म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न



म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको लामो समयसम्म अलपत्र परेको सडक स्तरोन्नति योजना पाँच वर्षपछि बल्ल सम्पन्न भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना अनेकन् हिलाम्मे र ढिलासुस्ती खेप्दै पूरा भएको हो।

सुरुवाती चरणमा ६ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले विसं २०७८ माघ ७ मा २ करोड ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर निर्माण कम्पनीको लापरबाहीका कारण योजना सम्पन्न हुँदासम्म सातौँ पटक म्याद थप्नुपरेको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाका अनुसार ९० प्रतिशत भौतिक प्रगति भएको यस योजनामार्फत भएका कामको प्राविधिक नापजाँच र मूल्याङ्कन गरी अहिले ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ।

३ करोड ३१ लाख ९९ हजार ९९९ रुपैयाँ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोल्ने कम्पनीसँग सम्झौता भए पनि उसले समयमा काम नगरेको सापकोटाले बताए। निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाएपछि मात्र अन्तिम समयमा आएर ठेकेदारले काम फत्ते गरेका हुन्। यस योजनाअन्तर्गत घोर्सीडाँडा क्षेत्रमा १९० मिटर दूरीमा सडक ढलान गर्ने, बाटो फराकिलो पार्ने, घुम्ती र ग्रेड सुधार गर्ने, सोलिङ गर्ने तथा ग्याबियन र टेवा पर्खाल निर्माण गर्ने काम भएका छन्। यसका साथै निस्कोटदेखि ताराखोलातर्फ जाने सडकको नयाँ मार्ग पनि खोलिएको छ।

यो सडकले मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोट र २ बिलबाङ, रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग सिधै जोड्छ। अप्ठ्यारो ठाउँमा ढलान र मोड सुधार गरेपछि अहिले यात्रा निकै सहज बनेको र यस स्तरोन्नति योजनालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने स्थानीय सोमबहादुर दर्जीले बताए।यो सडक निस्कोट हुँदै बागलुङको ताराखोला गाउँपालिकालाई समेत जोड्ने भएकाले यसको रणनीतिक महत्त्व ठुलो रहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।

अघिल्लो कार्यकालमा सङ्घीय सरकारको समपूरक अनुदानमा सञ्चालित यो योजना अलपत्र परेपछि त्यसलाई पूर्णता दिन पालिका आफैँले थप आर्थिक व्ययभार व्यहोर्नुपरेको गर्बुजाले जानकारी दिए। धेरै मेहनत गरेर अलपत्र र अधुरो योजनालाई पूर्णता दिने अवस्थामा पुर्‍याएको उनको भनाइ छ। यस्तै गत आर्थिक वर्ष २०८१/८२ मा १ करोड रुपैयाँ बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माणको अर्कै ठेक्का सम्झौता भने वनसम्बन्धी मुद्दा परेपछि तोड्नुपरेको समेत अध्यक्ष गर्बुजाले स्पष्ट पारे।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार