मतपरिणाम इतिहासकै गम्भीर र अवाञ्छितः सिंह



श्यामलाल पोखरेल । बुटवल ।

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अहिलेको चुनावको मतपरिणाम राजनीतिक इतिहासकै सबैभन्दा गम्भीर र अवाञ्छित परिणाम भएको बताएका छन् । नेता सिंहले अमेरिकी साम्राज्यवादको डिजाइन र योजनामा आएको मतपरिणाम भएको बताउँदै यो परिणाम देश र जनताको पक्षमा नभएको दाबी गरेका छन् ।

जनताले अमेरिकी साम्राज्यवादको खेल बुझ्न नसक्दा दलहरूले हार व्योहोर्नु परेको बताउँदै अमेरिकी डिजाइन जनताले बुझ्न नसक्दा यस्तो परिणाम आएको उल्लेख गरे । नेपालका वरिष्ठ कम्युनिष्ट नेता सिंहले अहिलेको चुनावको परिणामलाई जनमत भन्न नमल्निे तर्क गर्दै प्रतिनिधिसभा निर्वाचन नेपालको आवश्यकताअनुसार नभएर अमेरिकी रणनीतिअनुसार भएको दाबी गरे ।

नेकपा मसाल केन्द्रीय कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले वर्तमान राजनीतिक अवस्थाले देशलाई गम्भीर मोडमा पु¥याएको बताए । उनले अब बन्ने नयाँ सरकार पनि अमेरिकाको डिजाइनमा बन्ने दाबी गर्दै भने, ‘संसद् विघटनदेखि निर्वाचन सम्पन्न गर्दासम्मको सबै प्रक्रियाहरू योजनाबद्ध भए ।’

महामन्त्री सिंहले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई मूलतः भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भएको बताउँदै युवाहरूको स्वतःस्फूर्त सहभागिता रहेको जेनजी आन्दोलनलाई गैरजेनजी तत्वहरूले ‘हाइज्याक’ गरेर अमेरिकी साम्राज्यवादको सेवामा प्रयोग गरिएको दाबी गरेका छन् ।

‘जेनजी पुस्ताले उठाएका मागहरू ठिक भए पनि सही प्रकारको नेतृत्व नहुँदा र राजनीतिक विचारविहीन आन्दोलन भएकाले अरुले फाइदा लिएर विध्वंस मच्चाए’, उनले भने, ‘भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन्, यो आपत्तिजनक छ, यसमा षडयन्त्र छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनपछि नेपालको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको बताए । उनले संसद्, सिंहदरबार, सर्वोच्च अदालत, दलका कार्यालयहरू र अन्य थुप्रै भौतिक संरचना जलाउनेहरूको बोलाबोल बढेको बताउँदै यस्ता गलत काम गर्नेहरूको हातबाट देशलाई जोगाउनु पर्नेमा जोड दिए ।

एमसीसी पास गरेर अमेरिकालाई सहयोग गरेका काँगे्रस, एमाले र माओवादीहरूले एसपीपी पास गर्न नमानेकाले अमेरिकाको डिजाइनमा जेनजी आन्दोलन भड्काइएको उनको भनाइ थियो । चुनावमा जनता झुक्किए पनि जनताले ठिक बेठिक छुट्टाउने बताउँदै उनले अब बन्ने नयाँ सरकारले देशलाई निकास दिन नसक्ने बताए । चुनावको हारजितमा आफ्नो पार्टीले विश्वास नगर्ने भन्दै उनले भने, ‘हामीले देशको हितमा जनताका मुद्दा उठाउँदै आएका छौँ । संघीयता खारेज गर्न र राष्ट्रियताको पक्षमा निरन्तर जनताका साथमा रहेने नै छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार