शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको असर नेपालसम्मै देखिन थालेको छ । युद्धका कारण खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति कठिनाई हुँदा नेपाल जस्ता आफ्नै स्रोत नभएका देशहरूमा यस्तो समस्या देखिन थालेको हो । विशेषगरी दैनिक रूपमा उपभोग हुने एलपी ग्यास आपूर्ति प्रक्रिया प्रभावित हुन थालेपछि नेपाल आयल निगमले देशभरका मुख्य सहरहरूमा आधा मात्रै ग्यास बेच्न निर्देशन नै जारी गरेको छ ।
जसका कारण पश्चिम नेपालसम्मै यसको असर देखिन थालेको छ । विशेषगरी लुुम्बिनीसहित सुदूूरपश्चिम लगायतका प्रदेशका विभिन्न सहरमा सञ्चालित होटल व्यवसायमा ग्यास अभाव देखिन थालेको हो । ग्यास अभावको मार होटल तथा रेष्टुुरेन्ट व्यवसायमा देखिन थालेको छ । जसका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मुख्य सहरहरूमा सञ्चालित तारे होटलहरूले ग्यास खपत घटाउन थालेका हुन् । निगमले आधा सिलिण्डर मात्रै खरिद् गर्न आह्वान गरे पनि होटलहरूले वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।
होटल सिद्धार्थ नेपालगन्जकी फाइनान्सियल इक्ज्युुकेटिभ गंगा न्यौपानेले आफ्नो होटलमा ग्यास आपूर्ति आधाभन्दा बढी घटेको बताइन् । उनका अनुसार विगत एक सातादेखि मागको ५० प्रतिशत कम मात्रै ग्यास आउने गरेको छ । ‘अर्डर गरेको चार दिनपछि मात्रै होटलमा ग्यास पुग्छ । त्यो पनि आधा आउँछ । यसले व्यवसायमा निकै ठूलो घाटा पुगेको छ ।’ उनले भनिन् ।
अहिले होटलमा भएको स्टकले काम चलाइरहेको उनको भनाइ थियो । द्वन्द्व लामो समय चल्यो भने व्यवसाय बन्द गर्नुपर्ने स्थिति आउन सक्ने न्यौपानेले बताइन् । बाँकेको कोहलपुरस्थित होटल सेन्टर प्लाजाका मार्केटिङ म्यानेजर सरोज थपलिया बजारमा ग्यास अभावका कारण खरिद नै कम गर्नु परेको बताउँछन् । उनका अनुसार पछिल्लो एक सातादेखि होटलले दैनिक रूपमा ग्यास खरिद ४० प्रतिशतभन्दा कम गरेको छ ।
पौवा होटल बुटवलका जनरल म्यानेजर प्रकाश पाठकले आफ्नो होटलमा ग्यास अभावको मार नपरेको बताए । उनका अनुसार अहिलेसम्म मागअनुसार आपूर्ति भइरहेको छ । ‘अहिले बजारमा ग्यास अभावको हल्ला धेरै सुनिन्छ । तर हाम्रोमा अभाव छैन । आगामी दिनमा के हुन्छ ।’
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले बजारमा ग्यास अभाव लामो समयसम्म ररिरहे त्यसको असर होटल व्यवसायमा पर्न सक्ने बताउँछन् । बाराही हस्पिटालिटीका कार्यकारी निर्देशक विप्लब पौडेलले ग्यास अभावको समस्या बढेमा आगामी दिनमा समस्या आउन सक्ने जोखिम रहेको र त्यसको लागि अहिले नै समाधानको उपाय खोज्नुपर्ने अवस्था रहेको बताएका छन् ।
लुम्बिनीमा ग्यास वितरण सहज बनाउन निर्देशन
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले खाना पकाउने एलपी ग्यासको वितरण सहज बनाउन विक्रेताहरूलाई कारोबारको सम्पूर्ण विवरण दैनिक रूपमा पेस गर्न निर्देशन गरेको छ । पश्चिम एसियामा जारी युद्धका कारण उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउन नसकेको गुनासो बढेपछि आपूर्ति सहज बनाउन रुपन्देहीको भलवारीस्थित निगमको प्रादेशिक कार्यालयले यस्तो प्रावधान गरेको हो ।
निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुषालले निगमको भलवारी कार्यालय मातहतमा रहेका जिल्लाका सबै ग्यास डिलरले उद्योगबाट प्राप्त गरेको र उपभोक्तालाई बिक्री गरेको सम्पूर्ण कारोबार दैनिक रूपमा जिल्ला प्रशासन र निगमको प्रादेशिक कार्यालयमा बुझाउनु पर्ने प्रावधान गरिएको बताए ।
रुपन्देहीको भलवारीस्थित निगमको लुम्बिनी प्रादेशिक कार्यालयले पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पाल्पा, पूर्वी रुकुम र बाग्लुङमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति गर्दै आएको छ । प्रादेशिक कार्यालयका अनुसार यहाँ गत पुस र माघको तुलनामा फागुनमा ग्यासको आयात करिब १ हजार मेट्रिकटन बढी भएको थियो । यो कार्यालयमार्फत गत पुसमा ६ हजार ७ सय ५८ र माघमा ६ हजार ५ सय ७५ मेट्रिकटन ग्यास आयात भएकोमा फागुनमा भने ७ हजार ४ सय ८८ मेट्रिकटन आयात भएको थियो ।








प्रतिक्रिया दिनुहोस्