काठमाडौँ ।
जेनजी प्रदर्शनपछिको प्रतिनिधिसभा निर्वाचनको महासंग्राम भीडन्त आज (बिहीबार) हुँदैछ । एक सय ६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दलका तीन हजार चार सय ६ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा, व्यवस्थापन र समन्वयका सबै पक्ष सुदृढ पारिएको उल्लेख गर्दै ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । र, आवश्यक जनशक्ति तथा सामग्री सम्बन्धित मतदान स्थलसम्म पु¥याइसकिएको जनाएको छ ।
बुधबार मन्त्रालयमा आयोजित भर्चुअल बैठकमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीसँग तयारी अवस्थाबारे समीक्षा गरिएको थियो । गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए । बैठकले निर्वाचन सुरक्षादेखि व्यवस्थापकीय समन्वयसम्मका विषयमा विस्तृत जानकारी लिएको थियो । मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार छलफलमा प्रत्येक जिल्लाबाट निर्वाचनको तयारी अवस्था, सुरक्षा संवेदनशीलता र सम्भावित चुनौतीबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सबै जिल्लाबाट हालसम्मको सुरक्षा अवस्था सामान्य रहेको र मतदानका लागि आवश्यक कर्मचारी तथा सामग्री सुरक्षित रूपमा मतदान केन्द्रमा पुगेको जानकारी गराइएको उनले बताइन् । गृहसचिव श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय प्रशासनलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिए । उनले सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय कायम राख्दै मतदानको दिन कुनै अवाञ्छित गतिविधि हुन नदिन आग्रह गरे ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ तीन हजार चार सय ६ र समानुपातिकतर्फ तीन हजार एक सय ३५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रत्यक्षतर्फ पुरुष उम्मेदवार तीन हजार १७, महिला तीन सय ८८ र अन्य लिंगका १ जना उम्मेदवार छन् । समानुपातिक सूचीमा भने पुरुष एक हजार तीन सय ६३ र महिला एक हजार सात सय ७२ उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार देशभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाइसकिएको छ भने कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको बहुतह सुरक्षा संयन्त्रमार्फत मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको आयोगले छ ।
यस निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीमार्फत प्रतिनिधिसभाका सदस्य चयन गरिनेछन् । दलहरूले चुनावी अभियानका क्रममा रोजगारी सिर्जना, सुशासन, शिक्षा–स्वास्थ्य सुधार, पूर्वाधार विकास, संघीयता कार्यान्वयन र महँगी नियन्त्रणजस्ता मुद्दा अघि सारेका छन् ।
युवापुस्ताको बढ्दो वैदेशिक पलायन, कृषि क्षेत्रको अवनति र निजी क्षेत्रको लगानी घट्दो अवस्थालाई समाधान गर्ने प्रतिबद्धता पनि दलहरूले जनतासामु व्यक्त गरेका छन् । मतदाता शिक्षा कार्यक्रममार्फत बदर मत घटाउने, मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने तथा पहिलोपटक मतदान गर्न लागेका युवालाई सहभागी गराउने प्रयास गरिएको आयोगले जनाएको छ ।
यसपटक सामाजिक सञ्जालको प्रभावसमेत उल्लेखनीय रूपमा देखिएको छ, जसले मतदाताको धारणा निर्माणमा भूमिका खेलेको विश्लेषण गरिएको छ । निर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकसमेत परिचालन गरिएका छन् । पारदर्शिता र विश्वसनीयता कायम राख्न मतगणना प्रक्रिया सार्वजनिक रूपमा सञ्चालन गरिनेछ ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म
मतदान बिहीबार ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मौसम अनुकूल रहेकाले अधिकांश स्थानमा उत्साहजनक मतदान हुने अपेक्षा गरिएको छ । लोकतन्त्रको सुदृढीकरणका लागि जनताको सक्रिय सहभागिता अपरिहार्य मानिन्छ । यस निर्वाचनले आगामी पाँच वर्षका लागि देशको नीति, कार्यक्रम र नेतृत्वको दिशा निर्धारण गर्ने भएकाले राजनीतिक दल मात्र होइन, आम नागरिकका लागि पनि यो अवसर महत्वपूर्ण मानिएको छ ।
निर्वाचन सम्पन्न भएलगत्तै मतगणना गरिने आयोगले जनाएको छ । शान्तिपूर्ण निर्वाचनका लागि ८० हजार सेना, ७१ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र सहयोगीको रूपमा निर्वाचन प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटिएका छन् ।









प्रतिक्रिया दिनुहोस्