नेपालगन्ज ।
झन्डै डेढ वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका तीनजना उम्मेदवारको संघीय संसद्मा जाने सपना अधुरै भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको चुनाव लड्नका लागि लुम्बिनी प्रदेशसभा सदस्यबाट चार जनाले राजीनामा दिएका थिए ।
त्यसरी राजीनामा दिनेहरुमा बाँके–१ (क)बाट निर्वाचित तत्कालीन नेकपा माओवादी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी नमुना, दाङ–३ (ख)बाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बर्दिया – २ (ख)बाट नाउपाबाट निर्वाचित धर्मबहादुर चौधरी र रूपन्देही–४ (क) तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी हाल राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया रहेका छन् ।
त्यसरी राजीनामा दिएकामध्ये रूपन्देही– ४ बाट कन्हैया बनिया मात्रै प्रतिनिधिसभामा निर्वाचित भएका छन् । २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ (क)बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका बनियाले यसपटकको चुनावअघि उनी पार्टी र सांसदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए ।
बनिया २८ हजार ६६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार दुई ६२ मत प्राप्त पाएका छन् । तर, प्रदेशसभा सदस्यबाट राजीनामा दिई प्रतिनिधिसभा सदस्य हुन खोजेका नमुना, मास्की र चौधरीको आकांक्षा भने पूरा भएन । तत्कालीन माओवादीबाट विजयी भएकी नमुना यसपटक बाँके १ बाटै उम्मेदवार थिइन् ।
तर, उक्त क्षेत्रबाट रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार सात सय ९२ मत प्राप्त गरी निर्वाचित हुँदा केसी एक हजार दुई ४० मत मात्रै पाएर छैटौँ स्थानमा रहिन् । काँग्रेस–माओवादीसँगको गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचित भएका तत्कालीन माओवादी केन्द्र हाल नेकपामा धनबहादुर मास्की दाङ–३ बाटै उम्मेदवार थिए ।
उक्त क्षेत्रबाट रास्वपाका कमल सुवेदी ४४ हजार दुई सय ४८ मतसहित निर्वाचित हुँदा चौथो स्थानमा रहेका मास्कीले नौ हजार तीन सय २८ मतमात्रै पाएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य चुनिएका चौधरीले यसपटक उज्यालो नेपाल पार्टीमा महामन्त्री पदसहित संलग्न भई बर्दिया २ बाटै उम्मेदवारी दिएका थिए । जहाँ रास्वपाका श्रीधर पोखरेल २९ हजार ६ सय ७८ मतसहित निर्वाचित हुँदा पाँचौँ स्थानमा रहेका चौधरीले चार हजार चार सय ७२ मत मात्रै पाएका छन् ।








प्रतिक्रिया दिनुहोस्