शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बर्दियाको गुलरिया–११ औरीपुर गाउँमा लागूऔषध सेवनका कारण एकैघरका दाजुभाइको निधन भएपछि यतिबेला सान्नाटा छ । गत शुक्रबार सीमावर्ती भारतीय बजार लौकाहीमा गएर लागूऔषध सेवन गरेर फर्किएका दाजुभाइको दुईदिनको फरकमा निधन भएपछि मंगलबार त गुलरिया–११ को गणेशपुर अशान्त बन्यो ।
औरीपुर गाउँका ४० वर्षीय सुरेश खटिक र ३० वर्षीय बहुरन खटिकको निधन भएपछि लागूऔषध कारोबारविरुद्ध स्थानीयले नेपालगन्ज–गुलरिया सडकखण्ड अवरुद्ध गरेका थिए । मृतकद्वय खटिकका आफन्त विपिन सोनकरका अनुसार घटना चैत ६ गते शुक्रबार हो । उक्त दिनको दिउँसो खटिक दाजुभाइ गाउँ नजिकैको सीमावर्ती भारतीय बजार लौकाहीमा सब्जी किन्न गएका थिए ।
दुईजना साँझ अबेरतिर फर्किए । दुवैजना आ–आफ्नो घर गएर सुते । सुतिरहेको अवस्थामा सुरेशलाई एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनले आफूले ‘कोरेक्स’ सेवन गरेको परिवारलाई बताएका थिए । लगत्तै परिवारका सदस्यहरूले आत्तिँदै कागती पानी खुवाए । सोनकार भन्छन्, ‘दुवै भाइलाई एक्कासि स्वास्थ्यमा समस्या आएपछि परिवार निकै आत्तिएछ । हामीले अलि ढिलै थाहा भयो । त्यहाँ पुग्दा दुवैजनाको अवस्था सिरियस थियो ।’
पछि गाउँलेको सहयोगमा खटिक दाजुभाइलाई उपचारको लागि जिल्ला अस्पताल बर्दिया लगियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दुवैजनालाई एम्बुलेन्समार्फत बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पु¥याइएको सोनकरको भनाइ छ । उपचारका क्रममा चैत ७ गते शनिबार बिहान ८ बजेतिर चिकित्सकले सुरेशलाई मृत घोषणा गरे ।
३० वर्षीय बहुरन पनि सिकिस्त अवस्थामा रहेको र कोहलपुर आइसियु बेड खाली नभएपछि नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा लगेर भर्ना गरेको आफन्त सोनकरले जानकारी दिए । बहुरनको पनि उपचारकै क्रममा चैत ९ गत सोमबार निधन भयो । उनका अनुसार निधन भएका सुरेशकी श्रीमती गर्भवती छिन् भने उनका दुईवटा बच्चा छन् । बहुरनका समेत दुईजना बच्चा रहेको बताइएको छ ।
एकैघरका दुई दाजुभाइको निधन भएपछि खटिक परिवार स्तब्ध भएको छ । बाँकी परिवार समेत बिचल्लीमा परेको छ । सिंगो गाउँमा नै सन्नाटा छाएको छ । यता, बहुरन खटिकको उपचारमा सलंग्न कान्ति आरोग्य अस्पताल बाँकेकी डाइरेक्टर डा. रोमा बोहराले विष सेवनका कारण उनको मृत्यु भएको बताएकी छन् ।
उनले भनिन्, ‘कुन खालको विष हो भन्ने पोष्टमार्टम रिपोर्टमा देखिन्छ । विषले गर्दा उहाँको मुटु र फोक्सोमा धेरै असर गरिसकेको रहेछ । हामीले प्रयास गर्दा पनि बचाउन सफल भएनौँ ।’ दाजुभाइको मृत्यु प्रकरणको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सूचना अधिकारी प्रमेश विष्ट शुक्रबारको घटनाको विषयमा प्रहरी अनुसन्धानकै क्रममा रहेको बताउँछन् ।
उनी भन्छन्, ‘दाइभाइको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म मृत्युको कारण खुलेको छैन । उनीहरूले लागूऔषध सेवन गरेको पुष्टि भएको छैन ।’ सोही विषयलाई लिएर सार्वजनिक सडक बन्द गरेपछि झडपको स्थिति सिर्जना भएको उनको भनाइ छ ।
लागूऔषध कारोबारविरुद्ध स्थानीयको प्रदर्शन
बर्दियामा पछिल्लो समय भारतीय सीमाबाट खुलेआम लागूऔषध भित्रिने गरेको भन्दै स्थानीयहरू मंगलबार आन्दोलित भएका थिए । बर्दियासँग सीमा जोडिएको भारतको लौकाही नाकाबाट अवैध रूपमा लागूऔषध, विशेषगरी ब्राउनसुगर र कोरेक्सको प्रयोग अत्यधिक रूपमा बढ्दै गएको छ । स्थानीय नन्दकिशोर यादवका अनुसार भारतको लौकाही बजारमा खुलेआम लागूऔषध बिक्री हुन्छ । नेपालका युवाहरू त्यहाँ जान्छन् ।
जसका कारण बर्दियाका बालबालिका र युवाहरू बढी प्रभावित भएको उनले बताए । पछिल्लो समय खुला नाकामा हुने अवैध कारोबार र त्यसको लुकीछिपी प्रयोगबाट युवाहरूको ज्यानै जाने अवस्था सिर्जना भएको यादव बताउँछन् । स्थानीय बुद्धि विकका अनुसार नेपाल र भारतको उक्त नाकामा लागूऔषध ओसारपोसार निकै ठूलो समस्याका रूपमा रहेको छ ।
