कर्णाली प्रदेश खेलकुद विकास परिषद्ः कार्यभार सम्हाल्दै चन्दले गरे दुई महत्वपूर्ण निर्णय



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश रंगशाला सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण र कर्णाली स्पोर्टस कार्नेवल आयोजना तयार गर्ने निर्णय गरेको छ । खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रवीन्द्र चन्दले कार्यभार सम्हाल्दै परिषद्को बैठकबाट यस्तो निर्णय गरेका हुन् ।

प्रदेशस्तरीय खेल पूर्वाधारलाई व्यवस्थित, दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्न स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालिएको सदस्यसचिव चन्दले बताए । सोहीअनुसार प्रदेश रंगशालाको सञ्चालन, व्यवस्थापन, मर्मतसम्भार तथा उपयोगसम्बन्धी कार्यविधि निर्माण गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

‘नयाँ कार्यविधिले रंगशालाको प्रयोगलाई व्यवस्थित बनाउने, विभिन्न खेल गतिविधिलाई सहज बनाउने तथा खेलकुद क्षेत्रको समग्र विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ,’ उनले भने, ‘कार्यविधि तयार भएपछि रंगशालाको सञ्चालनमा पारदर्शिता र उत्तरदायित्व पनि बढ्ने विश्वास गरिएको छ ।’

परिषद्ले कार्यविधि निर्माणका लागि आवश्यक समन्वय र तयारी प्रक्रिया अघि बढाउने उनले बताए । यस्तै कर्णाली प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित ‘कर्णाली स्पोर्टस कार्नेवल’ आयोजना गर्ने तयारी गरिएको उनले जानकारी दिए । कर्णाली खेलकुद परिषद्ले कार्नेवल आयोजना गर्न सम्बन्धित प्रस्ताव परिषद्समक्ष पेश गर्ने तथा स्वीकृतिपछि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

परिषद्का पदाधिकारीहरूका अनुसार कार्नेवलमार्फत प्रदेशका विभिन्न जिल्लामा लुकेर रहेका खेल प्रतिभालाई पहिचान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । साथै, खेलकुदमार्फत युवा पुस्तालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने तथा प्रदेशस्तरमा खेल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्य पनि रहेको छ ।

‘प्रस्तावित कार्नेवलमा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत विभिन्न विधाका प्रतियोगिता समावेश गरिनेछ,’ सदस्यसचिव चन्दले भने, ‘स्थानीय खेल तथा सांस्कृतिक कार्यक्रमहरूलाई समेत प्राथमिकता दिइने छ । यो आयोजनाअन्तर्गत हुने प्रतियोगितामा प्रदेशका सबै जिल्लाबाट खेलाडीहरूको सहभागिता सुनिश्चित गरिने योजना बनाइएको छ ।’

कार्यक्रम सफल बनाउन स्थानीय तह, खेल संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य गरिने उनले बताए । कर्णालीमा हुने भनिएको तर पटक पटक सर्दै आएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अब तोकिने मितिभित्रै प्रतियोगिता सम्पन्न गर्न परिषद् तयारी अवस्थामा रहेको जनाइएको छ। आवश्यक बजेट व्यवस्थापन, पूर्वाधार तयारी तथा व्यवस्थापन पक्षलाई ध्यानमा राख्दै विस्तृत कार्ययोजना तयार गरिने परिषद्ले जानकारी दिएको छ ।

परिषद्का पदाधिकारीहरूले कर्णालीमा खेलकुद गतिविधि विस्तार गर्दै दीर्घकालीन रूपमा खेल पूर्वाधार विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन् । ‘कर्णाली स्पोर्टस कार्नेवल’ प्रदेशकै ठूलो खेलकुद महोत्सवका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको परिषद्ले जनाएको छ ।

खेल पूर्वाधार विकासमा प्राथमिकता

यसैबीच पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गर्दै सदस्यसचिव चन्दले कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार र खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने बताएका छन् । मंगलबार पदभार ग्रहण गरेपछि उनले प्रदेशका विभिन्न जिल्लामा खेलकुद गतिविधि बढाउन, नयाँ खेल मैदान तथा आवश्यक पूर्वाधार निर्माण गर्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिइने उल्लेख गरे ।

चन्दले कर्णालीमा पर्याप्त खेल प्रतिभा भए पनि आवश्यक पूर्वाधार, प्रशिक्षण र अवसरको अभावका कारण खेलाडीहरू पछाडि परेको बताए । उनले यस अवस्थालाई सुधार गर्न परिषद्ले स्थानीय तह, खेल संघसंस्था तथा सरोकारवालासँग समन्वय गर्दै योजनाबद्ध रूपमा कार्यक्रम अघि बढाउने बताए ।

उनका अनुसार प्रदेशस्तरमा नियमित प्रतियोगिता आयोजना, प्रतिभा पहिचान कार्यक्रम सञ्चालन तथा खेलाडीलाई प्रशिक्षणका अवसर उपलब्ध गराउनेतर्फ पनि परिषद्ले विशेष ध्यान दिनेछ । सदस्यसचिव चन्दले कर्णाली प्रदेशलाई राष्ट्रिय खेलकुद क्षेत्रमा प्रतिस्पर्धी र पहिचान स्थापित गर्ने प्रदेशका रूपमा विकास गर्ने लक्ष्यका साथ परिषद्ले काम अघि बढाउने बताए ।

यस्तै, परिषद्का नवनियुक्त पदाधिकारीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सदस्यसचिव, उपाध्यक्ष तथा सदस्यहरूलाई शपथ गराएका हुन् । परिषद्का उपाध्यक्ष प्रमोद हमालले पनि पूर्वाधार विस्तार, खेलाडी उत्पादन र खेलकुद गतिविधिको प्रवद्र्धनमा जोड दिने बताए ।

परिषद्का सदस्यहरू पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटाले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद सम्भावनाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नीति, योजना र लगानीमार्फत खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।

उनले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व विकास र राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे । कर्णाली प्रदेश भौगोलिक रूपमा विकट भए पनि खेल प्रतिभाको धनी क्षेत्रका रूपमा चिनिँदै आएको छ ।

तर आवश्यक पूर्वाधार, प्रशिक्षण र अवसरको अभावका कारण खेलाडीहरू पछाडि परेको अवस्थामा नवगठित परिषद्ले ठोस योजना ल्याउने अपेक्षा गरिएको छ । परिषद्का पदाधिकारीहरूले स्थानीय तहसँग समन्वय गरी थप खेलमैदान निर्माण, नियमित प्रतियोगिता आयोजना तथा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्ने योजना अघि सार्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार