नेपालगन्जमा कुटपिट बालक गम्भीर घाइते



नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा एकजना बालकमाथि गम्भीर घाइते हुनेगरी कुटपिट भएको छ । नेपालगन्ज वडा नम्बर २ का १७ वर्षीय सुमित बानियाँलाई बिहीबार राती दुईजना व्यक्तिहरूले कुटपिट गरेका हुन्। टाउकोको पछाडिपट्टिको भागमा हमला गरि घाइते बनाइएका सुमितको अहिले नेपालगन्जस्थित सन्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।

सुमितका छिमेकी स्थानीयवासी कश्मिरा खातुनका अनुसार रिक्सा चलाएर गुजारा गर्दै आएका सुमितका पिता बिरामी भएपछि सुमितले रिक्सा चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए । सोही क्रममा बिहीबार राती रिक्सा चलाइरहेको बेला अचानक एक्सिलेटरले काम नगरेपछि रिक्सा बाटोमै रोकिएको र पछाडिबाट मोटरसाइकलमा आएका दुईजना युवाहरू सुमितलाई गाली गर्दै कुटपिटमा उत्रिएका खातुनले बताइन् ।

सुमितले आफ्नो समस्या दर्शाएर माफी माग्दा पनि उनीहरूले कुटपिट गर्न नछाडेको र गम्भीर घाइते बनाएर भागेका उनले बताइन् । घटापछि प्रहरीले एकजनालाई पक्राउ गरी हिरासतमा राखेको र अर्काे व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरले जानकारी दिए । घटनाबारे जानकारीपछि प्रहरी खटिएर संलग्न भएको आशंका गरिएका व्यक्तिलाई पक्राउ गरेको भएपनि परिवारबाट जाहेरी आउन बाँकी रहेको उनले बताए ।

खातुनका अनुसार बाँनियाका बुवा बिरामी छन् भने आमा र बहिनीसहितको उनको परिवार आर्थिक समस्याबाट गुज्रिरहेको छ । उपचारमा रहेका उनीहरू उपचारपछि जाहेरी दिने तयारीमा रहेका उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार