डोल्पा ।
हिमाली जिल्ला डोल्पालाई स्याउ सुपरजोन क्षेत्रका रुपमा विस्तार गर्न माग गरिएको छ । बिहीबार जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले डोल्पालाई स्याउ सुपरजोन क्षेत्रका रुपमा विस्तार गर्न माग गर्ने निर्णय गरेको हो । स्याउ सुपरजोनको रुपमा विस्तार गर्न प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिलाई माग गर्ने निर्णय भएको समन्वय समिति प्रमुख रोकायाले बताए ।
उनका अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ डोल्पाले जिल्लामा स्याउ जोन र सिमी जोन निर्माण गरेर स्तरीय काम गरिरहेको छ । तर बैठकले स्याउ सुपरजोनका रुपमा मात्रै कार्यक्रम लागू गर्न संघ र प्रदेशमा माग गर्ने निर्णय गरेको हो । ‘बैठकमा हालसम्म जिल्लाका विभिन्न ठाउँमा सञ्चालित सिमी जोन र स्याउ जोनको प्रगतिबारे समीक्षा तथा छलफल गरिएको छ,’ योकायाले भने, ‘यससँगै जिल्लाको उत्पादनलाई वृद्धि गरी बजारीकरणमा जोड दिनुपर्ने माग गरिएको छ । बैठकबाट स्याउ जोनको स्तरोन्नति गरी स्याउ सुपरजोन, बाख्रा, च्याङ्ग्राको नयाँ जोन, रैथाने बालीको नयाँ जोन माग गर्ने निर्णय गरेका हौँ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाकानिमित्त कार्यालय प्रमुख गोविन्दबहादुर मल्लले डोल्पाको हावापानी र माटोको अध्ययन गरी हावापानी र माटो सुहाउँदो फलफूल तथा बाली वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए । डोल्पामा उत्पादित स्याउ र सिमीको बजारीकरण, विविधिकरण र भण्डारणका लागि थप कार्यक्रम सञ्चालन गर्ने र सञ्चालित आयोजनालाई निरन्तरताका लागि सिफारिस गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नामले २०७६–०७७ देखि सुरु भएको हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइले हालसम्म डोल्पामा करिब १८ करोड ८१ लाख बराबरको लगानी गरिसकेको छ । डोल्पाको ठूलीभेरी नगरपालिकाका ११ वटा वडा, जगदुल्ला गाउँपालिकामा ६ वडा र त्रिपुरासुन्दरी नगरपालिकाको वडा ३ र ४ गरी १९ वटा वडामा स्याउ जोन कार्यक्रम सञ्चालनमा छ।
यता मुड्केचुला गाउँपालिकाकाका ९ वटा वडा र काईके गाउँपालिकाका ७ वडामा गरी १६ वटा वडामा दलहन बाली सिमी जोन कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले स्थापनाकालदेखि हालसम्म २१२ वटा साना सिँचाइ निर्माण गरी १२५ हेक्टर क्षेत्रफलमा सिँचाइ, १९ वटा नर्सरी स्थापना र ९२ वटा विभिन्न प्रकारका मेसिनरी सामग्री वितरण गरेको छ ।
यस्तै, १४ वटा घेराबार निर्माण, व्यवसायमार्फत दुई हजार ७३ जनालाई सिजनल रोजगारी र ४१ जनालाई पूर्ण रोजगारी र ४४३ जना कृषकलाई तालिम लगायतका विभिन्न सचेततामूलक कार्यक्रममार्फत कृषकहरुलाई अवसर दिएको बताइएको छ । जिल्लामा सञ्चालित स्याउ र सिमी जोनलाई सुपरजोनमा रुपान्तरण गर्न सम्बन्धित निकायमा पहल गरिने उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्