शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न



थोरै मतदाता भएका निर्वाचन क्षेत्रको नतिजा तथा अन्य निर्वाचन क्षेत्रको प्रारम्भिक विवरण आजदेखि नै आउनेछ । निर्वाचनको पर्यवेक्षण गरेका विश्लेषकहरूले यसपटकको निर्वाचनमा मुख्यगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।


काठमाडौँको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुहुँदै ८९ वर्षीया ज्येष्ठ नागरिक पुष्पा राणा । तस्बिर : नवीन पौडेल/रासस

काठमाडौँ ।

प्रतिनिधिसभाको मध्यावधि निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन निर्धारित अवधिभन्दा करिब दुई वर्ष छिटो भएको हो । गएको भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी प्रदर्शनका कारण मध्यावधि निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।

मध्यावधि निर्वाचन गर्ने अवस्था नआएको भए २०८४ मा प्रतिनिधिसभाको निर्वाचन हुने तालिका थियो । निर्वाचन आयोगका अनुसार निर्वाचन सम्पन्न भएलगत्तै अधिकांश स्थानमा मतपेटिका संकलन सुरु भइसकेको छ । मतपेटिकाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनाले पाएको छ । मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने आयोगले जनाएको छ ।

थोरै मतदाता भएका निर्वाचन क्षेत्रको नतिजा तथा अन्य निर्वाचन क्षेत्रको प्रारम्भिक विवरण आजदेखि नै आउने अपेक्षा गरिएको छ । यसपटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कूल २७५ सिटका लागि ६ हजार पाँच सय ४१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ सिटका लागि ३ हजार चार सय ६ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा तीन हजार १७ पुरुष, तीन सय ८८ महिला र एक जना अन्य लिंगका उम्मेदवार छन् ।

समानुपातिकतर्फ ११० सिटका लागि तीन हजार एक सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ एक हजार तीन सय ६३ पुरुष र एक हजार सात सय ७२ महिला उम्मेदवार छन् । निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकोमा एक करोड १३ लाख जतिले मतदान गरेको आयोगले जनाएको छ । यो कूल मतदाताको करिब ६० प्रतिशत हो ।

कूल मतदातामध्ये पुरुषको सङ्ख्या ९६ लाख ६३ हजार र महिलाको सङ्ख्या ९२ लाख ४० हजार रहेको छ । मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएका थिए । त्यस्तै निर्वाचनमा खटिने कर्मचारीका लागि एक सय ४३ अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो ।

निर्वाचन सुरक्षाका लागि करिब ८० हजार नेपाली सेना, ७६ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी, दुई हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा साढे एक लाख निर्वाचन प्रहरी खटेका थिए । त्यस्तै मतदान प्रक्रिया सञ्चालन गर्न देशभर करिब २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको थियो । यसपटकको निर्वाचनमा विशेषगरी सुशासन, भ्रष्टाचारविरुद्धका अभियानलाई उम्मेदवारहरूले नारा बनाएका थिए ।

नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीको सरकार बनेको खण्डमा २०४६ पछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुने र त्यसको सुरुवात पूर्वप्रधानमन्त्री एवं काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाबाट गरिने चुनाव प्रचारप्रसारको क्रममा बताएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि देशमा सुशासनको आवश्यकता रहेको जनाउँदै आफ्नो पार्टी विजयी हुँदा सुशासनलाई जोड दिइने बताउँदै आएका छन् ।

पटकपपटक सत्ताको नेतृत्व गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले पनि देशका धेरै पक्षमा काम गर्न बाँकी रहेकाले आफ्नो पार्टीको पक्षमा मत मागेका थिए । निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश राजनीतिक दल र तिनका उम्मेदवारले प्रतिबद्धतापत्र तथा निर्वाचन प्रचारप्रसारको क्रममा देशमा आर्थिक समृद्धिको आवश्यकतामाथि जोड दिँदै त्यसका लागि आफू र आफ्नो दल सफल रहेको दाबी गरेका थिए ।

