तीन थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसे वडाध्यक्ष



मिडिया र संघीय सांसदसहित प्रमुख जिल्ला अधिकारीको दबाबपछि कार्यालय प्रमुख राति १०ः३० बजेतिर कार्यालय आए । उनको मागअनुसार कार्यालयले तीनवटा मिटरबक्स उपलब्ध गरायो । त्यहाँबाट उनी राति ११ बजे मिटरबक्स बोकेर हिँडे ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

सोमबार बिहान १० बजेतिर सल्यानका प्रतिनिधिसभा सदस्य रमेश मल्लले फेसबुकमा एउटा स्ट्याटस पोष्ट गरे । उनको पोष्टमा दुईवटा तस्बिर छन् । एउटा तस्बिरमा एक अधबैँसे पुरुष दुई हात काखी च्याँपेर खुट्टा पसारेर बसिरहेका छन् । उनीहरू बसिरहेको दायाँपट्टी एउटा झोला छ । बायाँपट्टी मोबाइल राखिएको छ । अर्को तस्बिरमा उनी बसिरहेको अघिल्तिरबाट कसैले उनको भिडिओ खिचिरहेका छन् ।

कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले पोष्ट गरेको फेसबुक पोष्टमा तिनै व्यक्ति भुइँमा झोला टाउकोमा राखेर सुतिरहेका छन् । प्रतिनिधिसभा सदस्य मल्ल र कपुरकोटका उपाध्यक्ष भण्डारीको पोष्टमा देखिएका व्यक्ति अरु कोही नभएर कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रदीप खड्का हुन् । उक्त तस्बिर खड्का सेवाग्राहीका लागि धर्ना बसेको बेलाको हो । सल्यानमा घटेको यो घटना आइतबारको हो ।

आइतबार दिउँसो वडाध्यक्ष खड्का वडावासीको मिटरबक्सका लागि नेपाल विद्युत् प्राधिकरणको सल्यान वितरण केन्द्रको कार्यालय गएका थिए । दिउँसो १ बजे कार्यालयमा पुगेका खड्काले सम्पूर्ण प्रक्रिया पूरा गर्दा समेत मिटरबक्स पाएनन् । कार्यालय समय साँझ ५ बजेसम्म पनि कार्यालय प्रमुखसहित कर्मचारीहरूले ढिलासुस्ती गर्नुका साथै अनावश्यक सास्ती दिएपछि तीनजना सेवाग्राहीको मिटरबक्सका लागि उनी कार्यालय परिसरमा पाँच घण्टा धर्ना बसे ।

उनको केवल एउटा माग थियो, ‘सेवाग्राहीका लागि मिटरबक्स चाहियो’ त्यही माग पूरा गर्नको लागि उनले आन्दोलन रोजे । उनले साढे ५ बजेबाट धर्ना सुरु गरेका थिए । उनी धर्ना बसेको विषयमा केहीछिन मै व्यापक चर्चा भयो । उनी धर्ना बस्नुको कारण खुलेपछि विद्युत् प्राधिकरणको चौतर्फी आचोलना भइरहेको छ । वडाध्यक्ष खड्का भन्छन्, ‘यो मेरो रहर होइन । मलाई बाध्य गराइयो । मेरो कदम सरकारी कार्यालयको बेथितिविरुद्ध हो । मैले आफ्ना वडाका जनताका लागि धर्ना बस्नुपर्ने बाध्यता सिर्जना गरियो ।’

प्रतिनिधिसभा सदस्य मल्लले नेपाल विद्युत् प्राधिकरणको सल्यान कार्यालयबाट तीन थान मिटरबक्स लिन जनप्रतिनिधि नै मध्यरातसम्म धर्नामा बस्नु परेको विषय निकै गम्भीर भएको उल्लेख गरेका छन् । मल्लले लेखेका छन्, ‘उहाँले म धर्नामा छु भनेर मलाई कल गर्दा बेलुकीको ६ः३० बजेको थियो र मैले लगत्तै सल्यानका प्रमुख जिल्ला अधिकारीज्यूमार्फत कार्यालय प्रमुखको मोबाइलमा घण्टी बजाएको थिएँ । सेवा प्रवाहमा प्रक्रियाको नाममा देखिएको यो ढिलासुस्ती र बेवास्ताले गम्भीर मात्र बनाएको छैन, जनप्रतिनिधिसँगै यो रबैया देखाउनेले सर्वसाधारणलाई के गर्छन् होला ? भन्ने संगीन प्रश्न खडा गरेको छ ।’

यो घटनाको न्यायोचित छानबिन गर्न, दोषीलाई कारबाही गर्न उनले माग गरेका छन् । सेवा प्रवाहलाई चुस्त बनाउन नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायको सार्वजनिक रूपमा ध्यानाकर्षण समेत मल्लले गराएका छन् । यसैगरी कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले विद्युत् प्राधिकरण कार्यालयको चरम लापरवाही, सेवाग्राहीप्रतिको अपमानजनक व्यवहार र जनप्रतिनिधिमाथि गरिएको बेवास्ता एवं गलत व्यवहार निन्दनीय भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘वडाध्यक्ष नै सेवाग्राहीका लागि धर्ना बसेको जानकारी पाएपछि मलाई दुःख लाग्यो । भौगोलिक विकटताका कारण तत्कालन जान सकिएन । सेवाग्राहीलाई रकम तिराएर विद्युत् मिटर दिने कार्यालयले सबै प्रक्रिया र रकम बुझाइसकेपछि पनि ढिलासुस्ती गरिदिने, बहानाबाजी र आलटाल गरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

यस्तो छ घटनाको नालीबेली 

आइतबार बिहान कपुरकोट–३ का वडाध्यक्ष प्रदीप खड्का सदाझैँ जनताको कामको लागि सदरमुकाम हिँडेका थिए । जनताका दुईवटा कामका लागि उनी मोटरसाइकलमा बिहान १०ः३० मा गन्तव्यतिर लागे । वडा कार्यालयबाट सदरमुकाम पुग्न मोटरसाइकलमा साढे १ घण्टा र सवारीमा साढे दुईदेखि तीन घण्टाको समय लाग्छ । उक्त दूरी ४६ किलोमीटरको छ ।

उनी सर्वप्रथम पुगे, डिभिजन वन कार्यालयमा । त्यहाँ उनले कार्यालय प्रमुखसँग बाँदरले किसानले बालीनाली खाइदिएको विषयमा राहत प्रक्रियाका बारेमा छलफल गरे । कार्यालय प्रमुखले प्रक्रियागत रूपमा काम भइरहेको र छिट्टै काम हुने आश्वास दिए । त्यसपछि दिउँसो १ः३० बजेतिर उनी पुगे नेपाल विद्युत् प्राधिकरणको सल्यान वितरण केन्द्र । उनी त्यहाँ जानुको प्रमुख उद्देश्य थियो, तीनजना वडाबासीका लागि मिटरबक्स लिने ।

उनी भन्छन्, ‘कामको सिजन छ । उहाँहरू गाडीमा जाँदा खर्च पनि हुने र समय पनि धेरै लाग्ने अवस्था छ । आफू जानेछु भनेर उहाँहरूको फाइल लिएर म गएको थिएँ ।’ तीनवटा मिटरबक्स आवश्यक भएका सेवाग्राही हुन्, लालबहादुर खड्का, भूमि ओली खड्का र अन्जना खड्का। त्यसपछि उनी कार्यालयमा पुगे । प्रतिमिटरबक्स ३ हजारका दरले कूल ९ हजार रूपैयाँँ राजस्व जम्मा गरे । सम्पूर्ण कागजात लिएर उनी अर्को फाँटमा गए । त्यहाँ पुग्दा कर्मचारी काम गरिरहेका थिए ।

खड्काले आफ्नो परिचय दिँदै कर्मचारीलाई फाइल बुझाए । फाइल हेरेर ती कर्मचारीले आज पाइँदैन भन्दै फर्काइदिए । केहीबेरको सवालजवाफपछि उनी सिधै कार्यालय प्रमुखको कार्यकक्षमा पुगे । हाकिमले फाइल हेरेर फाँटका कर्मचारीको समन्वयमा काम गर्न भन्दै फर्काए । उनी फेरि अघिकै फाँटमा गए । कर्मचारीलाई हाकिमले नियमसंगत रूपमा काम गर्न भनेको सुनाए । फेरि उनले आलटाल गरे ।

