नन्दराम जैशी । सुर्खेत ।
हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नं–६ लिमीका तीन मदतान केन्द्रमा हेलिकोप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पु¥याइएको छ । सुरक्षाकर्मीसहित कर्मचारी र निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको हो । चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकोप्टरमा त्यहाँ पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए ।
उनका अनुसार कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले ती मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था गरेको हो । निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरमार्फत लिमिका तीन मतदान केन्द्र लगिएको उनले बताए ।
‘ती चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएको थियो । त्यहाँ पुग्ने लेकको बाटोसमेत हिउँले अवरुद्ध बनेको छ,’ उनले भने, ‘सोही कारण कर्मचारी र मतपत्र लगायतका निर्वाचन सामग्री हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता अएको हो ।’ प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार निर्वाचन आयोगको अनुमतिपछि नाम्खा गाउँपालिका चारवटा मतदान केन्द्रमा खटिने कर्मचारी, मतपत्र लगायतका सामग्रीहरु हेलिकोप्टरले ढुवानी गर्ने काम सम्पन्न भएको छ ।
यसरी हेलिकोप्टरले मतदान केन्द्रमा सेवा दिने स्थानहरुमा नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका तीनवटा भृकुटी आवि जाङ, सुनखानी आवि हल्जी, हिमशिखर आवि तील र गाउँपालिका–४ को हिमालय आवि चाला मतदान केन्द्र रहेका छन् । तर त्यस क्षेत्रका अधिकांश मतदाता भने अझै गाउँ पुगेका छैनन् । भौगालिक कारणले लिमी क्षेत्रका मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रुपमा राखेको छ ।
लिमीको हल्जीमा २९३, जाङमा २४७, तीलमा १३२ र चाला मतदान केन्द्रमा १५९ मतदाता रहेका छन् । हाल यीमध्ये लिमीका तीन वटै मतदान केन्द्रमा २० प्रतिशत मतदाता मात्रै गाउँमा रहेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । बाँकी मतदाता काठमाडौँ, चीनको ताक्लाकोट, देशका अन्य सहरमा रहेको उनको भनाइ छ ।
ती मतदाताहरु लिमी फर्किन चाहेमा आउजाउ गर्न सहजताका लागि सडक खुलाउने प्रयास सुरु गरिएको छ । गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडकखण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ । जसमध्ये माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडकखण्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । उत्तरी नाम्खा गाउँपालिका–५ स्थित नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो ।
चार हजार ९४९ मिटरको उचाइमा रहेको नारा लेकको हिउँ पन्छाइएको हो । कर्णाली करिडोर हिल्सा सिमकोट सडक योजना कार्यालयले नारा लेकको हिउँ पन्छाएपछि हिमपातले अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लालले जनाएको छ । हिउँ पन्छाएपछि हिल्सा नाका हुँदै लिमी आउजाउ गर्न सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए ।
यसैगरी नाम्खा गाउँपालिका–६ को पाँच हजार दुई मिटर उचाइको न्यालु लेकको हिउँ पन्छाउन नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ नेतृत्वको टोली त्यसतर्फ गएको छ । न्यालु सडक खुलाउन अझै केही दिन लाग्ने वडाध्यक्ष तामाङ जानकारी दिए । हिउँ जमेर सडक बन्द हुँदा सर्वसाधरणदेखि सवारीसाधन आउजाउ ठप्प छन् ।
उनका अनुसार हिल्सा सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर काममा लगाइसकेको छ । यस्तै वडा नम्बर ६ को लिमी गाउँ जाने सडक नाम्खा गाउँपालिका र पूर्वधार विकास कार्यालयले दुई वटा स्काभेटर परिचालन गरेका छन् । यसैबीच डोल्पाका २३ वटा मतदान केन्द्रमा धमाधम हेलिकोप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पु¥याउने कार्य जारी छ ।
मंगलबार साँझसम्म डोल्पाका सबै पालिका हेलिकोप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री ढुवानी सम्पन्न हुने डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् । यस्तै मंगलबार साँझसम्म कर्णालीका सबै जिल्लास्थित मतदान केन्द्रमा कर्मचारीसहित निर्वाचन सामाग्री पुग्ने प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
३५९ मतदानस्थल अतिसंवेदनशील
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अतिसंवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अतिसंमवेदनशील रहेको पाइएको हो । यस्तै ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको उनले जानकारी दिए ।
प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अतिसंवेदशील रहेका छन् । संवेदशीलमा ६९७ र सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन् ।
एउटा मात्र केन्द्र भएको स्थलको संख्या कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको संख्या १२, पाँच केन्द्र भएको स्थलको संख्या एक, ६ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको संख्या १८, थप मतदान केन्द्रको संख्या ४९६ रहेका छन् ।
कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई÷दुई वटा र अन्य आठ जिल्लामा एक÷एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कूल मनदाता संख्या १० लाख ३७ हजार २५० जना रहेको छ । कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका छन् ।









प्रतिक्रिया दिनुहोस्