यद्यपि निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश राजनीतिक दल तथा तिनका उम्मेदवारले देशमा सुशासन कायम गर्न तथा आर्थिक समृद्धिको बाटोमा अघि बढ्न कोरा नारा दिनुभन्दा पनि स्वयम् आफूले गर्ने व्यवहार सुधारको पक्षमा खासै कुरा गरेको देखिएन । विज्ञहरूले भने यतिखेर देशमा कोरा कुरा मात्र भन्दा पनि ठोस योजना र इमान्दारिता आवश्यक रहेको बताउँदै आएका छन् ।

‘देशमा यो÷त्यो कुरा आवश्यक छ भन्नु भन्दा पनि समृद्ध मुलुक बनाउन उम्मेदवारले के गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको यसपटकको निर्वाचनमा पनि देख्न पाइएन,’ अर्थशास्त्री शिव अधिकारीले भने । निर्वाचनको पर्यवेक्षण गरेका विश्लेषकहरूले यसपटकको निर्वाचनमा मुख्यगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

६० प्रतिशत मतदानः निर्वाचन आयोग

निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा करिब ६० प्रतिशत मत खसेको बताए । बिहीबार मतदान प्रक्रिया सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले विशेष परिस्थितिमा घोषणा गरिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि समग्र प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको बताए । देशका विभिन्न स्थानबाट पूर्ण विवरण संकलन हुने क्रम जारी रहेको आयोगले जनाएको छ ।

मतदाताको उत्साहपूर्ण सहभागिता

जेनजी पुस्ता मुख्य केन्द्रबिन्दु बनेको बिहीबार सम्पन्न निर्वाचनमा शताब्दी कटेका नागरिकहरूलेसमेत भोट हालेका छन् । भदौ २३ र २४ को जेनजी विद्रोहपश्चात् बिहीबार भएको निर्वाचनमा जेनजी पुस्तादेखि एक शताब्दी नाघेका मतदाताहरूले समेत उत्साहपूर्ण रूपमा मतदान गरेका हुन् । त्यतिमात्रै नभएर अपांगता भएका व्यक्ति, आफैँ हिडडुल गर्न नसक्नेदेखि किरियापुत्रीहरूले समेत निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाए ।

फागुन २१ को निर्वाचनमा मतदान गर्ने सबैभन्दा पाको उमेरका मतदाता हुन्, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाअन्तर्गत धनगढीका जनकलाल दहाल । १ सय ७ वर्षका उनले पञ्चोदय माध्यामिक विद्यालय मतदान केन्द्रबाट भोट हालेका छन् । अछामको बन्निगढी जयगढ गाउँपालिका–६ दर्नास्थित ऐश्वर्य माध्यमिक विद्यालय मतदान केन्द्रबाट १ सय ७ वर्षकी कमलादेवी शाहीले मतदान गरेकी हुन् ।

यस्तै, सुदूरपश्चिमकै भीमदत्त नगरपालिका–१० स्थित सिद्धनाथ माध्यमिक विद्यालय जिमुवा मतदान केन्द्रबाट १ सय ६ वर्षका गंगादत्त भट्टले मतदान गरेका हुन् । उदयपुरगढी नगरपालिका–६ जगरेटारका १ सय २ वर्षका अमृतबहादुर कार्की नेपालटार माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हाले । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी निवासी ९८ वर्षीय बालानन्द खतिवडाले मूलपानीको राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेका हुन् ।

रामेछापमा १ सय ६ वर्षीया मन्थली नगरपालिका–१२ की मानकुमारी पाण्डेले मन्थली नगरपालिका–१२ स्थित गेलुमा रहेको मावि सिक्राल केन्द्रबाट मतदान गरेकी हुन् । यस्तै काठमाडौँ १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् । १० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्याँपेरै मतदानस्थल पुगेकी थिइन् । रञ्जुले काठमाडौँ १ को वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा मतदान गरेकी हुन् । रञ्जुलाई गत फागुन १२ गते पुत्रलाभ भएको थियो । देशभरका विभिन्न जिल्लामा अपांगताका भएका व्यक्तिहरूले समेत परिवारका सदस्यहरूको सहयोगमा मतदान गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार