राजीव जैनको ‘मेरा पिक’ आरोहण



मेरा पिक एभरेस्ट क्षेत्रको सबैभन्दा लोकप्रिय ट्रेकिङ शिखरमध्ये एक हो । समुद्री सतहबाट ६ हजार ४७६ मिटर उचाइमा रहेको यस हिमालबाट विश्वका चार अग्ला हिमाल सगरमाथा, ल्होत्से, मकालु र छो ओयूको दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ ।

काठमाडौँ ।

नेपालको हिमाली पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रका व्यवसायीहरू पनि सक्रिय रूपमा जोडिन थालेका छन् । यसैक्रममा एसएस ग्रुप अफ कम्पनीका प्रवन्ध निर्देशक राजीव जैनले विश्वप्रसिद्ध ट्रेकिङ शिखर ‘मेरा पिक’ (६,४७६ मिटर) सफलतापूर्वक आरोहण गर्दै नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रचार गर्ने प्रयास गरेका छन् ।

महालंगुर हिमशृंखलामा पर्ने मेरा पिकको सफल आरोहणपछि जैनले यो यात्रा केवल व्यक्तिगत साहसको परीक्षा नभई नेपालको पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने अभियान समेत भएको बताएका छन् । हिमाल, हिमाली संस्कृति, स्थानीय जीवनशैली र साहसिक अनुभवको अनुपम संगमले नेपाललाई विश्वकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको उनको भनाइ छ ।

जैनको हिमाल यात्रा गएको वैशाख २० गते काठमाडौँबाट लुक्लातर्फको उडानसँगै सुरु भएको थियो । त्यसपछि उनले क्रमशः चुटांगा, थुली खर्क, जत्रुवा ला पास, खोते, थाङ्नाक हुँदै उच्च हिमाली भूभाग पार गरेका थिए । यात्राको क्रममा कठिन मौसम, न्यून अक्सिजन र हिमाली चुनौती सामना गर्दै उनी वैशाख २८ गते बिहान करिब ६ः४५ बजे मेरा पिकको शिखरमा पुगेका थिए ।

यो अभियान करिब नौ दिन लामो रहेको थियो । यात्राका क्रममा उनले हिमाली क्षेत्रमा आवश्यक अनुकूलन (एक्लामटाइजेसन) प्रक्रिया समेत पूरा गरेका थिए । उच्च हिमाली क्षेत्रमा शरीरलाई वातावरणअनुसार अभ्यस्त बनाउनुपर्ने भएकाले यस्तो तयारी पर्वतारोहणको महत्वपूर्ण पक्ष मानिन्छ । मेरा पिक एभरेस्ट क्षेत्रको सबैभन्दा लोकप्रिय ट्रेकिङ शिखरमध्ये एक हो ।

समुद्री सतहबाट ६ हजार ४७६ मिटर उचाइमा रहेको यस हिमालबाट विश्वका चार अग्ला हिमाल सगरमाथा, ल्होत्से, मकालु र छो ओयूको दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ । यही विशेषताका कारण विदेशी तथा स्वदेशी आरोहीहरूका लागि यो हिमाल आकर्षणको केन्द्र बन्दै आएको छ । पर्यटन व्यवसायीहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा साहसिक पर्यटनप्रति रुचि बढ्दै गएको छ ।

विशेषगरी ट्रेकिङ, पर्वतारोहण, हिमाली पदयात्रा र सांस्कृतिक पर्यटनमा विदेशी पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढेको उनीहरू बताउँछन् । मेरा पिकजस्ता ट्रेकिङ शिखरले पर्यटन उद्योगमा प्रत्यक्ष आर्थिक योगदान दिनुका साथै स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग पु¥याइरहेका छन् ।

जैनको आरोहण अभियान अनुभवी पर्वतीय मार्गदर्शक तथा ‘लामा वाक्स’का सञ्चालक राजेश लामाको नेतृत्वमा सम्पन्न भएको थियो । लामाले विगत लामो समयदेखि नेपालका विभिन्न हिमाली क्षेत्रमा ट्रेकिङ तथा पर्वतारोहण अभियान सञ्चालन गर्दै आएका छन् । उनका अनुसार मेरा पिक तुलनात्मक रूपमा प्राविधिक रूपमा सहज मानिए पनि मौसम, उचाइ र हिमाली परिस्थितिका कारण आरोहण चुनौतीपूर्ण हुने गर्दछ ।