गैरकानुनी रूपमा हुने कारोबार रोक्नुपर्ने मागसहित आफूहरू आन्दोलनमा उत्रिनु परेको उनले बताए । उनले भने, ‘आन्दोलन हाम्रो रहर होइन । यो हाम्रो बाध्यता हो । लागूऔषधका कारण मान्छेले ज्यान गुमाउन थालिसके । कहिले अन्त्य हुन्छ यस्तो काम ।’ बर्दिया जिल्ला लागूऔषधको ठूलो मात्रामा तस्करीको हब बनेको भन्दै अविलम्ब रोक्नुपर्ने स्थानीय राजु चौधरीले माग गरेका छन् ।
स्थानीयका अनुसार पछिल्लो समय भारतबाट भित्रिएको लागूऔषध, विशेषगरी ब्राउन सुगर र कोरेक्सको प्रयोग बढ्दै गएको छ । सोही कारण दुई जनाको ज्यान गएको भन्दै आक्रोशित स्थानीय सडकमा उत्रिएका थिए । त्यस क्षेत्रमा यसअघि पनि लागूऔषधका कारण धेरैको जीवन बर्बाद भएको गुलरिया–११ का वडाअध्यक्ष विष्णु यादव बताउँछन् ।
उनका अनुसार खटिक दाजुभाइको मृत्यु प्रकरण पनि लागूऔषध सेवनसँगै जोडिएको छ । वडाअध्यक्ष यादव भन्छन्, ‘लागूऔषध दुव्र्यसन यहाँको प्रमुख समस्याको रूपमा रहेको छ । खुला नाकाका कारण सजिलै ओसारपोसार हुन्छ । स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गरे पनि नियन्त्रण हुन सकेको छैन ।’
विकराल रुप लिँदै गएको लागूऔषधको गैरकानुनी ओसारपोसार रोक्नको लागि नाका बन्द गर्नुपर्ने कि राज्यस्तरबाट प्रभावकारी कदम आवश्यक रहेको उनको भनाइ छ । औरीपुर नेपाल र भारतको सीमा नाका जोडिएको सिमावर्ती गाउँ हो । त्यहाँका नागरिक लौकाही नाकामार्फत सजिलै ओहोरदोहोर गर्न सक्छन् । भारतीय नागरिक समेत सजिलै नेपाल आउने गरेको स्थानीयहरूको भनाइ छ ।
नेपाल र भारतको खुला सीमामा लागूऔषध कारोबार नियन्त्रण गर्नुपर्ने मागसहित मंगलबार स्थानीयले विरोध प्रर्दशन गरेका थिए । उक्त आन्दोलनले उग्र रुप लिएपछि झडपको स्थिति सिर्जना भएको थियो । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव गुलरियामा घटेको घटना गम्भीर रहेको बताउँछन् ।
उनका अनुसार केही दिनअघि दाजुभाइको एकैपटक मृत्यु भएको थियो । उनले परिवारले कोरेक्सका कारण निधन भएको बताएको उनले जानकारी दिए । नगरपालिकाले सचेतनामूलक कार्यक्रम गरे पनि खुला सीमा नै मुख्य समस्याको रूपमा रहेको नगरप्रमुख यादवको भनाइ छ ।
प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । नेपालगन्ज–गुलरिया सडकखण्डको गणेशपुर चोकमा दुई पक्षबीच झडप भएको हो । मंगलबार गुलरियाका सयौँ स्थानीय नागरिक लागूऔषध कारोबारविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका कारण हुलाकी सडक बन्द हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
बन्द खुलाउने क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भयो । आक्रोशित स्थानीयले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्न थाले । दुई पक्षको झडपका कारण केही समय गणेशपुर अशान्त बन्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्यास प्रहार ग¥यो ।
प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमा ५ जना सशस्त्र प्रहरी र ७ जना नेपाल प्रहरी छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सूचना अधिकारी प्रमेश विष्टका अनुसार घाइतेमध्ये ११ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । एकजना गम्भीर घाइतेको नेपालगन्जमा उपचार भइरहेको उनले बताए ।
गम्भीर घाइते हुनेमा नेपाल प्रहरीका सहायक हवल्दार सन्तोष विक रहेका छन् । ढुंगा प्रहारका कारण विकको टाउको र अनुहारमा धेरै चोट लागेको छ । घटनास्थलबाट उनलाई रगताम्य अवस्थामै उद्धार गरेर जिल्ला अस्पताल बर्दियामा लगिएको थियो । ‘आन्दोलनको क्रममा प्रहरीमाथि नै ढुंगा प्रहार भयो । स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायर र अश्रुग्यास छोड्नुप¥यो ।
त्यसपछि मात्रै प्रदर्शनकारी तितरबितर भए । स्थिति नियन्त्रणमा आयो,’ डीएसपी विष्टले भने । झडपका क्रममा ६ जना प्रदर्शनकारी पनि घाइते भएका थिए । प्रहरीमाथि ढुंगा प्रहार गर्ने ९ जना प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । बर्दियाका स्थानीयहरूले खुला सीमाका कारण सीमापारि गई लागूऔषध सेवन गर्दा ज्यान गएको र सरकारले लागूऔषध कारोबार नियन्त्रण नगरेको भन्दै प्रदर्शन गरेका थिए।









प्रतिक्रिया दिनुहोस्