्टराईले जानकारी दिएका छन् । सम्झौतापछि मेसिनहरू मर्मतका लागि प्राविधिक खोज्नुपर्ने झन्झट र ढिलाई हुने समस्या कम हुने उनले बताए ।
‘अस्पतालका मेसिनहरू समय समयमा बिग्रिरहने हुन्छ । मेसिन बिग्रदा र मर्मतमा लामो समय लाग्दा सेवाग्राही नै मर्कामा पर्ने हुँदा त्यस समस्यालाई कम गर्न हामीले आविष्कार केन्द्रसँग सहकार्य गर्ने सम्झौता गरेका छौँ,’ डा. भट्टराईले भने ।









प्रतिक्रिया दिनुहोस्