वीरेन्द्र जैसी । नेपालगन्ज ।
पछिल्लो समय राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई प्रभावित गर्ने गरी विज्ञापन गर्ने गरेका छन् । विशेषगरी सामाजिक सञ्जाल कम्पनी मेटाका फेसबुक र इन्स्टाग्राममा गरिएको राजनीतिक विज्ञापनमा गरिएको खर्च विवरण पारदर्शीरूपमा हेर्न मिल्छ । फेसबुक एड लाइब्रेरीमा देखाइएअनुसार पछिल्लो एक महिनामा राजनीतिक विज्ञापनमा पाँच सय डलरभन्दा बढी खर्च गर्ने फेसबुक पेजहरूको संख्या २१ वटा छ ।
ती पेजमध्ये सबैभन्दा बढी विज्ञापनमा खर्च गरिएको ‘माइ भोइस् काउन्ट्स’ नामक पेजमा पछिल्लो एक महिनामा तीन हजार चार सय २४ डलर खर्च भएको छ । उक्त विशेषगरी मत सर्वेक्षण गरिएको देखिन्छ र उक्त एप माइ भोइस् काउन्ट्स नामकै मोबाइल एपको विज्ञापन गरिएको छ । जहाँ विभिन्न राजनीतिक विषयमा प्रश्नहरू राखेर भोट गर्न मिल्ने फिचर छन् ।
जसमा प्रयोगकर्ताहरूले आफ्नो प्रश्न राखेर मत सर्वेक्षण गर्न मिल्ने फिचर छ । एपमा राखिएका प्रश्नहरू निर्वाचन आयोगले गर्न नमिल्ने भनिएको उम्मेदवारलक्षित मत सर्वेक्षणका लागिसमेत लक्षित छन् । जस्तो कि आउने निर्वाचनमा झापा ५ मा कसले जित्ला ? भनेर बालेन र केपी ओलीको फोटो राखेर मत मागिएको छ । यस्तै, एपमा रहेका अरु प्रश्नहरू राखेर विज्ञापन गरिएको उक्त पेजको मुख्य उद्देश्य एप डाउनलोड गराउनेजस्तो देखिन्छ ।
त्यसपछि साझा पाटी, रुटिन अफ झापा ५, हाम्रो आवाज, नयाँ बाटो, अपलिफ्ट नेपाल र हाम्रो आवाज गरी ६ वटा पेजमा दुईजना उम्मेदवारलक्षित रिल्सहरूलाई स्पोन्सर गरिएको छ । ती उम्मेदवार हुन् डा. शेखर कोइराला र गौरव बोहरा । नेपाली काँग्रेसबाट मोरङ ६ मा उम्मेदवार रहेका कोइराला र राप्रपाबाट रुपन्देही ३ मा उम्मेदवार रहेका बोहराको प्रचार गर्न बनाइएका रिल्सहरूलाई यी पाँचवटै पेजमा रकम तिरेर बुस्ट गरिएको छ ।
ती पाँचवटै पेजमा पछिल्लो महिनामा गरिएको खर्च जोड्दा ६ हजार चार सय ५२ डलर हुन आउँछ । यी पेजहरूबाट एक महिनामा एक सय ५३ पटक विज्ञापन गरिएको छ । यी सबै ६ वटै पेजहरूमा गरिएको भुक्तानी पनि स्ट्र होल्डिङ प्रालि नामक एउटै कम्पनीबाट गरिएको छ ।
यसैगरी एमालेबाट काठमाडौँ क्षेत्र नम्बर ९ मा उम्मेदवार रहेका डा. अजयक्रान्ति शाक्यले फेसबुकमार्फत विज्ञापनमा एक हजार सात सय ७९ डलर खर्च गरिएको छ ।
डडेल्धुराबाट उम्मेदवार रहेका काँग्रेसका नैनसिंह महर नामको पेजबाट एक हजार चार ७३ डलर, गतिशील लोकतान्त्रिक पार्टी नामको पेजबाट एक हजार ९१ डलर, उज्यालो नेपाल पार्टीबाट कास्की २ मा उम्मेदवार रहेका कुशल गुरुङको नामको पेजबाट एक हजार २६ डलरको विज्ञापन गरिएको छ ।
मोरङ २ बाट उम्मेदवार रहेका एमालेका दिलीप बगडियाको पेजबाट नौ सय ९६ डलर, उज्यालो नेपाल पार्टीको विज्ञापन गरिएको देशको आशा नामक पेजबाट नौ सय २३, स्याङ्जा १ बाट उम्मेदवार रहेका काँग्रेसका भरतराज ढकाल जिताऔँ अभियान नामको पेजबाट आठ सय ८९ डलर खर्चिएको छ ।
यसैगरी पाँच सय डलरभन्दा बढी खर्च गरेका पेजहरूमा सर्लाही २ बाट उम्मेदवार रहेका राजेन्द्र महतोको प्रचार गरिएको महतो जी नामको पेज, महोत्तरी २ बाट उम्मेदार रहेका रमणकुमार, वकिल, जिताउ अभियान, क्षितिज थेबे, निशा अधिकारी, राजन भट्टराई, उज्यालो नेपाल पार्टी परिवर्तन, श्री गुरुङ र वीरेन्द्र कनोडिया नामका पेजहरू रहेका छन् ।
यसैगरी अरु आठ सयभन्दा बढी पेजहरूमार्फत राजनीतिक विषयमा पछिल्लो एक महिनामा गरिएका विज्ञापनमा गरिएको खर्च जोड्दा करिब ४६ हजार डलर हुन आउँछ । यसरी हेर्दा कम्तीमा ५० लाख नेपाली रूपैयाँँ राजनीतिक दल तथा उम्मेदवारहरूले विज्ञापनमार्फत विदेश पठाएका छन् ।
फेसबुकलगायत सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई सरकारले अझै नियमनको दायरमा लिएको देखिन्नँ । निर्वाचन आचारसंहितामा रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत परम्परागत सञ्चारमाध्यममा हुने विज्ञापनसम्बन्धिको मापदण्ड मात्रै तोकेको छ । सामाजिक सञ्जालमा हुने विज्ञापनको विषयमा आचारसंहिता मौन छ ।









प्रतिक्रिया दिनुहोस्