‘म जनताको कामका लागि आएको छु । आजै लिन पाइयो भने फेरि आउन पर्दैन भनेर निरन्तर प्रयास गरिरहेँ,’ वडाध्यक्ष खड्काले सुनाए ।
त्यही बीचमा कर्मचारीको खाजानास्ता समयले एक घण्टाजति कार्यालयमै कुरे । सबै कर्मचारी फर्किन थालेपछि फेरि कार्यालय प्रमुखसँग गए । उनले आफ्ना बाध्यता सुनाए । तर हाकिमले सकारात्मक उत्तर दिएनन् । लगत्तै केही कर्मचारी र हाकिमले कुरा गरे ।

अब चाहीँ पाइन्छ कि भन्ने आश रहेका उनले त्यसपछि पनि सकारात्मक जवाफ पाएनन् । कार्यालय समय सकिनै लाग्यो । तर मिटरबक्स पाइने टुंगो छैन । उनी हैरान भइसकेका थिए । ५ बजेतिर क्रमशः कर्मचारीहरू कार्यालयबाट निस्किन थाले । उनको कुराको सुनुवाइ नै भएन । कार्यालयबाट निस्किने कर्मचारी र हाकिमको जवाफ हुन्थ्यो, ‘आज हुँदैन । भोलितिर आउनुहोला ।’

अन्तिमपटक कार्यालय प्रमुखलाई गुहारे, ‘टाढाबाट आएको छु । आज उपलब्ध गराइदिनुभयो भने घर फर्किहाल्छु ।’ हाकिमले कर्मचारी फिल्डमा गएको र काम नहुने जवाफ फर्काए । त्यसपछि विवाद गर्दिनँ, जसरी पनि मिटरबक्स लिएर जान्छु भन्ने उनले सोचे । साढे ५ बजिसकेको थियो । उनले दिनभर आफूले भोगेको पीडा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशसभा सदस्य र संघीय सांसदलाई फोन गरेर आफ्ना दुःख सुनाए ।

त्यसपछि उनको धर्ना सुरु भयो, ५ः३० बजेतिर । उनले धर्ना सुरु गर्दा कार्यालयबाट सबै कर्मचारी घर गइसकेका थिए । कार्यालय सहयोगी मात्रै कार्यालयमा थिए । त्यो बीचमा उनी धर्ना बसेको थाहा पाएपछि सञ्चारकर्मीहरू आइसकेका थिए । मिडिया र संघीय सांसदसहित प्रमुख जिल्ला अधिकारीको दबाबपछि कार्यालय प्रमुख राति १०ः३० बजेतिर कार्यालय आए ।

उनको मागअनुसार कार्यालयले तीनवटा मिटरबक्स उपलब्ध गरायो । त्यहाँबाट उनी राति ११ बजे मिटरबक्स बोकेर हिँडे । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै वडाध्यक्ष खड्काले आफू राति १ः३० मा घर पुगेको बताए । उनी भन्छन्, ‘सेवा लिनको लागि मैले जति दुःख पाएँ । त्यति दुःख अब कसैले नपाओस् । सहज र शुलभ सेवा जनताले पाउनुपर्छ ।’

‘गम्भीर ध्यानाकर्षण भएको छ’

सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले सल्यानमा भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताए । घटना सार्वजनिक भएपछि आफूले कार्यालय प्रमुखसँग बुझेको र विषय सामान्य भएको जानकारी प्राप्त भएको उनले बताए । उनले भने, ‘उहाँ सेवा लिन आउनु भएको रहेछ । कार्यालयले गर्ने काम गरेको रहेछ । प्राविधिक कार्यालय बाहिर हुँदा अलि ढिला भएको बुझेको छु । यसबारे थप छलफल गर्छौँ ।’

नेपाल विद्युत् प्राधिकरणको सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावल विषय सामान्य भए पनि अतिरञ्जित गरिएको बताउँछन् । उनका अनुसार कार्यालयले प्रक्रियागत रूपमा काम गरेको थियो । तर, वडाध्यक्षले अटेरी गरेको उनले आरोप लगाए । उनले पछि चौतर्फी दबाब भएपछि मिटरबक्स दिन बाध्य भएको जानकारी दिए ।

‘उहाँ आउनु भएको थियो । फाइल बुझाउनुभयो । हामीले सबै प्रक्रिया मिलाएर भोलि दिन्छौँ भनेका थियौँ । मिटरबक्स जडानका लागि आइडी बनाउनुपर्छ । रजिस्टे«सन गर्नुपर्छ । हामी ती प्रक्रिया नै पूरा गर्न पाएनौँ । कार्यालयलाई सबै प्रक्रिया पूरा गर्न दुईदिन लाग्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार