खजुरा (बाँके) ।
खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा अन्तर्राष्ट्रिय टिमसहितको सहभागितामा गोल्डकप फुटबल प्रतियोगता सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लबको आयोजना र खजुरा गाँउपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्डकप सञ्चालन हुने भएको हो । चैत ३० गतेबाट सञ्चालन हुने गोल्डकपको तयारी तीव्र पारिएको आयोजक न्यू डाँफे स्पोर्टस् क्लबले जनाएको छ ।
गोल्डकपको तयारी सम्बन्धमा सोमबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्डकपमा २ वटा विदेशी टिमसहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बालाराम खत्रीले बताए ।
उनका अनुसार गोल्डकपमा संकटा क्लब काठमाडौँ, एपीएफ क्लब, चर्च ब्वाईज क्लब काठमाडौँ, नाइजेरियन जोन क्लब नाइजेरिया, लखनउ साहारा क्लब भारत, गोरखा ब्वाईज स्पोर्टस् क्लब बुटवल, काँक्रेविहार क्लब सुर्खेत र आयोजक न्यू डाँफे स्पोर्टस् क्लब खजुराको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुनेले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ४ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष खत्रीले बताए । सर्वोकृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष खत्रीले गोल्डकप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए ।
खजुरा गाँउपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका खजुरा ‘डी’गाँउका स्थानीय समाजसेवी लिलबहादुर थापाबाट प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफसीका सञ्चालक अंकित थापाबाट ७ लाख श्रोत सुनिश्चित भएको र बाँकी आयोजकको आन्तरिक श्रोतबाट जुटाइने गरि तयारी गरिएको अध्यक्ष खत्रीले बताए । गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताए । खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरा आउने देश विदेशका खेलाडीहरूले बर्दियाको ठाकुरद्वारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिए ।
खेलकुद विकास परिषद्का सदस्यसचिव छवि विष्टले फुटबलप्रेमीहरूको सपना खजुरामा गोल्डकप गर्ने भन्ने रहेको र उक्त सपना छिटै पूरा हुनेमा विश्वस्त रहन आग्रह गरे । खजुरा गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले युवालाई कुलतमा जान नदिन खेलकुदको प्रमुख भूमिका रहने हुँदा गोल्डकपले फुटबल खेलको विकाससँगै युवामा खेलप्रति अभिरुचि जगाउने उल्लेख गरे ।
प्रतियोगिता खजुरास्थित मिनी रङ्गशाला ‘डी’गाउँस्थित फुटबल ग्राउण्डमा सञ्चालन हुने छ । खजुराले पहिलोपटक आयोजना गर्न लागेको प्रथम गोल्डकप फुटबल खेल प्रतियोगितालाई सफल बनाउन खजुरा एकजुट हुनुपर्ने उपस्थितहरूको जोड थियो ।









प्रतिक्रिया दिनुहोस्