काठमाडौँ ।
ओपनर कुशल भुर्तेलको शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा अमेरिकालाई पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली नेपालले बलियो अमेरिकालाई ९ विकेटले हराएको हो ।
यसअघि र्कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३।३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले ।
अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए । साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक–एक विकेट लिए । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृंखलामा योसँगै तीन खेल सकिएका छन् । यसअघिका दुवै खेलमा स्कटल्यान्ड विजयी भएको छ ।
पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्यान्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । विश्वकप लिग(२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।
अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अंकका साथ दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड पहिलो स्थानमा छ । स्कटल्यान्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अंक जोडेको छ ।









प्रतिक्रिया दिनुहोस्