काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले मंगलबार आफ्नो पहिलो औपचारिक खेलमा नेतृत्व गर्दैछन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले लाओससँग उसकै मैदानमा खेल्न लागेको हो ।
यो खेल नेपालको होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा खेल लाओसमै हुन लागेको हो । छनोटबाट बाहिरिसकेको अवस्थामा प्रशिक्षक एरिनाले जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन् । ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौँ । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो ।
त्यसैले ५ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा मौका दिएको छु । लाओस राम्रो टोली हो । तर, हामी मंगलबारको खेलका लागि तयार छौँ । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौँ,’ एरिनाले खेलअघिको पत्रकार सम्मेलनमा भने । लाओससँगको खेलका लागि उनले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलोपटक टोलीमा स्थान दिएका हुन् ।
छनोटको अन्तिम खेलअघि नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले पनि जितका लागि खेल्ने बताएका छन् । उनले भने, ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ । राम्रो तयारी भएको छ । हामी कोचको रणनितिअनुसार नै प्रर्दशन गर्ने छौँ ।’ नेपाल र लाओसबीचको खेल नेपाली समयअनुसार पौने ६ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाललाई लाओसले २–१ ले हराएको थियो।
समूहमा नेपालले यसअघि भियतनामविरूद्धको दुवै खेल गुमाएको थियो । यस्तै मलेसियाविरूद्धका दुवै खेलमा पराजय भोगे पनि एक खेलको नतिजा भने उल्टाउँदै नेपालको पक्षमा दिइएको थियो । छनोटबाट बाहिरिएको नेपालका लागि मंगलबार हुने खेल प्रतिष्ठाको लडाइँमा सीमित छ। अहिलेको स्थितिमा समूह ‘एफ’बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भइसकेको छ ।
दोस्रो स्थानको मलेसियाको ९ अंक रहँदै बाहिरिएको थियो । नजिता उल्टिएपछि नेपाल तेस्रो स्थानमा ३ अंक रहँदै उक्लिएको छ । लाओस भने नेपालविरूद्ध हात पारेको जितको ३ अंकसँगै चौथो स्थानमा छ । समूहबाट मलेसियासँगै नेपाल र लाओस पनि बाहिरिएका हुन् । लाओससँग प्रतिस्पर्धा गरेपछि नेपालको एसिया कप छनोटका खेल सकिनेछन् ।









प्रतिक्रिया दिनुहोस्