नेपालगन्ज ।
लुम्बिनी प्रदेशबाट पाँचवटा दलले मात्रै राष्ट्रिय दलको मान्यताका लागि आवश्यक थ्रेसहोल्ड पूरा गरेका छन् । राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ देशभरको कूल सदर मतको तीन प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । उक्त थ्रेसहोल्डअनुसार लुम्बिनी प्रदेशको समानुपातिकतर्फ कूल मतका आधारमा रास्वपा, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाले न्यूनतम तीन प्रतिशतभन्दा बढी मत पाएका हुन् ।
लुम्बिनी प्रदेशको कूल सदर मतअनुसार न्यूनतम ५९ हजार तीन सय ८० भन्दा बढी मत ल्याएमा तीन प्रतिशत थ्रेसहोल्ड पूरा हुन्छ । जसअनुसार रास्वपाले कूल १९ लाख ७९ हजार बढी मतमध्ये नौ लाख ३३ हजार तीन सय ५२ मत पाएको छ । जुन कूल मतको ४७ प्रतिशत हुन आउँछ ।
यसैगरी प्रदेशमा दोस्रो धेरै मत पाउने दल बनेको काँग्रेसले तीन लाख २८ हजार सात सय १९ मत पाएको छ भने तेस्रो बनेको एमालेले २ लाख ९६ हजार पाँच सय ४२ मत पाएको छ ।
चौथो बनेको नेकपाले एक लाख ५५ हजार दुई सय ४२ मत पाउँदा पाँचौँ बनेको राप्रपाले ८० हजार ४८ मत पाएको छ । यीबाहेक अरु दलहरुले ३ प्रतिशत मत पनि पाउन सकेनन् । प्रदेशमा २८ वटा दलहरुले एक हजारभन्दा कम मत पाएका छन् ।








प्रतिक्रिया दिनुहोस्