सुर्खेतका महिलाहरुलाई बीमाबारे सचेतना



वीरेन्द्रनगर ।

बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा स्थापित नेपाल बीमा प्राधिकरणले सुर्खेतस्थित महिलाहरुसँग बीमासम्बन्धी अन्तरक्रिया गरेको छ । बीमासम्बन्धी सचेतनासँगै महिलाहरुलाई जागरुक बनाउन अन्तरक्रिया गरिएको हो । सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतसँगको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक विपना पन्थीले बीमासम्बन्धी कानुनी प्रावधान, बीमाका किसिम, बीमाको आधारभूत सिद्धान्तबारे प्रस्तुतीकरण गरेकी थिइन् । बीमा विपतिको वित्तीय सारथी रहेको उनको भनाइ छ । जोखिमको रक्षावरण, आर्थिक क्षतिपूर्ति, बचतमा प्रोत्साहन, आयकरमा छुट, आर्थिक विकासमा सहायता, आर्थिक स्थिरता र पुनर्निर्माण वित्तीय स्रोतको सुनिश्चितता जस्ता विषयले बीमाको महत्व उच्च रहेको सहायक निर्देशक पन्थीले बताइन् ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख निलप्रसाद लामिछानेले बीमालेखहरुबारे सहभागीलाई जानकारी गराए । कार्यालय प्रमुख लामिछानेले कृषि तथा पशुपन्क्षी बीमा, प्राकृतिक प्रकोप दुर्घटना बीमा, सम्पत्ति बीमा, घर तथा भवनको बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा, सवारी बीमा, लद्यु बीमाबारे विस्तृत रुपमा जानकारी गराए । उनले जोखिम हस्तान्तरणको सशक्त माध्यम नै बीमा रहेको उल्लेख गरे । ‘बीमामार्फत धनि हुने होइन, भवितव्यबाट हुनसक्ने गरिबी रोक्न सकिन्छ,’ प्रमुख लामिछानेले भने ।

वाम सुर्खेतका परियोजना संयोजक हिक्मतबहादुर नेपालीले महिला अधिकारमा आधारित संस्थाले महिलाहरु परिवारको महत्वपूर्ण आधार रहेकोले महिलाहरुको आर्थिक सुरक्षा, जोखिम बहन र आत्मनिर्भरता र आत्मविश्वास बढाउन बीमा सचेतना कार्यक्रमले सहयोग पुग्ने बताए । एक जना सचेत महिला नै सुरक्षित परिवारको आधार रहेको उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष देवी पौडेलले बीमासम्बन्धी जानकारीमूलक कार्यक्रमले भविष्यमा आइपर्ने ठूलो संकट टार्न मद्दत गर्ने बताइन् । बीमा भविष्य सुरक्षा योजना रहेको भन्दै उनले बीमाबारे टोलस्तरसम्म सकारात्मक सन्देश लैजान आग्रह गरिन् । अन्तरक्रियामा समुदायमा आधारित संस्था, सहकारी, नागरिक समाज, किशोरी तथा अधिकारकर्मीहरुको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार