डा. भीमबहादुर चन्द भन्छन्ः‘तथ्य र प्रमाणका आधारमा अयोग्य ठहरिए एक मिनेटमै राजीनामा दिन्छु’



कैलाली ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रार डा. भीमबहादुर चन्दले चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीलाई लक्षित गर्दै विस्तृत खुला प्रश्न सार्वजनिक गरेका छन् । उनले आफू खुला प्रतिस्पर्धाबाट पहिलो स्थानमा छनोट भई नियुक्त भएको दाबी गर्दै कुनै तथ्य, कानुनी आधार वा प्रमाणबिना आफ्नो राजीनामा माग्नु न्यायसंगत नभएको बताएका छन् । साथै, यदि आफू अयोग्य भएको स्पष्ट कानुनी आधार र लिखित निष्कर्ष प्रस्तुत गरिए एक मिनेटभित्रै पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

डा. चन्दले आफ्नो वक्तव्यमा रजिस्ट्रार पद आफ्नो व्यक्तिगत प्रतिष्ठा, सुविधा वा स्वार्थको विषय नभएको उल्लेख गर्दै आफूलाई काम सुरु गरेको पाँच दिनमै पद त्याग्न दबाब दिनुको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले भनेका छन् कि यदि खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट ठहरिएको व्यक्तिलाई काम गर्ने अवसरसमेत नदिई राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुन्छ भने त्यसको तथ्यगत, कानुनी र नैतिक आधार नेपाली जनतासामु स्पष्ट पारिनुपर्छ ।

उनले आफ्नो पृष्ठभूमिबारे उल्लेख गर्दै आफू सुदूरपश्चिमको एक सामान्य किसान परिवारमा जन्मिएको व्यक्ति भएको, सीमित अवसरका बीच अध्ययन गर्दै चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन तथा संस्थागत नेतृत्व क्षेत्रमा करिब तीन दशक काम गरेको बताएका छन् । वरिष्ठ लेखापालदेखि प्रमुख कार्यकारी अधिकृतसम्म विभिन्न जिम्मेवारी सम्हालेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी बोर्ड सदस्य तथा गेटास्थित स्वास्थ्य विज्ञान संस्थाको कार्यकारी परिषद् सदस्यका रूपमा समेत काम गरेको अनुभव आफूले हासिल गरेको उनले उल्लेख गरेका छन् ।

डा. चन्दका अनुसार चिकित्सा शिक्षा क्षेत्रका समस्या, चुनौती, विकृति र सुधारका सम्भावनालाई उनले बाहिरबाट मात्र नभई संस्थाभित्र बसेर नजिकबाट बुझेका छन् । त्यही अनुभव र ज्ञान आफ्नै जन्मभूमि सुदूरपश्चिमको सेवामा प्रयोग गर्ने उद्देश्यले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रार पदका लागि खुला प्रतिस्पर्धामा सहभागी भएको उनको भनाइ छ । उनले शिक्षा मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक विज्ञापनअनुसार १९ जना उम्मेदवारबीच भएको खुला प्रतिस्पर्धामा आफू मूल्यांकन प्रक्रियाबाट पहिलो स्थानमा छनोट भएको दाबी गरेका छन् ।

आफू कुनै राजनीतिक नियुक्ति, पारिवारिक पहुँच, व्यक्तिगत प्रभाव वा बन्द कोठाको निर्णयबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त भएको उल्लेख गर्दै आफ्नो योग्यतामाथि प्रश्न उठाउनेहरूलाई प्रमाणसहित बोल्न आग्रह गरेका छन् । वक्तव्यमा उनले डा. गोविन्द केसीसमक्ष केही प्रत्यक्ष प्रश्न पनि राखेका छन् । एउटै विज्ञापनअन्तर्गत प्रतिस्पर्धा गरेका अन्य उम्मेदवार योग्य हुने तर पहिलो स्थानमा छनोट भएको व्यक्ति मात्रै अयोग्य कसरी हुने भन्ने प्रश्न उनले उठाएका छन् ।

यदि नियुक्तिमा कानुनी वा प्रक्रियागत त्रुटि भएको हो भने त्यसको प्रमाण सार्वजनिक गर्नुपर्ने, योग्यता अपुग भएको भए कुन कानुन र कुन मापदण्डका आधारमा अपुग भएको स्पष्ट गर्नुपर्ने उनको माग छ । त्यस्तै, आफ्नो विगतको कार्यकालमा कुनै अनियमितता भएको वा नियुक्तिमा स्वार्थको द्वन्द्व रहेको प्रमाणित भए निष्पक्ष छानबिनको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको उनले बताएका छन् । तर कुनै प्रमाण प्रस्तुत नगरी केवल ‘स्वार्थको द्वन्द्व’ भन्ने आरोप लगाएर आफ्नो पदको बलिदान माग्नु न्याय हो कि व्यक्तिगत पूर्वाग्रह भन्ने प्रश्न पनि उनले गरेका छन् ।

