एसइई परीक्षा केन्द्रमै इन्स्टिच्युट र कलेजको आंतक



धनगढी ।

सरकारले १५ चैतमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय ग¥यो । तर, त्यस्ता कक्षा सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि दोस्रो दिन बिहान उक्त सूचना शिक्षा मन्त्रालयको वेबसाइटबाट हटाइयो ।

२४ घन्टा नबित्दै आफ्नै निर्णयबाट शिक्षा मन्त्रालय पछि हटेको आलोचनापछि शिक्षामन्त्री सस्मित पोखरेलले त्यसबारे स्पष्ट पार्न खोजे । एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको मन्त्री पोखरेलको दाबी थियो ।

१६ चैतमा मन्त्रीपरिषद् बैठकपछि मन्त्री पोखरेलले भनेका थिए, ‘एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो ।’ वैशाख १ देखि नै यस्तो प्रकारका कक्षा सञ्चालनमा रोक लगाइने उनको दाबी थियो ।

यता कैलालीको धनगढीमा भने एसइईका परीक्षा केन्द्रमै इन्स्टिच्युट र कलेजको आतंक देखिएको छ । प्रवेश परीक्षाका लागि तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्ने भन्दै विभिन्न इन्स्टिच्युटले परीक्षा केन्द्रमै पुगेर विद्यार्थीलाई प्रचार सामाग्री बाँड्दै आएका छन् ।

‘परीक्षा केन्द्रको गेटमै पुगेर ब्रिज कोर्स र प्लस टु पढ्नका लागि प्रचार सामाग्री वितरण गर्ने गरिएको छ,’ एक विद्यार्थीले भने, ‘परीक्षा नै सकिएको छैन । विद्यार्थीलाई अनावश्यक तनाव दिएर हैरान बनाउने काम भइरहेको छ । यो रोक्नुपर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार