भोजपुर ।
टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवर्द्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार संस्कृति र प्रकृतिको संरक्षण गर्दै पदमार्गको विकास भइरहेको छ । वन क्षेत्रमा जैविक विविधता जोगाउँदै पर्यावरणमैत्री पर्यटन विकास गर्ने नीति अवलम्बन गरिएको उनले बताए ।
“प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव हुँदैन,” अध्यक्ष बस्नेतले भने, “यसैले संस्कृतिको संरक्षण र प्रवर्द्धनलाईसँगै अघि बढाएका छौँ ।” पदमार्ग क्षेत्रमा किराँत राई समुदायको संस्कार, संस्कृति र ‘मुन्दुम’ परम्परासँग सम्बन्धित संरचना, सांस्कृतिक प्रतीक र धार्मिक स्थलहरू अवलोकन गर्न सकिन्छ ।
ठुला घाँसे मैदान, चौँरी र भेडी गोठ, स्थानीय बस्तीको जीवनशैली तथा मौलिक परिकारले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो पदमार्ग पर्न थालेको छ ।
पछिल्लो समय पदमार्ग आसपास विश्रामस्थल, धारा, सूचना बोर्ड तथा पर्यटन सूचना केन्द्रजस्ता पूर्वाधार निर्माण गरिएका छन् ।गाउँपालिकाले स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जन वृद्धि गर्ने लक्ष्यसमेत लिएको छ । घरबास सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई मौलिक अनुभव प्रदान गर्ने प्रयास भइरहेको जनाइएको छ ।
प्रकृति संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै मुन्दुम पदमार्ग पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । रासस









प्रतिक्रिया दिनुहोस्