सम्पादकीयः वन डढेलोको चुनौती



नेपालमा हरेक वर्ष वन डढेलोबाट करोडौँ करोडको आर्थिक नोक्सानी हुनुका साथै जनधनको क्षति हुँदै आएको छ । प्रायः फागुनदेखि वैशाख महिनासम्म चल्ने हुरी वतासको समयमा विभिन्न ठाउँहरूमा आगलागी हुनुका साथै वन डढेलोबाट हानिनोक्सानी हुँदै आएको छ । सरकारी संयन्त्रहरूले हरेक वर्षजसो वन डढेलोबाट जनधनको क्षति हुन नदिन विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको पाइए तापनि यसलाई पूर्ण रूपमा रोक्न र न्यूनीकरण भने गर्न नसकेको देखिन्छ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो सप्ताह पनि चलिरहेको छ । यस अवधिमा सरोकारवालाहरूले विभिन्न सचेतनाका कार्यक्रमहरू पनि गर्दै आएका छन् । वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्यांकअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ । विभागको तथ्यांकमा विसं २०७० देखि २०८२ सम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख भएका छन् । वन डढेलो गम्भीर वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदनअनुसार नेपालमा वन डढेलो मौसमी प्रकृतिको देखिन्छ । कूल घटनामध्ये करिब ८९ प्रतिशत वन डढेलो फागुनदेखि वैशाखसम्म भएका छन् । त्यस अवधिमा समयमा लामो सुख्खा, न्यून आद्र्रता, उच्च तापक्रम, हावाको तीव्रता, कृषि अवशेष जलाउने प्रचलन, वन क्षेत्रमा मानव गतिविधि वृद्धिका कारण वन डढेलोको जोखिम बढी हुने उल्लेख छ ।

बर्सेनि हुने वन डढेलोको बढ्दो जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहका निकायहरू, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा स्थानीय समुदायबीचको समन्वय अनिवार्य रूपमा रहनु पर्दछ । कुनै एक व्यक्ति वा एक संस्थाले मात्र चाहेर यसलाई रोकथाम गर्न या न्यूनीकरण गर्न असम्भव देखिन्छ । वन डढेलो व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी नभएर यो सम्पूर्ण समाजको साझा दायित्व हो । वन डढेलो रोकथाम, शीघ्र सूचना आदानप्रदान, समयमै नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक देखिन्छ । यो वर्षको गर्मीयामसँगै वन डढेलोको सिजन पनि सुरु भएसँगै आगलागी तथा वन डढेलोका घटनाहरू बढ्ने जोखिम रहेकाले आगलागी तथा वन डढेलोका कारण धनजनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आगलागी तथा वन डढेलो रोकथामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायले विभिन्न योजनाहरू निर्माण गरी कार्यान्वय गर्न आवश्यक छ । आगलागी तथा वन डढेलो नियन्त्रणका लागि विभिन्न प्रचार प्रसार, जानकारीमूलक तथा सचेतनामूलक अभियानहरू सञ्चालन गर्न आवश्यक छ । त्यसैगरी स्थानीय सरकारहरूले आगलागी तथा वन डढेलो नियन्त्रणका लागि जिल्लामा रहेका सम्पूर्ण दमकलहरूलाई २४सै घण्टा परिचालन हुन सक्ने गरि तयारी हालतमा राख्न आवश्यक छ ।

जिल्लामा रहेका सम्पूर्ण सुरक्षा निकाय, स्वयंसेवक, संघसंस्थाहरू पनि तयारी अवस्थामा रहन आवश्यक छ । समुदायस्तर तथा विद्यालयस्तरमा व्यापक जनचेतनाका अभियानहरू सञ्चालन गर्दा पनि थप प्रभावकारी हुन सक्दछ । अधिकांश आगलागी तथा वन डढेलोका कारणहरू मानवबाट नै हुने गरेका पाइन्छन् । तसर्थः सर्वप्रथम हरेक व्यक्ति यसप्रति गम्भीर सचेत हुन आवश्यक छ । वन डढेलोका कारण जनधनको मात्र क्षति नभएर वन क्षेत्रमा देखिएका डढेलोका घटनाले वन्यजन्तु र प्राकृतिक स्रोतसाधनमा पनि गम्भीर असर पार्ने गरेको छ । यसलाई समयमै नियन्त्रण गर्न र पूर्वतयारी गर्न आवश्यक छ । वनमा आगलागी हुँदा मानवीय क्षति कम गर्ने उपायलाई प्राथमिकतामा राख्नुपर्छ । साथै डढेलो नियन्त्रणका लागि व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने, वन क्षेत्रमा ‘फायर लाइन’ विस्तार गर्नुपर्ने र स्थानीयस्तरमा तालिम तथा तयारी बढाउनुपर्ने आवश्यकता देखिन्छ । त्यसैगरी पानीका स्रोतहरूको संरक्षण, आगलागी नियन्त्रणका लागि आवश्यक साधनस्रोतको व्यवस्था तथा प्रभावकारी प्रचारप्रसारमार्फत समुदायलाई सचेत बनाउनु पनि अत्यन्त महत्वपूर्ण छ । वन डढेलोबाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि सम्पूर्ण सरोकारवाला निकायले पूर्वतयारी गर्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार