मकवानपुरमा डेङ्गु सङ्क्रमणमा वृद्धि



मकवानपुर ।

पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना  सङ्क्रमित भेटिएका छन् । सबैभन्दा बढी डेङ्गुबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन् ।

हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौ/नौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुई/दुई जना सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनका अनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एक जना सङ्क्रमित भेटिएको छ । यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् । जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले बताए । जिल्लामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार