शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
लुम्बिनीमा जारी सातौँ प्रदेशसभा अधिवेशनमा बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ स्थानान्तरण गर्नुपर्ने माग उठेको छ । चैत २२ गतेबाट सुरु भएको अधिवेशनमा बर्दियामा हरेक दिनजसो बाघको आक्रमणमा परी नागरिकहरूको अकालमा ज्यान गइरहेको भन्दै नागरिकको ज्यान सुरक्षाका लागि बाघ स्थानान्तरण गर्नुपर्ने माग उठेको हो ।
२२ गतेदेखि जारी बैठकमा हरेक दिन बर्दियामा गम्भीर समस्याका रूपमा रहेको मानव वन्यजन्तुको दीर्घकालीन समाधान खोज्नुपर्ने माग उठिरहेको छ । बिहीबार बसेको प्रदेशसभाको सातौँ अधिवेशनको नवौँ बैठकमा बोल्दै बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णाकुश्मा थारूले बर्दिया जिल्लाबाट कृष्णसार होइन मान्छे मार्ने बाघ स्थानान्तरणको माग गरिन् ।
उनले संघीय सरकारकी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदेशसभामार्फत भनिन्, ‘बर्दिया जिल्लामा कृष्णसार पर्यटकीय क्षेत्रको रूपमा अघि बढिरहेको छ । पहिला बर्दिया जिल्लाबाट अन्य जिल्लामा कृष्णसार स्थानान्तरण गरियो । त्यहाँको हावापानी र वातावरण अनुकूल नभएका कारण कृष्णसारहरू मरे । अहिले सरकारले संरक्षित रूपमा पालेर अघि बढाइरहेको छ ।’
उनले कृष्णसारले बर्दिया जिल्लामा कुनै पनि क्षति नपु¥याएको दाबी गरिन् । संघीय सरकारका मन्त्रीलाई विशेष अनुरोध गर्दै उनले भनिन्, ‘कृष्णसार होइन मान्छे मार्ने बाघलाई स्थानान्तरण गरौँ ।’ निकुञ्जमा बाघ संरक्षणका नाममा सरकारको गम्भीर लापरबाहीका कारण बर्दियाका नागरिकले हरेक दिन बाघको आक्रमणबाट ज्यान गुमाउनु परिरहेको दुःखेसो गरिन् ।
‘के बर्दिया जिल्लाका नागरिकलाई बाँच्ने स्वतन्त्रता छैन ? हप्तैपिच्छे बाघले मानिसको ज्यान लिइरहेको छ । यहाँका नागरिक कसैको पनि जीवनको पनि ग्यारेन्टी छैन,’ उनले गुनासो सुनाइन् । प्रदेश सरकार र संघयि सरकारले यस्तो गम्भीर समस्या समाधानको पहलकदमी नचाले आगामी दिनमा बर्दियाका जनताले सबै जंगल फाड्ने अवस्था नबनोस् भन्दै चेतावनी समेत दिइन् ।
यसैगरी पछिल्लोपटक चैत २४ गते पनि बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ मा शिवराज सेजुवाल र गोपबहादुर बस्नेत र सल्यान जिल्ला घर भएका रमेश बस्नेतलगायत चितुवाले आक्रमण गरेर घाइते बनाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । घाइतेमध्ये दुईजनाको नेपालगन्जको भेरी अस्पताल र एक जनाको राजापुरको अस्पतालमा उपचार भइरहेको भन्दै निःशुल्क उपचार गराउन समेत उनले माग गरिन् ।
यसैगरी चैत २३ गते बसेको सातौँ अधिवेशनको छैटौँ बैठकमा बर्दिया निर्वाचन क्षेत्र १ (२)का प्रदेशसभा सदस्य राजकुमार चौधरीले नेपालको प्रचलित कानुन र संविधानको व्यवस्थाविपरीत बाघका माध्यमबाट बर्दियाका जनतालाई मृत्युदण्ड दिइरहेको टिप्पणी गरेका थिए । उनका अनुसार संविधानको धारा १६ मा जस्तोसुकै अपराध गरे पनि सम्मानपूर्वक बाँच्न पाउने हक छ ।
धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्ड दिनेगरी कानुन बनाइने छैन भनी उल्लेख गरिएको छ । प्रदेशसभामा चौधरीले भने, ‘तर हामी बर्दियालीले के अपराध गरिरहेका छौँ ? प्रत्येक महिना मानिस अकालमा बाघको आक्रमणमा परेर मरिरहेको छ । हामीले बाघको संरक्षण गरेर के गल्ती ग¥यौँ ? सरकारले किन मृत्युदण्ड दिइरहेको छ ?’
सोही बैठकमा बर्दियाकै भुवनेश्वर थारूले बर्दियामा बाघ आतंक बिकराल बन्दै गएको बताए । बर्दिया राष्ट्रिय निकुञ्जका कारण मानव वन्यजन्तु द्वन्द्वले बिकराल रुप लिइरहेको भन्दै नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मा राज्यको भएको उनको भनाइ थियो । उनले तत्काल बाघको उचित व्यवस्थापन आवश्यक रहेको भन्दै नरभक्षी बाघ व्यवस्थापनको माग समेत गरे ।
थारूले भनेका थिए, ‘सबैभन्दा जटिल कुरा बर्दियामा बाघको समस्या छ । निकुञ्जका कारण मानव वन्यजन्तु द्वन्द्व बढेको छ । निकुञ्ज क्षेत्रमा मात्रै नभएर सामुदायिक वन क्षेत्रमा समेत बाघले मानिसको ज्यान लिनु गम्भीर असुरक्षाको अवस्था हो । बाघ अब बस्तीमा पस्न थालिसक्यो । त्यसको व्यवस्थापन कसले गरिदिने हो ?’
बाघको व्यवस्थापनमा कुनै पनि हालतमा गर्न सरकारसँग उनले आग्रह गरे । उनले किसानको बालीमा समेत वन्यजन्तुले नोक्सानी गरिरहेको भन्दै बाली बीमा गर्नुपर्ने बताए । चैत २४ बसेको सातौँ अधिवेशनको सातौँ बैठकमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य सञ्जुकुमारी थारूले पनि बर्दियाको बाघ नियन्त्रणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।
उनले भनिन्, ‘बर्दिया जिल्ला हाम्रो छिमेकी जिल्ला पर्छ । निकुञ्ज क्षेत्रमा हरेक महिनाजसो एउटा न एउटा मानवीय क्षति भइरहेको छ । बाघले आक्रमण गरेर मारिसकेपछि मात्र राज्यले अभिभावकत्व ग्रहण गरिरहेको छ । मृत्यु हुनुअघि किन हामीले काम गर्न सकिरहेका छैनौँ ? यसमा प्रदेश र संघ सरकारबीच तालमेल हुन आवश्यक छ ।’
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत बाघले मानिसहरूको ज्यान लिन थालेको भन्दै यस्तो समस्या समयमै रोक्न प्रदेशसभा सदस्य थारूले माग गरिन् । बर्दिया राष्ट्रिय निकुञ्जकाअनुसार चालू आवमा मात्रै वन्जजन्तुको आक्रमणमा पछि ११ जनाको मृत्यु भइसकेको छ । वन्यजन्तुको आक्रमणमा परी १७ जना घाइते भएका छन् ।









प्रतिक्रिया दिनुहोस्