कोहलपुर गोल्डकपको तयारी तीव्र



कोहलपुर (बाँके) ।

चौथो संस्करणको कोहलपुर गोल्डकप–२०८३ को तयारी तीव्र गतिमा भइरहेको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा २०८३ वैशाख तेस्रो सातादेखि आयोजना हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको हो । प्रतियोगिता वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर २ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन हुनेछ ।

अहिले प्रतियोगितास्थल प्रस्तावित कोहलपुर फुटबल रंगशालासहितका पूर्वाधार निर्माण र अन्य तयारी भइरहेको क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले बताए । उनका अनुसार हालसम्म प्रतियोगिताको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । उनले भने, ‘प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ । अहिलेसम्म हामीले ८० प्रतिशत पूर्वतयारी सम्पन्न गरिसकेका छौँ । मैदान मर्मत, पूर्वाधार निर्माणका साथै टिमहरूसँग सम्झौता लगायतका कार्य भइरहेका छन् ।’

प्रतियोगितामा सहभागी हुने टोली, पुरस्कार राशी, खेलतालिका, मुख्य प्रायोजकसहितको सहयोगीहरूको केही दिनमा सार्वजनिक गरिने उनले बताए । यसैगरी, कोहलपुर गोल्ड कपको ब्रान्ड एम्बेसडर, म्यासकट रिभिल र गोल्डकपको अफिसियल गीतसमेत सार्वजनिक गर्ने तयारी आयोजकले गरिरहेको छ ।

अध्यक्ष क्षेत्रीले प्रतियोगिता विगतका संस्करणभन्दा फरक हुने बताए । पहिलो संस्करण सञ्चालन गर्दा रुखमा चढेर हेर्नुपर्ने बाध्यता थियो । चौथौ संस्करणमा दर्शकहरूले प्याराफिटमा बसेर प्रतियोगिता हेर्न सक्ने अध्यक्ष क्षेत्रीको भनाइ छ । यसपटक खेलमैदानमा विगतका भन्दा स्तरीय हुने उनले बताए ।

यसैगरी चौथो संस्करणमा विगतका भन्दा केही नयाँ सभ्यासहरू सुरुवात गर्ने र केही दिनमा सार्वजनिक गरिने उनको भनाइ थियो । खेलकुदका माध्यमबाट पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष क्षेत्रीले बताएका छन् । चौथो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनसहितका देशका लोकप्रिय क्लबहरूको सहभागीता रहनेछ ।

प्रतियोगिताको आर्थिक सहसंयोजक नियुक्त

चौथो संस्करणको कोहलपुर गोल्डकपलाई थप व्यवस्थित र आर्थिक रूपमा मजबुत बनाउनको लागि आर्थिक सहसंयोजक नियुक्त गरिएको छ। प्रतियोगिताको आर्थिक पाटो हेर्ने जिम्मेवारीसहित दीपक वलीलाई आर्थिक सहसंयोजक नियुक्त गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । प्रतियोगितालाई भव्य, व्यवस्थित र आर्थिक रूपमा मजबुत बनाउने उद्देश्यले वलीलाई जिम्मेवारी प्रदान गरिएको उनले बताए ।

प्रतियोगिताका आर्थिक सहसंयोजक वलीले पनि प्रतियोगितालाई सफल बनाउन आफूू पूर्ण रूपमा आफ्नो जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् । प्रतियोगितासँग जोडिनको लागि स्थानीय, क्षेत्रीय तथा राष्ट्रियस्तरका सरोकारवालाहरूसँग सहकार्य गर्ने आफ्नो प्रमुख जिम्मेवारी रहेको उनको भनाइ छ ।

यसैगरी चौथो संस्करणको प्रतियोगिता व्यवस्थापन तथा रणनैतिक साझेदारको जिम्मेवारी इश्वरी युनाईटेड प्रालिलाई दिइएको छ । कार्यक्रमलाई व्यवस्थित, आकर्षक र व्यापक पहँुचयुक्त बनाउन रणनीतिक साझेदारको रूपमा इश्वरी युनाईटेडले आफ्नो भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

कोहलपुर गोल्डकप–२०८३ का कार्यक्रम संयोजक कर्णबहादुर बस्नेतले पनि चौथो संस्करणलाई विगतका भन्दा थप व्यवस्थित र भव्य बनाउने गरी गृहकार्य गरिरहेको बताए । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा विगत चार वर्षदेखि हरेक वर्ष कोहलपुर गोल्डकप आयोजना हुँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार