काँग्रेस बाँकेद्वारा शाह र यादवमाथि कारबाही सिफारिस



नेपालगन्ज ।

नेपाली काँग्रेस बाँकेले दुई जना जिल्लास्तरीय नेताहरूलाई चुनावमा अन्तर्घात गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ । कारबाही सिफारिस गरिएकाहरू महासमिति सदस्य लक्ष्मीनारायण शाह र लुम्बिनी प्रदेश प्रतिनिधि राजु यादव रहेका छन् । उनीहरू दुवै जनामाथि बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनका विरुद्ध गतिविधि गरेको आरोप लगाइएको छ ।

उनीहरूलाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र (ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १० (२९) को १ (क) र (ङ) बमोजिम ५ (पाँच) वर्षको लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरिएको हो । काँग्रेस बाँकेको अनुशासन समिति बाँकेका संयोजक मनप्रसाद आचार्यले केन्द्रीय अनुशासन समितिलाई गरेको सिफारिसमा हालै सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा शाह र यादवले पार्टीको आचरण, अनुशासन र विधानविपरीत क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनहरू विरुद्धको गतिविधिमा संलग्न भई पार्टीलाई हानी हुने कार्य गरेको सिफारिस पत्रमा उल्लेख छ ।

उनीहरूलाई क्षेत्र नम्बर ३ को बैठकको निर्णयबमोजित कारबाही सिफारिस गरिएको पनि खुलाइएको छ । क्षेत्रको बैठकले दुवै जनालाई कारबाही गर्न जिल्लासमक्ष सिफारिस गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार