डा. श्रेष्ठको नेतृत्वमा दर्जनौँ व्यक्ति रास्वपा प्रवेश



नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा चिकित्सकहरूसहित दर्जनौँ व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकको उपस्थितिमा भएको एक अन्तक्र्रिया कार्यक्रममा दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा फिजिसियन डा. प्रकाश नाग र डा. जयकिशोर प्रसादसहितका व्यक्तिहरू रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपा प्रवेश गर्नेहरूमा अधिकांश नर्स तथा स्वास्थ्यकर्मीहरू रहेका छन् । २० स्टे«न्थ लिफ्टिङ च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय स्वर्णपद प्राप्त समेत गरेका डा. श्रेष्ठले देशमा सुशासन र परिवर्तको लागि रास्वपाले अगुवाइ गरिरहेकोले पार्टीमा समावेश भएको बताए । कार्यक्रममा बोल्दै प्रदेश सभापति पाठकले रास्वपाले सुशासनको प्रत्याभूति हुनेगरी काम सुरु गरिसकेकोले त्यसलाई तल्लो तहसम्म कार्यान्वयन भए नभएको निगरानी गर्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

उनले अहिले स्थानीय र प्रदेश तहमा रास्वपाका प्रतिनिधिहरू नरहेकोले संघीय सरकारले सुरु गरेका कामहरू तुरुन्त लागू हुन नसक्ने जोखिम रहेको पनि बताए । उनले रास्वपाको सरकारको प्रभावकारिता देखिन करिब ६ वर्ष लाग्नसक्ने पनि बताए । कार्यक्रममा उनले भने, ‘स्थानीय तह, प्रदेश तह र राष्ट्रियसभामा हाम्रो प्रतिनिधित्व हुन करिब ६ वर्षसम्म लाग्न सक्छ । त्यस हिसाबले करिब ६ वर्षपछि युवाहरूले ल अब यही बस्न सकिन्छ भन्ने स्थिति बन्न सक्छ ।’

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारी, बाँके जिल्ला सभापति हरपालसिंह केसीसहितका नेताहरूले अब पार्टीलाई निरन्तर खबरदारी गर्न र सुशासनयुक्त व्यवहार आफूमा पनि लागू गर्न आग्रह गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार