शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
खाडी मुलुक बहराइनमा दुई वर्षअघि रोजगारीका लागि गएका थिए जुम्लाका डिल्ली कामी । त्यहाँ उनी एक निजी कम्पनीमा सेक्युरिटी गार्डका रुपमा काम गर्छन् । शनिबार अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्व अहिले अशान्त छ । तीन दिनदेखि जारी युद्धमा इरानले आफूमाथि गरेको आक्रमणको बदलामा खाडी मुलुकुहरु युएई, कतार, कुवेत र बहराइनमा आक्रमण गरेको थियो । उक्त आक्रमणको उनी प्रत्यक्षदर्शी हुन् ।
उनी भन्छन्, ‘शनिबारदेखि सुरु भएको युद्धले मन अशान्त भएको थियो । अहिले त हामी भएकै ठाउँ नजिकै आक्रमण भयो । निकै त्रास छ । कति बेला के हुने हो थाहै छैन ।’ उनका अनुसार तीन दिनदेखि सिंगो देशभरी अस्तव्यस्त अवस्था सिर्जना भएको छ । इरानले बहराइनस्थित अमेरिकी सैन्य शिविर र विमानस्थलहरुलाई लक्षित गरेर प्रहार गरिरहेको छ । आइतबार त आफूहरु बसिरहेको अपार्टमेन्टदेखि करिब पाँच किलोलोमिटर टाढा हवाई आक्रमण भएको उनको भनाइ छ ।
‘हामी बसेको ठाउँ नजिकै आक्रमण भयो । आक्रमणका कारण यस्तो चर्को आवाज सुनिएको थियो कि अहिले त सानो स्वरले कसैले बोलाउँदा कानै सुन्दिनँ ।’ आक्रमणलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ पोष्ट नै हालेका थिए । ३० सेकेण्डको भिडिओमा निकै ठूलो आवाज र बाक्लो बादल मडारिएको देखिन्थ्यो । मानिसहरु ठूलो ठूलो स्वरमा चिच्याइरहेका थिए । उनको चित्कार छ, ‘यस्तो अवस्था जिन्दगीमा कहिल्यै भोगिएको थिएन । यहाँ कतिबेला ज्यान जान्छ भन्नै सकिन्नँ । आफ्नो मात्रै होइन परिवारको चिन्ताले झन सताउँछ ।’
त्यहाँ तनावपूर्ण स्थिति सिर्जना भएपछि जो जहाँ छ, त्यहीँ सुरक्षित रहन र बाहिर ननिस्कन सरकारले आह्वान गरेको छ । उनको जस्तै अवस्था छ संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका बखत रोकायाको । आइतबार मात्रै त्यहाँ इरानको आक्रमणमा परी पाकिस्तान, बंगलादेश र नेपाली गरी तीन जनाको मृत्यु भएको थियो । यूएईको आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
यूएई सरकारले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई मृतकबारे जानकारी उपलब्ध गराएको हो । आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको मृत्यु भएको बताइएको छ । उनी सुरक्षा गार्डको रूपमा कार्यरत थिए । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै रोकायाले भने, ‘हिजो एकजना हाम्रै नेपाली दाईको ज्यान गएको सुनिएको छ ।
हामी बसेको नजिकै पनि निरन्तर आक्रमण भइरहेको छ । रातभरी आकाशमा सुनिने आवाजले सुत्नै सकिँदैन । ड्युटी रोकिएको छ । यहाँको अवस्था हेर्दा कतिबेला श्वास रोकिने हो थाहै छैन ।’ दुबई सहरमा संग्रहालयमा कार्यरत मुनप्रसाद पराजुलीको चिन्ता पनि उस्तै छ । उनी कार्यरत कम्पनीले यस्तो बेलामा बिदा नै दिएको छैन । उनी कार्यरत संग्रहालय नजिकै छ । अमेरिकी दूतावासको आवासीय भवन रहेको छ ।
इरानले अमेरिकी संरचनाहरुलाई लक्षित गरेर आक्रमण गरेका कारण आफूहरु निकै जोखिमयुक्त क्षेत्रमा ड्युटी गरिरहेको उनले बताए । ‘के गर्ने अर्काको देशमा आइएको छ । काममा जान्नँ भन्न पनि मिल्दैन । जाउँ त्यस्तो जोखिमपूर्ण स्थिति छ । यस्तो अवस्थामा आफ्नो ज्यान सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्नेबाहेक अर्को विकल्प छैन्,’ उनले भने । आफूहरु नेपाल आउन चाहेको र त्यसको लागि सरकारले सहजीकरण गरोस् भन्ने चाहना रहेको पनि उनको भनाइ थियो ।
इरानले दुबईमा रहेको ब्रुज खलिपामा समेत ड्रोन आक्रमण गरेको छ । त्यहाँ सातौँ तलामा अमेरिकी मामिला हेर्ने अधिकारीको कार्यालय रहेको छ । आबुधाबीस्थित नेपाली राजदूतावासले यूएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई विषम परिपस्थितिमा संयमता अपनाउन र सुरक्षित रहन अपिलसमेत गरेको छ । यसैगरी खाडी मुलुक कतारमा रोजगारीको सिलसिलामा रहेका अंगत सुनार पनि कतारको अवस्था अहिले तनावग्रस्त रहेको बताउँछन् ।
उनले आफू ड्युटीमा रहेको बेला हमला भएको बताए । ‘सेकेन्ड सेकेन्डमा प्रहार भइरहेको छ । आवाज पनि यति चर्को आउँछ कि खानै फुट्लाजस्तो हुन्छ । कति बेला के हुने हो भन्ने पिरले सताउँछ,’ उनले भने । इरानमा रहेका विमानस्थलहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरिरहेको छ । इरानले कतारमाथि मिसाइल आक्रमण गरेको थियो ।
कतारको गृह मन्त्रालयले इरानले कतारमाथि हमाल गरेको पुष्टि गर्दै ६६ वटा मिसाइल प्रहार गरेको र देशभरका कूल ११४ स्थानमा मिसाइलका छर्रा खसेको गृह मन्त्रालयले टेलिभिजन सम्बोधनमार्फत जानकारी दिएको हो । यस्तै, कतारको पराराष्ट्र मन्त्रालयले कतारमाथिको हमला लापरबाहीपूर्ण र गैरजिम्मेवारपूर्ण रहेको प्रतिक्रिया दिएको छ ।
इरानले सोमबार मात्रै साउदी अरेबियाको विशाल तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । कतारी विश्व च्यानल अल जजिराका अनुसार साउदी अरबको पूर्वी भागमा रहेको रास तनुरामा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएको हो । त्यहाँ रहेका मुनबहादुर विष्टले ठूलो विस्फोटका आवाजहरु सुनिएको बताएका छन् । त्यहाँ करिब ४ लाख जति नेपाली कामदार कार्यरत रहेका छन् ।
यतिमात्रै होइन अन्य खाडी मुलुकमा समेत नेपाली कामदार रोजगारीको सिलसिलामा पुगेका छन् । यूएईमा पनि सुरक्षा सतर्कता बढाइएको छ र सम्भावित जोखिम ध्यानमा राख्दै जनतालाई बाहिर ननिस्कन आग्रह गरिएको छ । विभिन्न देशहरुका केही स्थानमा श्रमिकलाई अस्थायी रूपमा कामबाट बिदा दिइएको छ भने स्थानीय प्रशासनले घरभित्रै सुरक्षित बस्न निर्देशन दिएको छ ।
यसैगरी, खाडी मुलुकमा रहेका नेपाली राजदूतावासहरुले समेत एड्भाइजरी जारी गर्दै सतर्क रहन अपील गरेका छन् । मध्यपूर्वमा बढ्दो तनावपछि नेपाल सरकारले आवश्यक तयारी अघि बढाएको जनाएको छ । सरकारले खाडी मुलुकहरूमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार श्रम स्वीकृति दिने कार्य स्थगित गरिएकोे श्रम मन्त्रालयमा रहेको कल सेन्टर स्थापना गरिएको छ । सरकारले तनाव बढ्दै गएको खण्डमा नेपालीको उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीच युद्धका कारण उत्पन्न परिस्थिति झन् तनावग्रस्त बन्दै गएको छ ।
युएईमा मारिने गोरखाका दिवस श्रेष्ठ
संयुक्त अरब इमिरेट्स (युएई)मा इरानको ड्रोन आक्रमणका क्रममा मारिने नेपालीको परिचय खुलेको छ ।युएईस्थित नेपाली राजदूतावासले सोमबार सार्वजनिक गरेको विवरणअनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ हुन् । युएईको विदेश मन्त्रालयबाट प्राप्तसूचनाका आधारमा उनको परिचय पुष्टि गरिएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ‘मिडिल इस्ट’ नामक कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत श्रेष्ठ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको निधन भएको हो । घटनामा अन्य दुई जनाको पनि ज्यान गएको थियो ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि बढेका तनावका कारण खाडी मुलुकमा काम गर्ने करिब १८ लाख नेपाली त्रासमा छन् । ती मुलुकको द्वन्द्वले कुन रूप लिन्छ भन्नेबारे अझै प्रष्ट छैन । अधिकारीहरूले नेपालीहरूलाई आफू बसोबास गरिरहेको स्थानमा सुरक्षित रहन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भनिन्, ‘सरकार तपाईँको साथमा छ’
प्रधानमन्त्री सुशीला कार्कीले इरान–अमेरिका युद्धका कारण सुरक्षा चिन्तामा रहेका नेपालीको साथमा सरकार रहेको बताएकी छन् । नेपाली जहाँ रहे पनि उनीहरूको सुरक्षाप्रति सरकार कटिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले नेपाली जहाँ रहे पनि सरकार साथमा रहने बताइन् ।
‘हामी हरदम तपाईँहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । खाडी देशहरूमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको कार्कीले बताइन् ।
अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि त्यस क्षेत्रमा युद्धको संकट गहिरिएको र त्यसले सरकारलाई चिन्तित बनाएको उनको भनाइ छ । सरकारले विकसित घटनाक्रमलाई सूक्ष्म रूपमा नियालिरहेको बताएकी छन् ।
खाडी मुलुक ः जहाँ छन् २० लाख नेपाली
रोजगारीको सिलसिलामा खाडी मुलुकहरुमा लाखौँ नेपाली खाडी मुलुकमा छन् । शनिबारदेखि सुरु भएको अमेरिका–इजरायल र इरान युद्धका कारण दर्जनबढी खाडी मुलुकमा रहेका नेपाली कामदार प्रभावित भएका हुन् । तीन देशबीचको युद्धका कारण सबैभन्दा बढी प्रभावित भएको यूएईमा सबैभन्दा धेरै नेपाली कामदार रहेका छन् र परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ मात्रै सात लाख नेपाली नागरिक रोजगारीका लागि पुगेका छन् ।
त्यसपछि खाडी मुलुकमध्ये धेरै नेपाली रहेको मुलुक आउदी अरेबिया हो । जहाँ कूल ३ लाख ८४ हजार ८६५ नेपाली रहेका छन् । यस्तै कतारमा ३ लाख ५७ हजार, कुवेतमा १ लाख ७५ हजार नेपाली छन् । इराकामा ३० हजार, बहराइनमा २८ हजार र ओमनमा २५ हजार नेपाली कामदार रहेका छन् । साइप्रसमा १७ हजार, इजरायलमा ६ हजार ५ सय, लेबननमा १ हजार ५ सय इजिप्टमा ५ सय जना नेपाली रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्