धनगढी ।
कैलाली जिल्लामा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेको घटनामा मुद्दा कमजोर बनाएको आरोपमा १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहितका १३ जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनाएको छ ।
उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ । तत्कालीन समयमा इप्रका मालाखेतीमा कार्यरत धेरैजसो प्रहरी सरुवा भइसकेका छन् तर उनीहरू कार्यरत रहेकै ठाउँबाट जिल्ला हाजिर हुन निर्देशन दिइएको छ । गत साउन ९ गते गोदावरी नगरपालिका–८बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए ।
तर मुद्दा चलाउने क्रममा बरामद चित्तलको सिङ र खुट्टा विवरणबाट गायब पारिएको पाइएपछि तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भण्डारीसहितका प्रहरीमाथि छानबिन सुरु गरिएको थियो । छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिले प्रतिवेदनमा वन्यजन्तुको अंग लुकाउन भूमिका खेलेको निष्कर्ष निकाल्दै नियमावलीअनुसार कारबाही सिफारिस गरेको थियो । तर प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा पनि कारबाही कार्यान्वयनमा ढिलाइ भएको देखिएको छ । तर प्रहरीले भने प्रतिनिधिसभाको निर्वाचनका कारण ढिलाइ भएको बताउँदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्