नेपाल र हङकङबीचको खेल स्थगित



काठमाडौँ ।

नेपाल र हङकङबीच चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले दशरथ रंगशालाको प्रयोगमा अनुमति नदिएको भन्दै खेल स्थगित भएको जनाकारी दिएको हो ।

‘राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११÷०८२÷०८३ (राखेप दर्ता नं ३५५९)को पत्रमार्फत मैत्रीपूर्ण खेलको सञ्चालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२÷०८२÷०८३ (राखेप दर्ता नं ३७९५)को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरू खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो,’ एन्फाको भनाइ छ ।

‘तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौँ ।’ खेलका लागि मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेर तयारी थालेका थिए ।

नेपालले एक वर्षमा दोस्रो पटक हङकङसँग खेल्न लागेको थियो । यसअघि हङकङमा गत जुनमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । यसअघि पाँच खेलमा लगातार पराजित भइसकेको नेपाल बाहिरिसकेको छ । नेपालले अन्तिम खेलमा लाओससँग खेल्ने तय छ । चैत १७ गते हुने खेल होम म्याच भए पनि नेपालमा खेल हुनेछैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार