दार्चुलाका दुई मतदान केन्द्रमा निर्वाचन बहिष्कार



नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् ।

दार्चुला ।

जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् । यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।

स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे । गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ ।

बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए । उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेका कारण कर्मचारीले हालेको समानुपातिकतर्फको मात्रै मत लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।

प्रत्यक्षतर्फको मतपेटिका रित्तो लिएर झस्कुबाट हिँडेका छौँ । यो मतदान केन्द्रमा ३४६ जना मतदाता थिए’ उनले भने । नागुबासीले एक महिनादेखि नागुमा सडक लगायतका विकास निर्माणको माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । नागुबासीलाई फकाउन राजनीतिक दलले सार्वजनिक अपिल, भर्चुअल संवादसमेत गरेका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि स्थानीयसँग छलफल गरेका थिए । यहाँका स्थानीयलाई बुधबारमात्रै पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले नागु पुगेर छलफल गरेका थिए । तर स्थानीय आफ्नो अडानबाट टसमस भएनन् । माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत् राखेको कारण मतपेटिका रित्तो फर्काइदिएको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए ।

‘यो नेता र सरकारप्रतिको आक्रोश पोखिएको हो,’ उनले भने । यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका थिए । २०७४ सालमा भएको वडा विभाजनले वडा नम्बर ३ का अधिकांश वस्तीलाई अपायक ठाउँमा वडा कार्यालय रहेको भन्दै वडा विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरेका कारण स्थानीय मतदानमा सहभागी नभएको स्थानीय कमलसिह रोकायाले जानकारी दिए ।

यहाँका झुस्कु, चौड, छविस, भट्टार गाउँका मतदाताले भोट नहालेका हुन् । ‘हरेक पाँच वर्षमा हुने पर्व मनाउने तीव्र इच्छा हुँदाहुँदै पनि दैनिकजसो सेवा लिनुपर्ने मुकाम एक बास बस्नुपर्ने पीडाले मत हाल्न मानेन्,’ स्थानीय नरहरि ठेकरले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार