बुटवल ।
राज्यका गलत नीति र व्यवहारले मुद्रण उद्योगको लगानी डुब्ने अवस्थामा पुगेको सरोकारवालाहरूले बताएका छन् । देशभित्रकै छापाखानाहरूले सेवा दिन सक्षम भए तापनि राज्यबाट व्यवसायीलाई हेर्ने नीतिमा परिमार्जन गर्ने काम हुन नसक्दा समस्या भोग्नु परेको गुनासो गरे ।
शनिबार बुटवलमा मुद्रण उद्योग संघ रुपन्देहीको ११औँ साधारणसभा तथा छैटौँ अधिवेशनमा बोल्ने उद्योगी व्यवसायीले मुद्रण व्यवसायबाट वयवसायी विस्थापित हुने अवस्था सिर्जना भएको बताए । संघका संस्थापक अध्यक्ष तथा केन्द्रीय सल्लाहकार खेमप्रसाद लुईटेलले नेपालको हरेक परिवर्तनमा मुद्रण क्षेत्रले पु¥याएको योगदानबारे चर्चा गर्दै मुद्रणमा नयाँ प्रविधिलाई आत्मसात् गर्न जरुरी रहेको बताए ।
मुद्रण सेवा र कार्यलाई विश्वसनीय र भरपर्दो बनाउँदै विदेशबाट छपाइ गरि नेपाल भित्र्याउने कामलाई निरुत्साहित गर्न व्यवसायीबीच एकता आवश्यक रहेको बताए । ठूलो लगानी रहेको यो क्षेत्रमा सरकारले ध्यान नदिएको गुनासो गर्दै उनले भने, ‘कच्चा पदार्थभन्दा तैयारी सामग्री भित्राउँदा कम मूल्य पर्ने गलत भन्सार नीति तत्काल बन्द गरिनु पर्छ ।’
रुपन्देही उद्योग संघका अध्यक्ष एवम् मुद्रण संघका केन्द्रीय सदस्य कृष्णप्रसाद पराजुलीले दशकौँअघि बनेको आर्थिक तथा भन्सार नीति परिमार्जन गरि देशमा उत्पादित बस्तुहरूको प्रयोग र संरक्षण गर्ने काम नहुँदासम्म नेपाली उद्योग क्षेत्रले विकास गर्न नसक्ने बताए । प्रदेश अध्यक्ष घनश्याम घिमिरेले संघले पेपरलेस प्रविधिका कारण ठूलो लगानी भएको मुद्रण व्यवसायमा समस्या बढेको हुँदा नयाँ शैलीले व्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
उक्त अधिवेशनले संघका वरिष्ठ उपाध्यक्ष अरुण पन्थीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, द्वितिय उपाध्यक्षमा भरत पाठक, सचिवमा नरबहादुर राना, कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य, सहसचिव मधुसुधन पोखरेल र सदस्यहरूमा दिलिप रिजाल, ऋषिराम आले, मेनका केसी, बसन्त शर्मा, हिमालय पौडेल चयन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्