खजुरा (बाँके) ।
बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता सुरु गरिएको छ । फागुन ३० गते शनिबारदेखि सुरु भएको प्रतियोगिता चैत ६ गतेसम्म सञ्चालन हुनेछ । प्रथम खजुरा नाइट फुटबल प्रतियोगिताको उद्घाटनसँगै पहिलो दिन तिन खेल सम्पन्न भएका छन्।
खजुरामा खेलकुदका गतिविधिमा सक्रिय ब्रोदर्स स्पोट्र्स क्लबको आयोजनामा भइरहेको पाँच–ए–साइड फुटबल प्रतियोगितामा बाँके जिल्लाका विभिन्न स्थानबाट १६ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता रातिको समयमा सञ्चालन हुने भएकाले मैदानमा विशेष प्रकाश व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
बाँके जिल्लामै पहिलो पटक रात्रिकालीन रूपमा आयोजना गरिएको फुटबल प्रतियोगिता भएकाले खेलप्रेमीका लागि यो प्रतियोगिता निकै रोचक मानिएको छ । प्रतियोगिताको पहिलो खेल न्यु डाँफे स्पोट्र्स क्लब र न्यु दर्पण युवा स्पोट्र्स क्लबबीच सम्पन्न भएको थियो । उक्त खेलमा न्यु दर्पण युवा स्पोट्र्स क्लब विजयी बन्न सफल भयो । त्यसैगरी दोस्रो खेल आयोजकको लेजेन्ट टिम र साहरा एफसीबीच प्रतिस्पर्धा भएको थियो।
सो खेलमा आयोजकको लेजेन्ट टिमले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक भरत घर्तीले जानकारी दिए । तेस्रो हुने आयोजक टिम र सम्सेरगन्ज बीचको खेलमा सम्सेरगन्जको टिम नआउँदा आयोजकले वाकओवर पाएर स्वतः विजयी बनेको थियो । ब्रोदर्स स्पोट्र्स क्लबका अध्यक्ष विवेकसागर पौडेलको अध्यक्षतामा सम्पन्न खेलको खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा स्थानीय खेलप्रेमी, युवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य उद्देश्य खजुरा क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्नु, युवाहरूलाई खेलप्रति आकर्षित गर्नु तथा खेलमार्फत सामाजिक एकता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक घर्तीले जनाए । प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्