कोहलपुर ।
बागेश्वरी एकेडेमी अंग्रेजी माध्यमिक विद्यालय कोहलपुरको आयोजना तथा नेपाल तेक्वान्दो संघ बाँकेको सहकार्यमा सञ्चालित “प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। जेठ ३० र ३१ गते विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित दुईदिने प्रतियोगितामा बाँके जिल्लाका विभिन्न डोजाङबाट ४५० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै महिलातर्फ क्रिसा थापा तथा पुरुषतर्फ हिमशिखर आचार्य उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूलाई प्रमाणपत्रसहित मेड ल र ट्रफी प्रदान गरिएको थियो। टिमतर्फ बागेश्वरी तेक्वान्दो डोजाङ प्रथम, रेम्बो तेक्वान्दो डोजाङ द्वितीय तथा स्टेप अफ तेक्वान्दो डोजाङ तृतीय स्थान हासिल गर्न सफल भएका थिए । विजेता डोजाङहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै विभिन्न तौल समूह र विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै सभाध्यक्ष किशन गुरुङले तेक्वान्दो जस्तो अनुशासित र चुनौतीपूर्ण खेलले विद्यार्थीहरूमा आत्मविश्वास, साहस, संयम, नेतृत्व क्षमता तथा अनुशासनको विकास गर्ने बताए । उनले विद्यालयले शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ बृहत् स्तरका प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी राष्ट्रिय तेक्वान्दो संघ नेपाल लुम्बिनी प्रदेश संयोजक बुद्धिबहादुर थापा मगरले बागेश्वरी एकेडेमीले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउँदै जिल्लाको खेल विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आयोजक संस्था, प्रशिक्षक, खेलाडी तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गरे।दुई दिनसम्म व्यवस्थित, प्रतिस्पर्धात्मक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न प्रतियोगिताले बाँके जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलमैत्री सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी विद्यालयका निवर्तमान अध्यक्ष चिन्तामणि धिताल, लेखा संयोजक बेगबहादुर ओली, राष्ट्रिय भलिबल रेफ्री प्रकाश शर्मा, राष्ट्रिय तेक्वान्दो संघ नेपाल लुम्बिनी प्रदेश संयोजक बुद्धिबहादुर थापा मगर, लुम्बिनी प्रदेश सचिव प्रेमबहादुर आलेलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालक गणेश बिष्टले सम्पूर्ण अतिथि, खेलाडी, प्रशिक्षक, अभिभावक, सहयोगी संस्था तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै प्रतियोगिताको औपचारिक समापन गरेका थिए।










प्रतिक्रिया दिनुहोस्