‘उच्च हिमाली क्षेत्रमा सफलता प्राप्त गर्न शारीरिक तयारी मात्र पर्याप्त हुँदैन, मानसिक दृढता र अनुशासन पनि उत्तिकै आवश्यक हुन्छ,’ लामाले भने, ‘जैनले निरन्तर अभ्यास, सकारात्मक सोच र धैर्यका कारण यो सफलता हासिल गर्नुभएको हो ।’ ५० वर्षीय जैनले नियमित व्यायाम, योग र अनुशासित जीवनशैलीले हिमाल आरोहणमा सहयोग पुगेको बताएका छन् । उनका अनुसार हिमाल केवल प्राकृतिक संरचना होइन, आत्मविश्वास र धैर्यको परीक्षा पनि हो ।

‘मेरा पिक पुग्नु मेरो व्यक्तिगत सपना थियो,’ उनले भने, ‘तर शिखरमा पुगेपछि मैले नेपालको हिमाली सौन्दर्यलाई विश्वभर फैलाउन सकिने सम्भावना अझ गहिरो रूपमा महसुस गरेँ ।’ नेपालको पर्यटन उद्योग कोभिड–१९ महामारीपछि पुनः लयमा फर्कने प्रयासमा रहेको बेला यस्ता साहसिक अभियानलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायीहरूका अनुसार निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू हिमाली पर्यटनमा सहभागी हुँदा त्यसले अन्तर्राष्ट्रियस्तरमा नेपालप्रति विश्वास र आकर्षण बढाउन मद्दत पुग्नेछ । नेपालमा विश्वका १४ मध्ये ८ अग्ला हिमाल रहेका छन् । हिमालसँगै यहाँको जैविक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक महत्व र स्थानीय आतिथ्यताले नेपाललाई विश्व पर्यटन बजारमा विशिष्ट पहिचान दिलाएको छ ।

पछिल्ला वर्षहरूमा ट्रेकिङ शिखरहरूप्रति युवा पुस्ताको आकर्षण पनि बढ्दो क्रममा रहेको देखिन्छ । पर्यटन व्यवसायीहरूका अनुसार ट्रेकिङ र पर्वतारोहण पर्यटनले हिमाली जिल्लाहरूको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । होटल, यातायात, गाइड, भरिया, स्थानीय कृषि उत्पादन तथा हस्तकलाजस्ता क्षेत्र प्रत्यक्ष रूपमा पर्यटनसँग जोडिएका छन् ।

त्यसैले यस्ता अभियानले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउने विश्वास गरिएको छ । मेरा पिक अभियानका क्रममा जैनले हिमाली क्षेत्रमा रहेका स्थानीय बस्ती, संस्कृति र समुदायसँगको अन्तक्र्रियालाई पनि विशेष अनुभवका रूपमा लिएको बताएका छन् । उनका अनुसार हिमाली क्षेत्रको प्राकृतिक सुन्दरता मात्र होइन, स्थानीय समुदायको आतिथ्यता र सहयोगी भावना पनि नेपाल पर्यटनको महत्वपूर्ण शक्ति हो ।

पर्वतारोहण क्षेत्रमा सक्रिय व्यक्तिहरूले सरकार र निजी क्षेत्रले मिलेर हिमाली पर्यटनको दिगो विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । सुरक्षित आरोहण, पूर्वाधार विकास, वातावरण संरक्षण र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राखे नेपाल विश्वकै उत्कृष्ट साहसिक पर्यटन गन्तव्य बन्ने उनीहरूको विश्वास छ । जैनको मेरा पिक आरोहणलाई साहस, अनुशासन र आत्मविश्वासको उदाहरणका रूपमा हेरिएको छ । साथै, यसले नेपालको हिमाली पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गरेको पर्यटन क्षेत्रका जानकारहरूको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ४ गते सोमबार