कर्णाली खेलकुद विकास परिषद्को सदस्यसचिवमा चन्द नियुक्त



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव पदमा अन्ततः नियुक्ति गरिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले वीरेन्द्रनगर नगरपालिका–७ का रवीन्द्र चन्द ठकुरीलाई सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त पद ०८१ पुसदेखि रिक्त रहँदै आएको थियो ।
राजनीतिक भागबण्डा नमिल्दा नियुक्ति प्रक्रिया लामो समयसम्म प्रभावित भएको थियो ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबीच आफू निकट व्यक्तिलाई नियुक्त गर्ने होड चलेका कारण झण्डै डेढ वर्षसम्म सदस्यसचिव नियुक्ति हुन सकेको थिएन । नवनियुक्त सदस्यसचिव ठकुरी खेलकुद व्यवस्थापन, फुटबल प्रशासन र बजारीकरण क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन् । दैलेखको चौराठामा जन्मिएका उनी हाल सुर्खेतको वीरेन्द्रनगर–७ मा बसोबास गर्दै आएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत शंकरदेव क्याम्पसबाट व्यवसाय प्रशासनमा स्नातक र डन बास्को कलेजबाट मार्केटिङ तथा ब्रान्डिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । खेलकुदको प्राविधिक पक्षमा समेत दख्खल राख्ने ठकुरीले एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स पूरा गर्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालामा सहभागिता जनाएका छन् ।

हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत छन् । एन्फाभित्र उनले ‘कमर्सियल राइट्स, ब्रोडकास्टिङ तथा डिजिटल राइट्स समिति’का संयोजक तथा ‘दीर्घकालीन रणनीतिक योजना तथा कार्यक्रम संशोधन समिति’का सदस्यका रूपमा काम गरिसकेका छन् ।

कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मा मार्केटिङ समितिको संयोजक तथा सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा भेन्यु म्यानेजरका रूपमा उनले नेतृत्व क्षमता प्रदर्शन गरिसकेका छन् । यसका अतिरिक्त उनले महिला ओलम्पिक छनोट, साफ यू–२० च्याम्पियनसिप, एएफसी च्यालेन्ज लिग र फिफा विश्वकप छनोटलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थानीय आयोजक समितिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

ठकुरी आरसी ३२ फुटबल एकेडेमी (रारा रेन्जर्स)का संस्थापक अध्यक्ष समेत हुन् । उक्त क्लब कर्णाली प्रदेशकै पहिलो क्लब हो, जसले एन्फाको राष्ट्रिय फुटबल संरचनाअन्तर्गत ‘बी’ डिभिजनसम्मको यात्रा तय गरेको छ । सन् २०१५ देखि उनी विभिन्न खेलकुद इभेन्टमा परामर्शदाताका रूपमा पनि सक्रिय छन् ।

प्रशासकीय भूमिकामा आउनुअघि उनी क्रिकेट र फुटबलका खेलाडीका रूपमा सक्रिय थिए । उनले क्रिकेटमा यू–१५, यू–१९ र सिनियर टोलीबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेका छन् भने छैटौँ राष्ट्रिय खेलकुदमा फुटबल खेलाडीका रूपमा सहभागिता जनाएका थिए । प्रशिक्षकका रूपमा उनले शंकरदेव क्याम्पसको फुटबल र क्रिकेट टोलीलाई प्रशिक्षण दिई उल्लेखनीय नतिजा दिलाएका छन् ।

त्यसैगरी, मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा वीरेन्द्रनगर–५ का प्रमोद हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । परिषद्का सदस्यहरूमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार