इनिसा हत्या प्रकरणः आन्दोलन जारी, प्रहरी रिपोर्ट आउन ढिलाइ



नन्दराम जैशी । सुर्खेत ।

बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरी इनिसा विकको न्यायका लागि देशभर आन्दोलन जारी रहेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि प्रहरीले सत्यतथ्यसहितको अनुसन्धान रिपोर्ट सार्वजनिक नगरेपछि विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन् । इनिसाको न्यायको माग गर्दै आइतबार हुम्लामा पनि विरोध ¥याली निकालिएको छ ।

जिल्लाका नागरिक समाज, विद्यार्थी, महिला समूह तथा स्थानीयवासीको सहभागितामा सदरमुकाम सिमकोटमा ¥याली निकालिएको हो । सहभागीहरूले ‘दोषीलाई कडा कारबाही गर’, ‘इनिसालाई न्याय दे’, ‘महिलामाथि हुने हिंसा बन्द गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
सिमकोट बजार क्षेत्र परिक्रमा गर्दै निकालिएको ¥यालीपछि कोणसभा आयोजना गरिएको थियो ।

कोणसभामा वक्ताहरूले किशोरी इनिसामाथि भएको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधले समाजलाई स्तब्ध बनाएको बताएका थिए ।
यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग हुम्लाका आमाहरुले माग गरेका छन् । घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने स्थानीय विमला महताराले बताइन् ।

दोषीलाई उन्मुक्ति दिइए आन्दोलन अझ सशक्त बनाइने महिलाहरुले चेतावनी समेत दिएका छन् । यसैबीच सल्यानमा पनि इनिसाको न्यायको माग गर्दै विरोध ¥याली निकालिएको छ । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै सल्लिबजारमा स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

दोषीलाई कडा कारबाही गर्न, बलात्कारीलाई संरक्षण गर्ने प्रवृत्ति अन्त्य गर्न तथा छोरीहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्दै ¥याली निकालिएको थियो । स्थानीय समाजसेवी तुलाधर नेपालीको अगुवाइमा निकालिएको ¥यालीले सल्लिबजारका विभिन्न स्थान परिक्रमा गरेको थियो । प्रदर्शनमा किशोरी, महिला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

सहभागीहरूले बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न र अपराधीलाई संरक्षण नगर्न राज्यसँग माग गरेका छन् । उता प्रहरीले भने घटनाको अनुसन्धान वैज्ञानिक ढंगले अघि बढाइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), पोलिग्राफ विशेषज्ञ तथा सीडीआर विश्लेषकसहितका टोली सुर्खेत आएर अनुसन्धानमा जारी राखेका छन् ।

नेपालगन्जबाट आएको पोलिग्राफ टोलीले अभियुक्तहरूको बयान परीक्षण गरिरहेको छ भने प्राविधिक टोलीले मोबाइल तथा कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गरिरहेको छ । प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ भने पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ । मोबाइल लगायतका सामग्री फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।

केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल तथा बायो–सेरोलोजिकल परीक्षणका लागि नमुना पठाइएको प्रहरीले जनाएको छ । ती सबै रिपोर्ट आएपछि मात्रै घटनाको अन्तिम निष्कर्षमा पुग्ने अनुसन्धान अधिकृतहरूको भनाइ छ । भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा गरेको पोस्टमार्टम रिपोर्टमा जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अंग च्यातिनुका साथै अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुन सक्ने उल्लेख गरिएको छ ।

रिपोर्टमा यौनाङ्ग तथा भित्री भागमा गम्भीर चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको देखिएको बताइएको छ । हालसम्मको अनुसन्धानका आधारमा १६ वर्षीय एक किशोरले इनिसामाथि जबर्जस्ती करणी गरेको खुलेको छ । ती किशोरले भने इनिसा आफ्नो प्रेमिका रहेको र सहमतिमै यौन सम्बन्ध भएको बयान दिएका छन् । उनी घटनास्थलबाटै पक्राउ परेका थिए ।

सामूहिक बलात्कारबारे अनुसन्धान हुँदै

अनुसन्धानका क्रममा घटनास्थलमा इनिसाको शरीरका अन्य भागमा चोटपटक नदेखिएको तर यौनाङ्गबाट अत्यधिक रगत बगेको अवस्था भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै झोला, जुत्ता तथा मोजा राखिएको र जमिनमा रगतको दाग देखिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार करणीपछि अत्यधिक रक्तश्राव हुँदा इनिसा बेहोस भएपछि ती किशोर अत्तालिएर उनलाई तानेर केही पर समथर ठाउँमा राखेको देखिन्छ । त्यसपछि अन्य साथीहरूलाई बोलाएको बयान उनले दिएका छन् । सोही आधारमा प्रहरीले अन्य तीन नाबालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तर पीडित परिवार र अधिकारकर्मीहरूले भने इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन् । प्रहरीले भने जबर्जस्ती करणी भएको पुष्टि भए पनि सामूहिक हो वा एकल भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान करिब ६ बजे इनिसा र एक किशोर मात्र जनजागरण सामुदायिक वनतर्फ गएको देखिएको छ । अन्य किशोरहरू भने बिहान ८–९ बजेतिर मात्र त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल परिवारसँग वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन् ।

उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । बिहान करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी उनलाई प्रदेश अस्पताल सुर्खेत पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना राष्ट्रियस्तरको मुद्दा बनेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत अनुसन्धानमा सक्रिय रहेको छ । प्रहरीले सबै प्रमाण संकलन र परीक्षणपछि मात्रै घटनाबारे निष्कर्षसहितको रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ । यसैबीच भने इनिसाको न्यायको माग गर्दै देशभर आन्दोलन जारी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार