गम्भीरबहादुर हाडा
वायुप्रदूषण भन्नाले खास गरेर उद्योगहरूबाट निस्केको धूवाँको कालो मुस्लोबाट वायु ढुंगाखानी, सिमेन्ट उद्योग, तेल प्रशोधन स्थल, मल उत्पादन उद्योग, मोटर गाडी, कोइलाखानी दाउरा आदि पर्दछन् । वायुमण्डलमा धूलोका कणहरू, विभिन्न किसिमका हानिकारक ग्यासहरू, उद्योगबाट निस्केका खनिज कणहरू र आणविक भट्टीहरूबाट निस्कने रेडियोधर्मी किरणहरू आदिका सम्मिश्रणको कारणले गर्दा वायुप्रदूषण उत्पन्न हुने गर्दछ । आजभन्दा तीन सय वर्षपहिले वैज्ञानिक व्यजल भ्खभथिल ले कोइलाका अधिक प्रयोगबाट वायुप्रदूषण निम्तने र त्यसबाट मानिसहरूको श्वासप्रश्वाससम्बन्धी रोगले मृत्यु हुने, धूलो वायुमण्डलबाट कुनै पनि ठाउँमा झर्न सक्ने, कुनै पनि वस्तुमा अपघर्षण भई वस्तु खुइलिएर जाने र कालो धूवाँको बादलको कारणले सौर्यशक्ति पनि कम हुने सम्भावना औँल्याएका थिए । यसै कुरालाई बिसौँ शताब्दीमा अध्ययनको मुख्य विषयवस्तु पनि बनाइयो र यस प्रकारका असरहरू पनि प्रशस्तै देखिए । आज एक्काइसौँ शताब्दीको शुरुवातमा पनि यसको अध्ययन आवश्यक भइरहेकै छ । वायुप्रदूषणको असर सर्वप्रथम सन् १९३० मा बेल्जियमको म्युम भ्यालीमा देखिएको थियो । त्यसपछि संयुक्त राज्य अमेरिकाको पन्यु सोलभानिया राज्यको मानोकाहैला नदीमा सन् १९४८, लण्डनमा सन् १९५२ मा देखियो । यी सबै प्रकारका वायुप्रदूषणबाट मानिसहरूको मृत्यु भएको थियो । वायुप्रदूषणबाट पृथ्वीको सतहभन्दा करिब ६० किलोमिटर माथि रहेको ओजोन तहलाई पनि प्रभावित पारेको बताइन्छ ।
प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौँ उपत्यकामा वायुप्रदूषणको प्रभाव अन्य सहरहरूमा भन्दा बढी हुने गर्दछ । कचौरा जस्तो भौगोलिक भू–बनोटले गर्दा उपत्यकाभित्र जम्मा भएका वायुप्रदूषकहरूलाई हावाले सजिलै बाहिर लान सक्दैन ।जाडोयाममा त यो समस्या झन् जटिल हुन्छ किनभने जाडोयाममा राति र बिहानीपख उपत्यकाको सतहनिर चिसो हावाको एक तह बन्छ, जसलाई तातो हावाको अर्को तहले ढकनीलेजस्तै छोपेर राखेको हुन्छ । यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ । यसले गर्दा जाडोेयाममा प्रदूषकहरू जमिनको सतहनजिक नै बसिरहन्छन् र वायुप्रदूषण अत्यधिक मात्रामा बढ्छ । वायुप्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । १३०० मिटरदेखि १३५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौँ उपत्यकामा गाडीहरूले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतयाः बढी धूवाँ फाल्ने गर्दछ । काठमाडौँको मौसमले पनि वायुप्रदूषण बढाउन सहयोग पु¥याइरहेको छ । वर्षाले हावामा भएका प्रदूषकहरू पखाल्ने गर्दछ । तर काठमाडौँमा करिब तीन महिना मात्र राम्ररी पानी पर्ने हुनाले पानी नपर्ने समयमा वायुप्रदूषण बढी हुने गर्दछ । ‘वायुप्रदूषण भन्नाले वायुमा बढी मात्रामा मिसिन गएका बाह्य पदार्थहरू जसले व्यक्तिको असल स्वास्थ्यमा अथवा सामूहिक रूपमा सम्पत्तिको नोक्सान गर्नु भन्ने जनाउँछ ।’ अमेरिकी चिकित्सा सङ्घ (Air pollution is the excessive concentration of foreign matter in the air which adversely affects the well-being of the individual orcause damage to property. American Medical Association) सरल शब्दमा धूलो, धूवाँ र हानिकारक ग्यासहरूसँगको हावाको लसपसलाई वायुप्रदूषण भनिन्छ । (In simple words, the contamination of air with dutst, smoke and harmful gases is called air pollution) वायुप्रदूषणका स्रोतहरूअन्तर्गत ः दहन परिचालन (Combustion Operation), औद्योगिक उत्सर्जन (Industrial Emissions), सामाजिक क्रियाकलापहरू (Social Activities), तापीय शक्ति कारखाना (Thermal Power Plants), मोटर गाडी (Automobiles), खानी (Mining), अन्य स्रोतहरू (Other Sources) ।
डिजेलबाट चल्ने सवारीसाधनहरूको धूवाँ एकदमै खतरनाक हुने गर्दछ । यो धूवाँमा मसिना धूलाका कणहरू अत्यधिक पाइन्छ र यी कणहरूमध्ये ९० प्रतिशतजति १ माईक्रोनभन्दा मसिना हुन्छन् । डिजेलको धूवाँमा यस्ता धूलाका कणहरू पेट्रोलको धूवाँको तुलनामा १०० गुणा बढी हुन्छ । यस्ता धूलाका कणहरूले मान्छेको फोक्सोमा क्यान्सर निम्त्याउन सक्छन् । सन् १९९७ मा जापानी वैज्ञानिकहरूले क्यान्सर रोग निम्त्याउन सक्ने अहिलेसम्म पत्ता लागेका रसायनहरूमध्ये सबैभन्दा खतरनाक पदार्थ डिजेलबाट निस्कने धूवाँमा पाए । काठमाडौँको परिवेष्ठित वायुको गुणस्तरअनुसार कूल सस्पेण्डेड कण र १० माइक्रोनका पार्टिकुलेट म्याटरबाहेक अरु आधारभूत प्रदूषकहरू विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभित्र रहेका छन् (तालिका २.८१) । उपत्यकाको वायुमण्डलको कूल सस्पेण्डेड कणसम्बन्धी तथ्यांकअनुसार वर्षाको समयमा भन्दा हिउँदमा बढी प्रदूषण हुने गरेको छ । वायुप्रदूषण गराउनमा उद्योगहरूको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ ।औद्योगिक प्रदूषण नियन्त्रण एवं व्यवस्थापन परियोजनाद्वारा सम्पन्न गरिएको औद्योगिक प्रदूषणसम्बन्धी सर्वेक्षणअनुसार वायुप्रदूषण गर्ने कूल ३,१५६ उद्योगहरूले प्रतिवर्ष ७६,४०० टन कूल सस्पेण्डेड कणहरू फयाँक्ने गर्दछन् । (देवकोटा र न्यौपाने, १९९४) । विश्व स्वास्थ्य संगठनका अनुसार भारतको राजधानी नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर हो । ११ देशको १ हजार ६ सय सहरमा गरिएको एक सर्वेक्षणमा दिल्लीको हावामा पिएम २.५ (सास भित्रजाने पार्टीकुलुट म्याटर)को मात्रा निकै पाइएको छ । दिल्लीमा यो १४३ माइक्रोग्राम प्रतिघनमिटर छ । यो नयाँ प्रतिवेदनको नाम ऐम्बिएन्छ एअर पोलुसन राखिएको छ । प्रतिवेदनमा साढे एक हजार देशको वायुप्रदूषणको स्थिति तथा असरबारे विस्तृत रूपमा जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले २.५ पिएमको बढ्दो स्तरमा चिन्ता व्यक्त गर्दै भनेको छ – पएिम २.५ को कन्स्ट्रक्सन प्रतिघनमिटिर १० माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन ।
एसियाको घनाआवादी भएको सहरमा पनि तुलनात्मक हिसाबमा कम वायुप्रदूषण छ । पाकिस्तानको कराँचीमा पिएम २.५ को ११७ माइक्रोग्राम प्रतिघनमिटर छ भने चिनको राजधानी वेइजिङमा ५६ र संघाईमा ३६ रहेको छ । यो प्रतिवेदनले स्पष्ट रूपमा दिल्लीमा प्रदुषण कम गर्न आवाश्यक कदम तत्काल नचाल्ने हो भने रोगहरू फैलने चेतावनी दिएको छ । स्विस जलवायु समूह आइक्युएयरले सन् २०२३ मा १३४ देशमा गरेको अनुगमनमा सबैभन्दा खराब वायु गुणस्तर बंगलादेशको थियो । त्यसबाहेक प्रतिवेदनमा समग्र दक्षिण एसिया विश्वमा सबैभन्दा खराब प्रदूषणबाट ग्रस्त रहेको भनिएको छ । प्रतिवेदनमा पाकिस्तान र भारत वायुप्रदूषणका हिसाबले हाराहारीमा छन् । प्रदूषणबारे प्रतिवेदनका केही अन्तर्दृष्टि यहाँ उल्लेख गरिएको छ, जसले हामीलाई दक्षिण एसियाली देशका सरकारबारे बताउँछ । प्रतिवेदनले विश्वभरका सात हजार आठ सय १२ सहरबाट पिएम २.५ वायु गुणस्तर तथ्यांकको एक सिंहावलोकन प्रदान गर्छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा सोभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ । यी मानव श्वासप्रश्वास प्रणालीको गहिराइमा पुग्न सक्ने भएकाले खतरनाक हुन्छन् । यी कण प्राकृतिक घटना, जस्तै– धूलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्बन जस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दिशानिर्देशअनुसार पिएम २.५ को औसत वार्षिक स्तर प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन । तथापि, प्रतिवेदनमा सूचीबद्ध १० देशले मात्र यो मानक पूरा गरेका छन् । तिनमा फ्रान्सेली पोलिनेसिया, न्युजिल्यान्ड, फिनल्यान्ड र इस्टोनियालगायत विश्वको सबैभन्दा स्वच्छ हावा भएको मुलुक समावेश छन् । बंगलादेशको पिएम २.५ स्तर ७९.९ माइक्रोग्राम प्रतिघनमिटर छ, जुन विश्व स्वास्थ्य संगठनले स्वस्थ भनेर सिफारिस गरेको भन्दा झन्डै १६ गुणा बढी हो । गत वर्षको तुलनामा पाकिस्तानमा ७३.७ र भारतको हावामा ५४.४ माइक्रोग्राम पिएम २.५ कण प्रतिक्युविकमिटर थियो ।
काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेको छ । काठमाडौँको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा काठमाडौँ देखिएको हो । आधिकारिक रूपमा वायुप्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायुप्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी नेपालमा १३० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब) नोक्सानी भएको विश्व बैंकको २०१५ को तथ्यांकले देखाएको छ । सन् २०३० सम्ममा नेपालमा वायुप्रदूषणको वित्तीय भार २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बैंकको अनुमान छ । वनजंगलमा लाग्ने डढेलो, कृषकले खेतीबारीमा जलाउने कसिङ्गर, धूलोधूवाँ र पश्चिमी तथा पूर्वीय वायु सक्रिय हुन नसक्दा काठमाडौँमा प्रदूषण बढ्दै गइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति तथा वातावरणविद्ले बढ्दै गएको वायुप्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने गर्छ भनेका छन् । बढ्दो प्रदूषणका कारण मानव स्वास्थ्यमा अनुसन्धान नकारात्मक असर पर्ने, कामकाजमा असर गर्ने, भिजिविलिटी कम हुँदा विमान उडानमा प्रभावका कारण यसले आर्थिक क्षति पनि बढाइरहेको वातावरणविद्हरूको भनाइ छ । प्रदूषणका कारण नेपालको आर्थिक भार बढ्दै जाने भन्दै उनीहरूले चिन्ता गरेका छन् । प्रदूषण न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्नेमा सरोकारवालाको जोड रहँदै आएको छ । ‘वन डढेलो, सवारीसाधनले फ्याँक्ने धूवाँ, जथाभावी बालिने फोहोर, उद्योगको धूवाँ आदिका कारण वातावरणीय प्रदूषण–भइरहेको छ । प्रदूषणका कारण मानव स्वास्थ्यमा मात्र नभई हामीलाई आर्थिक रूपमा पनि क्षति भएको छ । यसले मुलुकको आर्थिक भार बढाउँदै लैजानेछ । वातावरणीय प्रदूषण न्यूनीकरणको क्रियाकलापलाई समयमा नै अपनाई राज्यले लगानी बढाउनुपर्ने आवश्यकता छ । वातावरणले मुलुकको अर्थतन्त्रमा पार्ने असरको विषयमा विस्तृत अध्ययन गर्न आवश्यक रहेको छ ।
विश्व बैंकको अध्ययनअनुसार वायुप्रदूषणकै कारण नेपालमा बर्सेनि कूल गार्हस्थ उत्पादनको ४.७ प्रतिशत नोक्सान भइरहेको छ । काठमाडौँ उपत्यकामा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायुप्रदूषणकै कारण हुने गरेको पाइएको छ । प्रदूषणका कारण दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको छ । वायुप्रदूषणले दमखोकीका बिरामीको अस्पताल भर्ना हुने दरमा १.३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३.४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३.६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार वार्षिक रूपमा स्वस्थ हावामा पिएम २.५ को मात्रा प्रतिघनमिटर ५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन । तर, नेपालमा विशेषगरी काठमाडौँ उपत्यकामा यो मात्रा सुरक्षित सीमाभन्दा करिब आठगुणा बढी रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । काठमाडौँ मात्रै होइन, देशका अन्य केही सहरहरूको हावा पनि स्वच्छ छैन । हावा जीवित प्राणीका लागि जीवनको आधार हो । हावाबिना कुनै पनि जीवित प्राणीले जीवन धान्न सक्दैन । स्वस्थ जीवनका लागि हावाको महत्त्व अत्यन्तै ठूलो हुन्छ, तर त्योभन्दा महत्त्वपूर्ण स्वच्छ हावाको उपलब्धता हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । तर, व्यवहारमा भने नागरिकले स्वच्छ वातावरण पाउने अधिकार अझै पूर्णरूपमा सुनिश्चित हुन सकेको छैन । बढ्दो वायुप्रदूषण नियन्त्रणका लागि सरकारले विभिन्न ऐन, नियम तथा नीतिगत व्यवस्था गरेको देखिन्छ । व्यवस्था गरे पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिन्छ।
विश्व बैंकले नेपालमा वायुप्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापन सुदृढ गर्न ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको ऋण सहयोग स्वीकृत गरेको छ । उक्त सहयोग वायुप्रदूषणको उच्च जोखिममा रहेका काठमाडौँ उपत्यका, तराई र वरपरका पहाडी क्षेत्रहरूमा खर्च गरिनेछ । ती क्षेत्रका उद्योगहरूलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न ऋण सहायता, प्रोत्साहन भत्ता र प्राविधिक सहयोग उपलब्ध गराइने विश्व बैँकद्वारा उल्लेख छ । विश्व बैंकको यो सहयोगमा बेलायत र स्विट्जरल्यान्ड सरकारको ‘रेजिलियन्ट एसिया प्रोग्राम’मार्फत ५० लाख डलरको थप अनुदान पनि समावेश छ । विश्व बैंकले ‘नेपाल स्वच्छहावार समृद्धि परियोजना’का लागि उक्त रकम स्वीकृत गरेको हो । यो परियोजनाले विशेषगरी उद्योग र व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर तथा भट्टीहरूबाट निस्कने हानिकारक सूक्ष्म कण (पीएम २.५)को उत्सर्जन कम गर्न केन्द्रित हुनेछ । स्वास्थ्य उपचार र उत्पादकत्वमा हुने ह्रासका कारण नेपालले वार्षिक कूल गार्हस्थ उत्पादन ६ प्रतिशतभन्दा बढी हिस्सा गुमाइरहेको छ । यो परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ र प्रतिस्पर्धी बनाउँदै लाखौँ मानिसको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ । नेपालमा औद्योगिकीकरण बढ्दै जाँदा भविष्यमा औद्योगिक उत्सर्जन नै प्रदूषणको मुख्य स्रोत बन्ने प्रक्षेपण गरिएको छ । यसलाई सम्बोधन गर्न परियोजनाले करिब ४०० वटा उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूलाई विद्युतीय बोयलर, आधुनिक बायोमास भट्टी र उन्नत उत्सर्जन नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्नेछ । नेपालमा महँगो लगानी र दीर्घकालीन ऋणको अभावका कारण स्वच्छ प्रविधि अपनाउन गाह्रो भइरहेको उल्लेख गर्दै यो परियोजनाले ती अवरोधहरू हटाउनेछ ।
वायुप्रदूषणलाई कम गर्न अपनाउनु पर्ने प्रमुख उपाय
वातावरणीय शिक्षालाई औपचारिक एवम् अनौपचारिक रूपमा लागू गरी विद्यार्थीहरू एवम् आम जनसमुदायलाई वातावरणप्रति सचेत गराउनु पर्दछ । वातावरणीय प्रदूषण नियन्त्रण गर्नका लागि वातावरणीय पक्षहरू हावा, पानी, जमिन, सांस्कृतिक पक्ष आदि के कारणले प्रदूषित हुन्छन्, प्रदूषणबाट मानव स्वास्थ्यमा के कस्ता समस्याहरू आउँछन् आदि विषयवस्तुहरूप्रति सचेत गराउनु पर्दछ । वातावरणीय सरसफाइमा विशेष जोड दिनुपर्दछ, जसअन्तर्गत शौचालयको प्रयोग, ठोस फोहर वस्तुहरू एवम् ढलनलको उचित व्यवस्थापनमा जोड दिनुपर्दछ । वृक्षारोपणमा जोड दिनुपर्दछ, जसको लागि भएका वनजंगलहरूको संरक्षण गर्नुका साथै खाली ठाउँहरूमा बिरुवा रोपी हराभरा गराउनु पर्दछ। आमजन समुदायहरूलाई बोटबिरुवा मानवबीचको अन्तरसम्बन्ध र यसले स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी गराई उनीहरूको सहयोगमा नै वृक्षारोपण र संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दछ । वातावरणीय प्रदूषणको प्रमुख कारणहरूमध्ये तीव्र जनसङ्ख्या वृद्धि पनि एक हो ।जनसङ्ख्याको उचित व्यवस्थापनको लागि प्रभावकारी रूपमा परिवार नियोजन कार्यक्रमहरूलाई सञ्चालन गर्नुका साथै यसको महत्वको बारेमा आम जनसमुदायलाई जानकारी गराउनु पर्दछ । अव्यवस्थित र योजनाविहीन सहरीकरण र मानवीय बसोबासका कारण वातावरण दिनप्रतिदिन प्रदूषित हुँदै गइरहेको छ । यसले ढलनलको तथा स्वच्छ र सफा पानी आदिको व्यवस्थापन एवम् वितरणमा समस्या सिर्जना हुन जान्छ । त्यसैले निश्चित नियम तथा कानुनको निर्माण गरी सहरीकरण एवम् मानवीय बसोबासलाई व्यवस्थित गर्नु पर्दछ ।









प्रतिक्रिया दिनुहोस्