डा. चन्दले डा. केसीको चिकित्सा शिक्षा सुधार अभियानप्रति सम्मान व्यक्त गर्दै सुधारका नाममा कसैमाथि आरोप लगाउँदा अझ बढी जिम्मेवारी, निष्पक्षता र तथ्यपरकता आवश्यक हुने बताएका छन् । दशकौँको व्यावसायिक यात्रा, अनुभव र खुला प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिलाई तथ्य र प्रमाणबिना अस्वीकार गर्नु सुधार नभई अर्को प्रकारको अन्याय हुने उनको तर्क छ । उनले सुदूरपश्चिमको प्रतिनिधित्व र अवसरको विषय पनि उठाएका छन् ।

‘के सुदूरपश्चिमको नागरिक भएकै कारण म अयोग्य भएको हुँ ?’ भन्दै उनले प्रश्न गरेका छन् । गेटास्थित विश्वविद्यालय वा स्वास्थ्य संस्थामा निर्देशक, उपकुलपति, रेक्टर वा रजिस्ट्रारमध्ये कोही पनि सुदूरपश्चिमकै नागरिक हुनु नहुने हो भन्ने आशयका प्रश्न पनि उनले गरेका छन् । उनका अनुसार सुदूरपश्चिमका नागरिकले दशकौँदेखि गुणस्तरीय चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको अभाव भोग्दै आएका छन् । आज पनि धेरै नागरिक उपचारका लागि काठमाडौं वा भारतका विभिन्न सहर पुग्न बाध्य छन् ।

गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको लामो संघर्ष, त्याग र अपेक्षासँग जोडिएको संस्था भएकाले यसको नेतृत्व योग्यता, अनुभव, इमानदारी र स्थानीय यथार्थ बुझ्ने व्यक्तिबाट हुनुपर्ने उनले बताएका छन् । डा. चन्दले आफू नियुक्त भएको पाँच दिनमै आफ्नो कार्यक्षमताको मूल्यांकन कसरी सम्भव भयो भन्ने प्रश्न पनि उठाएका छन् । आफूले कुन निर्णयमा अनियमितता गरेको, कुन जिम्मेवारी पूरा गर्न नसकेको वा विश्वविद्यालय तथा सार्वजनिक हितविपरीत कुन काम गरेको भन्ने विषयमा स्पष्ट आरोपसमेत नरहेको अवस्थामा आफ्नो चरित्र, योग्यता र नियतमाथि प्रश्न उठाउनु अन्यायपूर्ण भएको उनको भनाइ छ ।

सार्वजनिक पदमा बसेकाले आफ्नो काम, निर्णय र आचरणमाथि प्रश्न उठाउने अधिकार सबै नागरिकलाई रहेको स्वीकार गर्दै उनले निष्पक्ष छानबिन, सार्वजनिक परीक्षण र कानुनी प्रक्रियाबाट भाग्ने व्यक्ति आफू नभएको बताएका छन् । बरु आफ्नो नियुक्ति प्रक्रिया, योग्यता, अनुभव र विगतको भूमिकाबारे आवश्यक छानबिन गर्न आफू स्वयंले आग्रह गरेको उनले उल्लेख गरेका छन् । तर छानबिन आरोपका आधारमा नभई तथ्यमा आधारित हुनुपर्ने, निर्णय व्यक्तिगत दबाबबाट नभई कानुनअनुसार हुनुपर्नेमा उनले जोड दिएका छन् ।

डा. चन्दले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरू, शिक्षामन्त्री र नेपाल सरकारलाई पनि सम्बोधन गर्दै यदि आफू रजिस्ट्रार पदका लागि अयोग्य भएको निष्कर्षमा पुगेका छन् भने त्यसको स्पष्ट कारण र आधारसहित लिखित निर्णय उपलब्ध गराउन आग्रह गरेका छन् । ‘सरकार र सम्बन्धित निकायबाट ‘डा. भीमबहादुर चन्द रजिस्ट्रार पदका लागि अयोग्य छन्’ भन्ने लिखित निष्कर्ष प्राप्त भएको एक मिनेटभित्र म राजीनामा दिनेछु,’ उनले बताएका छन् ।

उनका अनुसार पदमा बस्ने वा नबस्ने विषय व्यक्तिगत आग्रह वा दबाबको आधारमा होइन, विधि, प्रमाण र जिम्मेवारीसहितको संस्थागत निर्णयका आधारमा तय हुनुपर्छ । यदि आफ्नो योग्यता, अनुभव र खुला प्रतिस्पर्धाबाट भएको छनोटप्रति सरकार विश्वस्त छ भने खुला प्रतिस्पर्धाको मर्यादा, विधिको शासन, सुदूरपश्चिमको सम्मान र संस्थागत न्यायको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने जिम्मेवारी पनि सरकारकै हुने उनले उल्लेख गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार