नेपालगन्ज ।
अहिले देशभर वर्षा गराइरहेको मौसमी प्रणाली पूर्वी नेपालबाट पश्चिमतिर सर्दै गएको छ । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुसार मौसमी प्रणाली पश्चिमतिर सरेसँगै पश्चिम नेपालमा वर्षाको मात्रा बढ्ने पूर्वानुमान जारी गरेको छ । पश्चि नेपालमा बुधबारदेखि नै लगातार पानी परिरहेपनि अब सुदूरपश्चिमसम्मै पानी पर्ने क्रम थप बढ्ने पूर्वानुमान गरेका हुन् । मौसम पूर्वानुमान महाशाखाले जोखिम नक्सा जारी गर्दै बागमती प्रदेशदेखि पूर्वी भागका जिल्लाहरूमा पहेँलो रंगले र गण्डकीदेखि पश्चिमतिरका उच्च पहाडी तथा हिमाली भेगका जिल्लाहरूमा रातो रंगले संकेत गरेको छ।
पहेँलो रंग सतर्क हुँदै मौसमी अवस्थाबारे अध्यावधिक हुनुपर्ने संकेतका लागि प्रयाग गरिएको छ भने रातो रङ बाढीपहिरोको जोखिम हुने हुँदा प्रतिकार्य गर्नुपर्ने संकेतका लागि प्रयोग गरिएको छ ।
महाशाखाले निरन्तरको झरीका कारण आगामी दुई दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ । ९ गते राती गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कन्चनपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ भने असोज १० गते बाढीको उच्च जोखिम क्षेत्र थप बढ्ने जनाएको छ ।
१० गते रातीसम्म नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत बाढीको उच्च जोखिम छ । आइतबारदेखि पनि सातै प्रदेश भई बहने साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको महाशाखाले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सिसम्म उच्च सतर्कता अपनाउन भनेको छ ।
देशभर यातायात प्रभावित
लगातारको वर्षाका कारण एकजनाको मृत्यु भएको छ भने देशभरको सडकदेखि हवाई यातायात सेवा प्रभावित भएको छ । मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार साँझ खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको सूचना पाएपछि प्रहरीको टोली घटनास्थल पुगेर शव बाहिर निकालिएको प्रहरीको भनाइ छ ।
भारी वर्षाले अहिले कर्णाली देखि कोशी प्रदेशसम्मको यातायात सेवा प्रभावित भएको छ । बाढी, पहिरो र सडक अवरोधको जोखिम उच्च जोखिम देखिएपछि कर्णाली राजमार्ग हुँदै आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यात्रु तथा सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउन लामो दूरीका सवारी सञ्चालनमा रोक लगाइएको हो । सुर्खेत, नेपालगन्ज, जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, सल्यान र रूकुमतर्फ सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ । छोटो दूरीका स्थानीय सवारीसाधन भने सडकको अवस्था हेरेर सञ्चालन भइरहेका प्रहरीले जनाएको छ ।
वशेषगरी भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो खस्ने, सडक भासिने र खोलानालामा पानीको बहाव बढिरहेको छ । शुक्रबार बिहानैदेखि कर्णालीका सबै ठाउँमा नियमित वर्षा भईरहेको छ । लामो दूरीका सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र पर्ने सम्भावना भएकाले यातायात राखिएको छ । एकपटक सडक अवरुद्ध भएपछि पहाडी जिल्लामा तत्काल वैकल्पिक मार्ग उपलब्ध नहुने भएकाले सामान्य सडक अवरोधसमेत घण्टौँ वा दिनौँसम्मको यातायात समस्यामा परिणत हुन सक्ने भएकाले यातायात रोखिएको प्रहरीले जनाएको छ ।
भारी वर्षाको अवस्था सामान्य नहुँदासम्म कर्णालीका सडकमा यात्रा गर्ने यात्रुले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । यसैगरी, वर्षाकै कारण पुनः काठमाडौँ सडक सम्पर्क विच्छेदको अवस्थामा पुगेको छ । काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरूलाई कलंकीदेखि नै प्रवेशमा रोक लगाइएको छ । काठमाडौँ–नारायणगढ सडकको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौँबाट बाहिरिने ठूला सना सवारीलाई कलंकीबाटै प्रवेशमा रोक लगाइएको हो ।
वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ । केही दिनअघि डाइभर्सन बनाइएको कृष्णभिरमा पुनः सडक भासिन थालेको छ । यसैगरी काठमाडौँलाई जोड्ने बीपी राजमार्ग र कान्तिलोकपथ पनि बन्द भएका छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू गुड्न सकेका छैनन् । वर्षा नरोकिएका कारण सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सवारी सञ्चालनमा रोक लगाएका छन् ।
काठमाडौँ–हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खसेको छ । ललितपुर प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैबीच, चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडखण्डमा झरेको पहिरो हटाएर नारायणगढ–पोखरातर्फको सवारी आवागमन खुला गरेको छ ।
अविरल वर्षाका कारण पाल्पामा पनि विभिन्न स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग लगायतका मुख्य तथा सहायक सडक खण्डहरू अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलाठूला ढुङ्गा र माटो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको हो । त्यसैगरी, सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका–५ स्थित चरचरे र जोरधाराको बीचमा पनि वर्षाका कारण माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ । राजमार्गका साथै ग्रामीण सडक सञ्जालमा समेत पहिरोले क्षति पु¥याएको पाल्पा प्रहरीले जनाएको छ ।
रिब्दीकोट गाउँपालिका–५ स्थित माराबास र बोदीको बिच बतासेबाट रैनादेवी छहरा गाउँपालिका जोड्ने भित्री सडक खण्डमा वर्षापछि खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् । जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा पूर्ण सजगता अपनाउन प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ । सिद्धार्थ राजमार्गको दोभान सिद्धबाबा क्षेत्रमा स्थानीय प्रशासनले आगामी १२ गतेसम्म रातिको समयमा सवारी संचालनमा पूर्ण रूपमा रोक लगाएको जनाएको छ ।
लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ मा रहेको सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको खबर छ । प्रहरीका अनुसार चौकीको अगाडिको भाग पहिरोले बगाएको छ । पहिरो खसेपछि प्रहरी चौकी भवनलाई तत्काल त्रिपालले छोपेर राखिएको छ । यसैगरी प्रतिकुल मौसमको असर हवाई यातायातमा पनि परेको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार भिजिविलिटीको समस्याका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका हुन् । तुम्लिङटार र भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भएका छन् । पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू डिले भएका छन् ।
वर्षाले यातायात मात्रै प्रभावित गरेको छैन काठमाडौँको फोहोर व्यवस्थापन कार्य पनि प्रभावित भएको छ । सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी तथा बिसर्जनको काम पनि रोकिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले केही समय फोहोर बिसर्जनको काम रोकिने भन्दै घर बाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरले आफ्नो घर पसल व्यवसाय तथा कम्पाउण्डबाट फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला नाला र खुला स्थानमा नफाल्न अनुरोध गरेको छ ।









प्रतिक्रिया दिनुहोस्