
सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगन्जले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सार्वजनिक अपिल गरेको छ । सार्वजनिक सरोकारका विषयमा निरन्तर वकालत र पैरवी गर्दै आएको उक्त समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको संयोजकत्वमा आइतबार बसेको बैठकले यस्तो अपिल गर्ने निर्णय गरेको जानकारी दिइएको छ । समूहका सहसंयोजक तथा प्रवक्ता अधिवक्ता बसन्त गौतमका अनुसार बैठकले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै पक्षलाई जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
समूहले नेपाल सरकार र स्थानीय प्रशासनलाई निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाई आम मतदातालाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेको छ । साथै सामाजिक सञ्जालमार्फत राजनीतिक दलका नेता तथा उम्मेदवारमाथि गरिने द्वेषपूर्ण अभिव्यक्ति, हेट–स्पिच तथा भड्काउ गतिविधि नगर्न पनि अपिल गरिएको छ ।
राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण सिर्जना गर्नुपर्नेमा समूहले जोड दिएको छ । त्यसैगरी, समूहले आम मतदातालाई पनि निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै आफ्नो मताधिकार प्रयोग गर्न र आफूले रोजेको जनप्रतिनिधि चयन गरी देशलाई सही दिशातर्फ अघि बढाउन योगदान दिन आह्वान गरेको छ ।
निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराउँदै निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई पनि समूहले विशेष ध्यान दिन आग्रह गरेको समूहका महासचिव अधिवक्ता विकास आचार्यले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्