नेपालगन्ज ।
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि मोहम्मद इश्तियाक राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बाँकेका योजनाहरूको सूचीसहितको निवेदन बुझाएका छन् । सोमबार लुम्बिनी प्रदेशका सांसदहरूसँग उनीहरूका एजेन्डाबारे छलफलका क्रममा राईले जिल्लाको धार्मिक सद्भाव, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका विविध विषयमा तत्काल पहल गर्न माग गरेका हुन् ।
सांसद राईले बुझाएको निवेदनमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान, नेपालगन्जमा आधुनिक क्रिकेट स्टेडियम निर्माण, एकीकृत भन्सार जाँच चौकी (आइसिपी)लाई सुक्खा बन्दरगाहका रूपमा विस्तार, नौबस्ता औद्योगिक क्षेत्रको निर्माण पूरा गरी तत्काल सञ्चालन तथा राप्ती नदी र डुडुवा खोलामा तटबन्ध निर्माणको योजना अघि बढाउन माग गरेका छन् ।
यसैगरी नेपालगन्ज चक्रपथ (रिङरोड) आयोजना कार्यान्वयन तथा बृहत् चक्रपथको योजना अघि बढाउन, नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिकाका ६ विद्यालयमा पाइलट परियोजनाअन्तर्गत सुविधायुक्त भौतिक संरचना र डिजिटल शिक्षण प्रणाली विस्तार गर्न, महेन्द्र बहुमुखी क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयका रूपमा विकास गर्न उनले माग गरेका छन् ।
यसैगरी, लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्ति तथा भवन निर्माण, भेरी प्राविधिक शिक्षालयको समयानुकूल स्तरोन्नति, ऐतिहासिक महेन्द्र पुस्तकालयलाई प्रविधिमैत्री र अध्ययन वातावरण सुधारका योजना पनि उनले अघि सारेका हुन् । यस्तै, भेरी अस्पताललाई विशिष्टीकृत अस्पतालमा रूपान्तरण गर्न, चिकित्सक तथा प्राविधिक जनशक्ति दरबन्दी थप गर्न, न्यूरो, मुटु, मिर्गौला, फोक्सोलगायत जटिल रोगको उपचार व्यवस्था मिलाउन, ट्रमा सेन्टर स्थापना र स्नातकोत्तर तहको चिकित्सा शिक्षा सञ्चालन गर्न उनको माग छ ।
यसैगरी, जीर्ण भवनको ठाउँमा नयाँ भवन तथा चिकित्सक आवास निर्माण, व्यवस्थित मोर्चरी चेम्बर र पोस्टमार्टम संरचना, पालिकास्तरीय १५ शय्याका अस्पताल र स्वास्थ्य चौकीहरूमा प्रसूति सेवा विस्तारको विषय पनि उनले प्रधानमन्त्री समक्ष उठाए ।
यसैगरी, अन्तरधार्मिक संवाद, सहिष्णुता र सद्भाव कार्यक्रममार्फत सामाजिक एकता सुदृढ बनाउने, बागेश्वरी मन्दिर, गोवर्धनधाम, सन्तानेश्वर, वर्फानी बाबा, कम्मरसा बाबा, फैजुलनबी, फूलबारी मस्जिद, गुम्बा, गुरुद्वारा, चर्चलगायत धार्मिक केन्द्रको प्रवद्र्धन गरी धार्मिक पर्यटन विकास गर्ने, जमुनाहा नाकामा भारतीय पर्यटकमैत्री सेवा र सुरक्षित वातावरण सुनिश्चितता गर्ने पनि उनले पेश गरेको योजनामा समेटिएको छ ।
यसका साथै, लागूऔषध नियन्त्रणका लागि सीमा निगरानी सुदृढ, पुनस्र्थापना केन्द्र तथा परामर्श सेवा स्थापना, किसानले भोग्दै आएको मलको समस्याको दिगो समाधानका लागि विशेष कार्यक्रम कार्यान्वयन गर्न पनि माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्