सरकारको काज फिर्ताको निर्णयले तीन वटा प्रदेशका क्यान्सरपीडित बिरामीलाई सेवा दिइरहेको बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारी चिकित्सकविहीन बनेको छ । उक्त निर्णयपछि अस्पतालको एउटा विभागको सेवा नै ठप्प छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
सरकारले देशभरका चिकित्सकको काज फिर्ता गर्ने क्रममा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटाइएका चिकित्सकको पनि काज फिर्ता गरिदिएपछि उक्त अस्पताल सरकारी चिकित्सकविहीन बनेको छ । काज फिर्ताको निर्णयले तीन वटा प्रदेशका क्यान्सरपीडित बिरामीलाई सेवा दिइरहेको अस्पतालको एउटा विभागको सेवा नै ठप्प भएको हो ।
अस्पतालमा काजमा खटाइएका वरिष्ठ कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. निरज भट्टराई र जनरल सर्जन एलिजा हमालको काज फिर्ता भएको हो । डा. भट्टराईको नेपालगन्जस्थित भेरी अस्पतालमा दरबन्दी छ भने हमालको भरतपुरस्थित क्यान्सर अस्पतालमा दरबन्दी छ ।
खजुरास्थित क्यान्सर अस्पताल सञ्चालनमा आएको आठ वर्ष भइसक्दा पनि सरकारले दरबन्दी नै सिर्जना गरेको छैन ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको एक मात्र सरकारी क्यान्सर अस्पताल भए पनि सरकारले कर्मचारी दरबन्दी नदिँदा उक्त अस्पताल करार र ज्यालादारी चिकित्सकको भरमा सञ्चालन भइरहेको छ । दरबन्दी नहुँदा उक्त अस्पतालमा सरकारी विशेषज्ञ चिकित्सक खटाउनुपर्दा काजमा खटाउनुको विकल्प नै छैन ।
सोही बाध्यताको कारण सरकारले उक्त अस्पतालमा दुई जना चिकित्सकहरूलाई काजमा खटाएको थियो । तर, वर्तमान सरकारले देशभरका चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गर्दा अस्पतालको सेवा प्रवाहको अवस्थालाई ध्यानै नदिई एकमुष्टमा निर्णय गर्दा त्यसको मारमा बिरामीहरू परेका छन् ।
डा. भट्टराईलाई सरकारी नियुक्तिपछिको पहिलोपटक नै भेरी अस्पतालमा दरबन्दी राखेर काजमा खजुरा क्यान्सर अस्पतालमा खटाइएको थियो । उनलाई विशेषज्ञता र क्यान्सरको उपचारसम्बन्धी तालिम समेत लिएको कारण उक्त अस्पतालमा खटाइएको थियो । सरकारले दुर्गममा दरबन्दी भई सुगममा काजमा रहेका चिकित्सकलाई काज फिर्ता गर्ने भने पनि मापदण्डमा सुगम क्षेत्रमा पर्ने भेरी अस्पतालमा दरबन्दी भएर पनि दुर्गममा पर्ने खजुरा क्यान्सर अस्पतालमा खटाइएका डा. भट्टराईको पनि काज फिर्ता गरिदिएको छ ।
डा. भट्टराई कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जनको विशेषज्ञता भएका र क्यान्सरको पनि तालिमप्राप्त काठमाडौँबाहिर रहेका एक मात्र सरकारी दरबन्दीका विशेषज्ञ चिकित्सक हुन् । उनी अस्पतालमा आएपछि नै अस्पतालमा फोक्सोको क्यान्सरको सर्जरी विभाग (थोरासिक सर्जरी विभाग) सञ्चालनमा आएको थियो ।
उनको काज फिर्तापछि अस्पतालमा उक्त विभागको सेवा नै बन्द भएको छ । उक्त विभाग बन्द हुँदा फोक्सोको क्यान्सरको निदान, फोक्सोको क्यान्सर पत्ता लगाउने विधि ब्रोङ्कोस्कोपी, फोक्सोको क्यान्सर पत्ता लगाउन गरिने युएसजी गाइडेड बायोप्सी’ जस्ता सेवाहरू बन्द हुने भएका छन् । यसैगरी जनरल सर्जन हमालको पनि काज फिर्ताको निर्णयले सर्जरी सेवामा असहजता उत्पन्न हुने अस्पताल प्रशासनले जनाएको छ ।
सरकारले काज फिर्ताको निर्णय गरे पनि अस्पतालमा बन्द भएको सेवाको निरन्तरताका लागि कुनै व्यवस्था गरेको छैन । अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले भएका चिकित्सक पनि फिर्ता हुँदा अस्पतालको सेवा प्रवाहमा पर्ने प्रभावबारे मन्त्रालयमा मौखिकरूपमा कुरा राखेको बताए । मन्त्रालयबाट हाललाई सबै काज फिर्ता गर्ने र त्यसपछि आवश्यकताका आधारमा पुनः चिकित्सकहरू खटाइने आश्वासन पाइएको बताए ।
तर त्यसका लागि कति समय लाग्छ यकिन नभएको उनले बताएका छन् । खजुरा क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दो रहेको डा. भट्टराईले बताए । ‘एकैदिन चार जनासम्मको क्यान्सर प्रमाणित समेत भएको उदाहरण छ,’ डा. भट्टराईले भने, ‘तर, सरकारले खटाएको ठाउँमा जानुपर्ने हाम्रो कर्तव्य हो । सरकारले आवश्यकता हेरेर अर्काे व्यवस्था पनि गर्ला ।’
डा. भट्टराई नेपालगन्जमै रहेकोले बिरामीहरूले कतिपय सेवाहरू भेरीमै पुगेर लिनसक्ने भए पनि क्यान्सरका लागि पाइने सहुलियत भने भेरी अस्पतालमा पाइँदैन । स्वास्थ्य बीमाको सेवा लिन पनि बीमा सुविधा स्थानान्तरण गर्नुपर्ने हुन्छ । कतिपय बिरामीहरूले एकैपटक दुई जना विशेषज्ञको सेवा लिनुपर्ने हुँदा बिरामीहरूले सहुलियत सुविधा लिन झन्झट व्यहोर्नुपर्ने भएको चिकित्सकहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्