समाचार टिप्पणीः जितिरहेका पुष्पकमल, हारिरहेका प्रचण्ड



नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) २०४६ सालदेखि निन्तर पार्टी नेतृत्वमा छन् । दश वर्षको सशस्त्र द्वन्द्वको नेतृत्व गर्दै शान्ति प्रक्रियामा आएपछि पनि निरन्तर पार्टीको प्रमुख नेताका रुपमा उनी तीनपटक त प्रधानमन्त्री नै भइसके । व्यक्तिगत रुपमा निरन्तर जितिरहेपछि उनी जुन पृष्ठभूमिबाट राजनीतिमा उदाएका थिए,जीवनको सात दशकसम्म आइपुग्दा निर्वाचन प्रक्रियामार्फत सानो आकारको पार्टीको एक प्रतिनिधिका रुपमा संसद्को किनारामा थन्किने अवस्थामा आइपुगेका छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

आफनो नामप्रति उनको टिप्पणी छ, ‘मलाई पुष्पकमल दाहालभन्दा प्रचण्ड नाम प्यारो लाग्छ ।’ उनी सशस्त्र संघर्षका सुप्रिमो कमाण्डर ‘प्रचण्ड’ हुन्् । यो नामले विद्रोहको प्रतिनिधित्व गर्छ । शान्तिपूर्ण राजनीतिमा उनको नाम ‘पुष्पकमल दाहाल’ रहन गयो । जो नामले शान्तिपूर्ण राजनीतिको प्रतिविम्बित छ । दश वर्ष लामो हतियारबन्द युद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि वैधानिक र विद्रोही नाम फ्युजन गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ राखे । उनको बाल्यकालको नाम भने छविलाल दाहाल हो ।

३६ वर्षदेखि अविछिन्न पार्टी सत्तामा रहेका पुष्पकमलले संसदीय राजनीतिमा हरेक चुनावमा अनुकूलता खोज्दै चुनाव त जितिरहेका छन् । हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएदेखि २०६४ देखि २०८२ को निर्वाचनसम्म आइपुग्दा हरेकपटक हारिरहेका छन्, प्रचण्डका रुपमा । शान्तिपूर्ण र संसदीय राजनीतिमा आएपछि उनी दुई दशकसम्म पार्टी, राष्ट्रिय राजनीति र सत्ता दाउपेचमा सधैँ शीर्षस्थानमै रहे । सायद अब नेपाली राजनीतिमा उनको भूमिका सकिएको छ ।

माक्र्सवादलाई कहिले दायाँ त कहिले बायाँ घुमाएर नेपाली राजनीतिक चर्चाको केन्द्रमा रहिरहने उनमा ‘हारेर पनि जितेको भाष्य बनाउन सक्ने’ खुबी छ । रुँदारुँदै हाँसीदिने र हाँस्दाहाँस्दै रोइदिने कला उनमा प्रशस्त छ । चरम प्रतिकूलतामा समेत पटकपटक आफूलाई सुरक्षित राख्न रणनीतिक चालबाजी गर्दै आएका उनी दर्जनबढी चुनावी क्षेत्र फेर्दै यसपटक रुकुम पूर्वमा चुनाव जिते पनि राजनीतिक हार व्यहोरेका छन्।

फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति अभूतपूर्व लहर देखिँदा उनी नेतृत्वको कम्युनिष्ट पार्टीले थ्रेस होल्ड कटाउन पनि हम्मेहम्मे पर्ने देखिन्छ । सत्ताका सिकारीको परिचय बनाएका तीनै प्रचण्ड अब सत्ता दाउपेच सरकार बनाउने र ढाल्ने राजनीतिको मूलप्रवाहबाट बहिर्गमनमा परेका छन् । आगामी सदनमा प्रतिपक्ष दलको नेता र सरकार प्रमुख कुनै पनि भूमिकामा उनी देखिने छैनन् ।

उनकै शब्दमा लोकतन्त्रका सुन्दर फूलहरु भनिएका ‘रवि र बालेन’हरुले सरकारको नेतृत्व गरिरहँदा उनी त्यसको एक साक्षी मात्रै हुनेछन् । यसपटकको निर्वाचनको प्रारम्भिक रुझान र तीनै रवि र बालेनहरुको पार्टी रास्वपा दुईतिहाइको यात्रातर्फ अग्रसर भइरहँदा नेकपाको पार्टी नेताको रुपमा उनीसहित केही नेता आगामी संसद्को पुछारमा हुनेछन् ।

पार्टीले राष्ट्रिय मान्यतासमेत पाउन सकेन भने प्रचण्डसहितका उनका पार्टीका नेताहरुको भूमिका कुनै दलीय जनप्रतिनिधिको हुनेछैन । स्वतन्त्र सांसदको रुपमा किनाराका साक्षी हुने देखिन्छ । भदौ २३ र २४ को जेनजी विद्रोहपछि आफूमाथि आइसकेको संकट मोचन गर्दै आफ्नो राजनीतिक लिगेसीको रुपमा रहेको पार्टीको नाम ‘माओवादी’ र चुनाव चिन्ह ‘गोलाकार भित्रको हँसिया हथौडा’लाई दागबत्ती दिएर आधा दर्जनबढी कम्युनिष्ट घटकहरु जोडे ।

चुनाव जित्नकै लागि हरेकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्ने पुरानो प्रवृत्ति दोहो¥याउँदै माओवादी विद्रोहको आधार इलाका मानिएको रुकुम पूर्वमा गएर उनले १० हजार २४० मत ल्याएर जितेका छन् । चुनाव जितेपछि पनि प्रचण्डले बिनाआत्ममूल्यांकन र स्वीकारोक्तिबिना जहाँ गए पनि चुनाव जित्ने ‘अजेय’ नेताको रूपमा प्रस्तुत मात्रै गरेनन् अबको एक मात्र सर्वोच्च नेता नै आफू रहेको दाबीसमेत गर्न भ्याए ।

रोल्पा र काठमाडौँ हुँदै सिरहा, चितवन, गोरखा र अहिले रुकुम पूर्वसम्म आइपुग्दा हरेकपटक निर्वाचन क्षेत्र फेरिरहने नेताको इतिहास नै बनाएका छन् । हुन पनि २०६४ पछिका हरेक चुनावमा उनी नेतृत्वको दलले मन पराएको देखिँदैन । विजय भएपछि उनले भनिदिए, ‘म नै संसद्को सिनियर नेता हुँ ।’ कुनै पनि पूर्वप्रधानमन्त्रीले नजित्दा म नै एक्लो भएँ भन्ने भनाइमा उनमा विजयभाव झल्किन्छ ।

यो चुनावमा उनको पार्टी सहसंयोजक माधव नेपालदेखि शीर्ष तहका सबै नेताले चुनाव हारेका छन् । अझ महत्वपूर्ण कुरा उनी नेतृत्वको पार्टीले हारेको छ । पार्टी नेताको रुपमा पार्टीले यो चुनावमा जुन किसिमको नतिजा ल्यायो त्यसको नैतिक जिम्मेवारी लिएर नेतृत्व त्याग्छन् भन्ने सोच्नु नै बेकार हुनेछ ।

संसदीय चुनावमा निरन्तर विजयी

२०६४ को संविधानसभा निर्वाचन माओवादीको शान्ति प्रक्रियामा आइसकेपछिको पहिलो निर्वाचन थियो । पार्टीले अध्यक्ष दाहाललाई कार्यकारी राष्ट्रपतिको रूपमा अघि सारेर चुनावमा गयो । उनको पार्टीले ‘नयाँ नेपाल’ निर्माणको सपनासहित चुनावमा होमिदा अन्य दलभन्दा संसदीय राजनीतिमा नयाँ दलको रुपमा रहेको माओवादीले बहुमत प्राप्त ग¥यो । पहिलो संविधानसभा निर्वाचनमा दुई ठाउँबाट विजयी भएका थिए ।

उनी काठमाडौँ १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधानसभाको दोस्रो निर्वाचन २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित भए भने काठमाडौँ १० बाट पराजित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भए । जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि २१ फागुन २०८२ को निर्वाचनका लागि उनी पूर्वी रुकुमबाट विजयी भएका हुन् ।

प्रचण्डका अनेक घुम्ती ः ढिकुरपोखरीदेखि रुकुम पूर्वसम्म

शीर्ष नेतृत्वको रुपमा २०४६ देखि २०८२ सम्म आइपुग्दा बाल्यकालका छविलाल, विद्रोह प्रचण्ड र संसदीय राजनीतिका पुष्पकमल हुँदै निलो क्रान्तिसम्मको एक साक्षीको रुपमा अहिलेसम्मको उनको कालखण्डको समीक्षा अपरिहार्य विषय हो । बुवा मुक्तिराम दाहाल र आमा भवानी दाहालको जेष्ठ सुपुत्रको रुपमा विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा एक किसान परिवारमा जन्मिएका हुन् उनी ।

कास्कीमा दैनिक गुजारा चलाउन धौ धौ भएपछि उनको परिवार २०१९ सालमा चितवन बसाइँ सरेको थियो । २०२६ सालमा एसएलसी, २०२९ सालमा आईएस्सी र २०३१ सालमा बीएस्सी गरेका उनको कक्षा १० मा पढ्दा छविलाल नाम परिवर्तन गरेर पुष्पकमल राखिएको थियो ।
उनले केही परियोजनामा काम गरे । केही समय अध्यापनसमेत गरेका थिए ।

उनको राजनीतिक यात्रा भने २०२८ बाट सुरु भएको थियो । उनले नेकपाको पुष्पलाल समूहबाट राजनीति सुरु गरेका थिए । २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकता भए । २०३८ सालमा अखिल नेपाल युवक संघको महासचिव र २०४० सालमा अध्यक्ष भए ।

२०४१ मा नेकपा (मशाल)को केन्द्रीय सदस्य र २०४३ मा पोलिटब्युरो सदस्य भएका उनले २०४२ सालमा नेकपा मसाल नामको पार्टी नै स्थापना गरेका थिए । २०४६ सालमा मशालको महासचिव भए भने मशाल, सर्वहारा श्रमिक संगठनसँग मिलेर २०४८ सालमा नेकपा एकता केन्द्र गठन भयो दाहाल महामन्त्री बने ।

२०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम महाधिवेशनले पार्टीको नाम परिवर्तन गरेर नेकपा (माओवादी) राख्दै उनको नेतृत्वमा पार्टीले २०५२ फागुन १ गते जनयुद्ध सुरु ग¥यो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी नेकपा (माओवादी)को अध्यक्ष भए । २०५८ मा दाहाललाई जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर घोषणा गरिएको थियो ।

२०६२ मंसिर ७ गते सात राजनीतिक दल र माओवादीबीच राजतन्त्र अन्त्य गर्नेबारे १२ बुँदे समझदारी भएको थियो । २०६३ असार २ मा बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवन त्यागी उनी सार्वजनिक भए । २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र दाहालबीच विस्तृत शान्ति सम्झौता भएको थियो । २०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले १ सय २० सिट र समानुपातिकमा २९ प्रतिशत मत ल्यायो ।

पहिलो संविधानसभाले २०६५ जेठमा गणतन्त्रको घोषणा ग¥यो । दश वर्ष सशस्त्र युद्धका सर्वोच्च कमान्डर दाहाल २०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । उनी २०६६ असार ३१ सम्म पहिलो पटक प्रधानमन्त्री रहे । दाहाल दोस्रो पटक ०७३ साउन १९ मा र तेस्रो पटक २०७९ पुस १० देखि २०८१ असार ३१ सम्म प्रधानमन्त्री भएका थिए ।

पार्टीमा निन्तर सत्तामा रहेका उनी २०६९ सालमा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष, २०७० विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित भए । २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि उनी र केपी शर्मा ओली अध्यक्ष भए ।

दुई अध्यक्षबीच शक्ति संघर्ष चुलिइरहेकै बेला २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा पुगे । प्रचण्ड फेरि नेकपा (माओवादी केन्द्र)को अध्यक्ष भए । २०७८ पुसमा महाधिवेशनबाट उनी पुनः अध्यक्षमा चयन भए । २०८२ मंसिरमा नेकपा एकीकृत समाजवादीसँग एकतापछि निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले दुई दर्जन दल र समूहसँग एकता गरिसकेका छन् । २०४६ सालदेखि हालसम्म ३६ वर्ष उनी निरन्तर नेतृत्वमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार