कोहलपुरले निःशुल्क बाँड्यो सहायक सामग्री



कोहलपुर ।

बाँके कोहलपुर नगरपालिका–१५ की भुकली थारू शारीरिक रूपमा अपांगता छिन् । उनको कम्मरदेखि तलको भाग सानै उमेरदेखि चल्दैन् । जसका कारण उनी घस्रेर हिँड्ने गर्छिन् । सोमबार कोहलपुर नगरपालिकाले ह्वीलचेयर प्रदान गरेपछि अब उनको घस्रेर हिँड्ने दिनको अन्त्य भएको छ । आर्थिक रूपमा विपन्न रहेकै कारण थारूले ह्वीलचेयर किन्न सकेकी थिइनन् ।

कोहलपुर नगरपालिकाले आफ्नो आवश्यक्ता बुझेर ह्वीलचेयर प्रदान गरेपछि उनमा अहिले खुसीको सीमा छैन् । ‘सानैदेखि शारीरिक रूपमा अपांगता भए पनि आर्थिक रूपमा कमजोर हुँदा ह्वीलचेयर किन्न सकिएन, घस्रेर हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘नगरपालिकाले मेरो दुःख देखेर ह्वीलचेयर दिएको छ । अब घस्रेर हिँड्न नपर्ने भयो ।’

थारू मात्र होइनन् उनीजस्तै धेरै अपांगता भएका व्यक्तिहरूको मुहारमा नगरपालिकाले खुसी ल्याइदिएको छ । सोमबार नगरपालिकाले शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूका दैनिक जीवनलाई सहज बनाउन सहायक सामग्री ह्वीलचेयर र कृत्रिम हातखुट्टा वितरण गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा १५ वटै वडाबाट छनोट गरिएका अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री हस्तान्तरण गरिएको हो ।

स्थानीयस्तरमै अपांगता भएका व्यक्तिहरूको पहिचान गरी आवश्यकताका आधारमा सहयोग उपलब्ध गराउने उद्देश्यसहित सहायक सामग्री वितरण गरिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुवेदीले बताइन् । कार्यक्रममा सहायक सामग्री वितरण गर्दै उनले अपांगता भएका व्यक्तिहरूलाई राज्यले साथ दिएको अनुभूति दिलाउने गरी नगरपालिकाले काम गरिरहेको बताइन् ।

उनले शारीरिक असहजताका कारण कुनै पनि नागरिक आधारभूत अधिकार र अवसरबाट वञ्चित हुन नहुने उल्लेख गर्दै नगरपालिकाले आवश्यकताका आधारमा विभिन्न सहयोगमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको स्पष्ट पारिन् । उपप्रमुख सुवेदीका अनुसार एकैपटक सबैलाई सहायक सामग्री उपलब्ध गराउन नसकिए पनि आवश्यकता पहिचान गरी प्रत्येक वर्ष यस्तो कार्यक्रमलाई निरन्तरता दिइँदै आइएको छ ।

आगामी दिनमा पनि अपांगता भएका व्यक्तिहरूको जीवन सहज बनाउन यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उनले प्रतिबद्धता जनाइन् । उनले सहायक सामग्री वितरणले आवतजावतमा सहजता ल्याउने मात्र नभई उनीहरूको दैनिक जीवनमा आत्मनिर्भरता र आत्मविश्वास बढाउने विश्वास समेत व्यक्त गरिन् ।
यस वर्ष नगरपालिकाले कूल ४१ जना अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको हो ।

जसअन्तर्गत ११ जनालाई कृत्रिम हातखुट्टा र ३० जनालाई ह्वीलचेयर प्रदान गरिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखाकी महिला विकास निरीक्षक तारा भण्डारीले जानकारी दिइन् । उनका अनुसार नगरभित्रका १५ वटै वडाबाट अपांगता भएका व्यक्तिहरूको तथ्यांक संकलन गरी आवश्यकताका आधारमा छनोट गरेर सामग्री वितरण गरिएको हो ।

अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी योजनाबद्ध रूपमा सहयोग सामग्री उपलब्ध गराउने कार्य निरन्तर भइरहेको उनले बताइन् । भारतको राजस्थानस्थित जयपुर भगवान महावीर बिकलाङ सहायता केन्द्रको सहयोगमा ह्वीलचेयर तथा कृत्रिम हातखुट्टा उपलब्ध गराइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार