बुटवल पश्चिमकै पहिलो एप्पल स्टोर नेपालगन्जमा सञ्चालन



नेपालगन्ज (बाँके) ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रविधिमैत्री ग्राहकहरूलाई लक्षित गर्दै नेपालगन्जको धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा ल्याएको छ ।

करिब एक करोड रूपैयाँको लगानीमा स्थापना गरिएको यो स्टोर बुटवलदेखि पश्चिम क्षेत्रकै पहिलो एप्पल स्टोर भएको प्रबन्ध निर्देशक ऋषि कँडेलले बताए । उनले बिहीबारदेखि स्टोर सञ्चालनमा आएको जानकारी दिए । स्टोर औपचारिक रुपमा सञ्चालनमा आएपछि एप्पलका गुणस्तरीय उत्पादनहरूका लागि अब काठमाडौँ वा छिमेकी मुलुक भारतसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले उल्लेख गरे ।

उनका अनुसार एप्पल कम्पनीद्वारा उत्पादित पूर्ण रेन्जका सबै सिरिजका आइफोन, आइप्याड, म्याकबुक, एप्पल वाच र एयरपापेड्सहरू स्टोरमा उपलब्ध हुनेछन् । साथै एप्पलका सम्पूर्ण सक्कली एक्सेसरिजहरूका साथै दक्ष प्राविधिकहरूबाट भरपर्दो मर्मतसम्भारको सुविधा समेत हुनेछ ।

अनलाइन बुकिङ, किस्ताबन्दी तथा निःशुल्क होम डेलिभरीको व्यवस्था रहेको बताइएको छ । स्टोरले उद्घाटन विशेष अफरअन्तर्गत आइफोन बुकिङ गर्ने पहिलो ११ जना ग्राहकहरूलाई एप्पल एयरपोड्समा ४० देखि ६० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी उद्घाटन भएको दिनदेखि एक हप्तासम्म पुराना सेट लिएर आउने एक हजार जना ग्राहकहरूलाई निःशुल्क स्क्रिन गार्डको सुविधा दिइने स्टोरले जनाएको छ । ग्राहकहरूको सुविधा र विश्वासलाई मध्यनजर गर्दै पश्चिम नेपालको डिजिटल बजारमा नयाँ आयाम थप्ने विश्वास लिइएको स्टोरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार