खजुरा गोल्ड कपको खेल तालिका सार्वजनिक



नेपालगन्ज ।

बाँकेको खजुरामा आयोजना हुने प्रथम खजुरा गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ । दुई विदेशी क्लवसहित ८ टिमको सहभागिता रहने प्रतियोगिताको पहिलो खेल चैत्र ३० गते गोर्खा ब्यायज स्पोर्टस् क्लव बुटवल र संकटा स्पोर्ट्स क्लव काठमाडौँबीच हुने भएको छ ।

चैत ३० गतेदेखि २०८३ वैशाख ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो दिन वैशाख १ गते काँक्रेबिहार क्लव सुर्खेत र फोर ब्रदर्स एसपी नवलपरासीबीच हुने भएको छ भने वैशाख २ गते आयोजक न्यू डाँफे स्पोर्ट्स क्लव जेबिएम फुटबल एकेडेमी लखनउबीच हुनेछ । यसैगरी, वैशाख ३ गते विभागीय टिम एपिएफ क्लव र नाइजेरियाको नाइजेरियिन जोन क्लवबीच खेल हुनेछ ।

प्रतियोगितामा वैशाख ४ गते पहिलो सेमिफाइनल र ५ गते दोस्रो सेमिफाइनल खेल हुनेछ भने ६ गते फाइनल खेल हुनेछ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा हुने प्रथम खजुरा गोल्ड कप प्रतियोगितामा प्रथम हुनेले सात लाख, ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले चार लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोकृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । खजुरास्थित मिनी रङ्गशाला डि गाउँस्थित फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजक क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए । खजुरामा हुने गोल्ड कप प्रतियोगितालाई लिएर स्थानीयवासी तथा खेलप्रेमीहरू उत्साहित रहेका उनले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार