प्रतिनिधिसभा निर्वाचन–२०८२ पूर्वखेलकुदमन्त्री श्रेष्ठ र गुप्ता विजयी



काठमाडौँ ।

फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका तीन पूर्वखेलखुदमन्त्रीमध्ये दुई जना निर्वाचित हुँदा एक जना पराजित भएका छन् । चुनावअघि अन्तरिम सरकारको खेलकुदमन्त्री बनेका जेनजी मन्त्रीको रुपमा परिचित बब्लु गुप्ता विजयी भएका छन् । उनले निर्वाचन लड्न मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी सिरहा १ बाट निर्वाचित भए ।

उनले ४१ हजार ३२२ मतसहित विजेता बन्दा पुराना पार्टीमा पुराना नेताहरूलाई पछि पारे । गुप्ताको निकटतम नेपाली काँग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७७४ मत प्राप्त गरे । यस्तै पूर्वखेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पनि काठमाडौँ ८ बाट चुनाव जिते । श्रेष्ठ र गुप्ता दुवैले रास्वपाबाट निर्वाचन जितेका हुन् ।

विराजभक्त श्रेष्ठले फराकिलो अन्तरले जित हात पार्ने क्रममा २४ हजार ५९२ मत पाए । दोस्रो भएका नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्र प्राप्त गरे । श्रेष्ठ र गुप्ताको बीचमा मन्त्री रहेका नेपाली काँग्रेसका तेजुलाल चौधरी भने पराजित भए । सप्तरी ४ मा दोस्रो स्थानमा रहे । उनी रास्वपाका सीताराम शाहभन्दा पछि रहे ।

शाहले ३६ हजार ४१२ मत ल्याएर विजेता बन्दा दोस्रो भएका चौधरीले १३ हजार १०३ मत पाए । यस्तै रास्वपाबाट निर्वाचित मनिष झा, डा. अच्युतम लामिछाने पनि खेलकुद क्षेत्रसँग नजिक छन् । मनिष झा नेपाल हक्की संघका उपाध्यक्ष हुन् । रास्वपाका झाले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै जितेका हुन् ।

उनले ४३ हजार ९८८ मत प्राप्त गर्दा निकटतम निधीले १६ हजार ६५२ मत प्राप्त गरेका थिए । नुवाकोटमा नेपाली काँग्रेसका जगदिशनरसिंह केसीलाई पराजित गर्दै निर्वाचित भएका अच्युतम लामिछाने तेक्वान्दोका खेलाडी हुँदै खेलकुद विज्ञका रुपमा छन् । उनले ३२ हजार ५४ मत प्राप्त गर्दा उनका निकटतम केसीले १५ हजार ५०३ मत प्राप्त गरे ।

यसैगरी नेकपाबाट चुनाव जितेका युवराज दुलाल (शरद) पनि खेलकुदसँग नजिक छन् । उनी बागमती प्रदेशको प्रदेशसभा सदस्य हुँदा सामाजिक विकास मन्त्री बनेका थिए । त्यसबेला सामाजिक विकास मन्त्रालयले नै खेलकुद हेर्ने गथ्र्यो । पछि मात्र युवा तथा खेलकुद मन्त्रालय छुट्टै बनाइएको हो । उनी सिन्धुपाल्चोक २ बाट २१ हजार ६९८ मत ल्याएर निर्वाचित भए । उनका निकटतम नेपाली काँग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेपाल क्रिकेट संघ क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द, नेपाली राष्ट्रिय पुरुष बास्केटबल टिमका सदस्य अजय कुशवाहा र क्रिकेटमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सिना सबै पराजित भए । चन्द बैतडीमा, कुशवाह बारामा तथा तिमल्सिना राजधानी काठमाडौँमै पराजित भए । तीनैजना पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए ।

नेपाली काँग्रेसबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका क्यान अध्यक्ष चन्द एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा दोस्रो स्थानमा रहे । रास्वापका हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी बन्दा निकटतम रहेका चन्दले १८ हजार १९४ मत प्राप्त गरे । यस्तै नेपाली काँग्रेसबाटै काठमाडौँ ४ मा प्रतिस्पर्धामा उत्रिएका सचिन रास्वपाका पुकार बमभन्दा पछि पर्दै दोस्रोमा रहे ।

सचिन ८ हजार ८२४ मतसहित दोस्रो भए । यस क्षेत्रमा रास्वापका पुकार बमले २९ हजार १४२ मत प्राप्त गर्दै विजयी भए । बारा ४ मा कुशवाह पाँचौँ स्थानमा रहे । उनले जम्मा २ हजार ६६ मत प्राप्त गरे । यस क्षेत्रमा विजयी रास्वपाका रहबर अन्सारीले ४१ हजार २०० मत प्राप्त गरे । प्रत्यक्षमा बाहेक समानुपातिक सूचीमा दलहरूले बुझाएको सूचीमा पनि खेलकुदकर्मीहरू छन् ।

जसमा चर्चामा रहेको पात्र हुन् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल । उनलाई रास्वपाले नै समानुपातिक सूचीमा पुरुष आदिवासी जनजातितर्फ राखेको छ । यसबाहेक फुटबल खेलाडी पवन शाही पनि रास्वपाको समानुपातिक सूचीमा छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार