‘रुपन्देहीलाई देशमा मात्र होइन, विदेशको मूलप्रवाहसँग जोड्ने छु’



रुपन्देहीमा लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा आफूलाई स्थापित गरेको नाम हो सुशील गुरुङ । भैरहवामा जन्मिएका गुरुङले सामाज सेवाको यात्रामा आफूलाई अविराम समाहित हँुदै राजनीतिक यात्रासमेत सुरुवात गरेका थिए । मानवीय भावनाले ओतप्रोत संस्था रेडक्रसमा लामो समयदेखि जिम्मेवारी वहन गर्दै आएका गुरुङले नेपाली काँग्रेसको राजनीतिक अभियानमा ‘साथमा साथ, काँधमा काँध’ दिँदै आएका छन् । जेनजी आन्दोलनपश्चात् गठन भएको नागरिक सरकारको तत्वावधानमा यहि फागुन २१ मा देशभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ । जसमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसको रूख चुनाव चिन्ह लिएर गुरुङ चुनावी मैदानमा होमिएका छन् ।

                         सुशील गुरुङ, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ उम्मेदवार नेपाली काँग्रेस

चुनाव नजिकै आइसक्यो यहाँको व्यस्तता कत्तिको छ ?

हो, चुनावमा जनताले मत प्रकट गर्नको लागि धेरै दिन छैन । म रुपन्देही–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदातासँग आफ्नो विकास योजना प्रस्तुत गर्दै व्यस्त छु । ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारासहित स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र सुशासनलाई प्राथमिकतामा राखेर जनतासँग मतको अपेक्षासहित घरदैलोमा लागिरहेको छु ।

यहाँले अगाडी सारेका मुख्य मुख्य एजेन्डा के के छन् ?

पक्कै पनि भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, लुम्बिनी क्षेत्रको पर्यटनमैत्री पूर्वाधार विकास, सीमा नाका व्यवस्थापन सुधार र विशेष आर्थिक क्षेत्र (सेज) प्रभावकारी बनाउने योजना अघि सारेको छु । स्थानीय तहमा सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ समस्या समाधान, अधुरा अस्पताल र पूर्वाधार सम्पन्न गर्ने तथा औद्योगिक क्षेत्र विस्तारमार्फत रोजगारी सिर्जना गर्ने योजना अगाडी बढाउने गरी मेरो घोषणापत्रमा समावेश छन् । स्वास्थ्य क्षेत्रमा अस्पतालको स्तर उन्नति, स्वास्थ्य बीमा सहज बनाउने र सबैलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउने विशेष पहल गर्ने छु । शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा विस्तार, नमुना विद्यालय स्थापना र सरकारी प्राविधिक इन्स्टिच्युट निर्माण गर्ने योजना पनि समावेश छ ।

युवा क्षेत्रको लागि के कस्ता योजना बनाउनुभएको हो ?

अहिलेको सरकार नै युवाहरूको माग र आवश्यकताको आधारमा बनेको हो । हामी हाम्रो पार्टीमा पनि अहिले युवाले नै नेतृत्व सम्हालेका छौँ । पक्कै पनि युवालाई उद्यमशीलता विकासका लागि स्टार्टअप फन्ड सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने मैले अगाडी बढाएको छु । यसको साथै दलित, आदिवासी, मधेसी, मुस्लिम र पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासमा पनि जोड दिने छु भने सुशासन र विकासलाई विशेष प्राथमिकता दिएको छु ।

यो क्षेत्रमा धेरै अधुरा पूर्वाधार र कृषि क्षेत्रको विकासका लागि यहाँको योजना के छ नी ?

अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्ने तथा औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारीका अवसर सिर्जना मेरो योजना छ । स्थानीय उत्पादनको बजारीकरण, आधुनिक कृषि बजार स्थापना, सिँचाइको व्यवस्था र किसानलाई उन्नत बीउ–मल सहज उपलब्ध गराउने पनि प्रतिबद्धता मेरो रहेको छ । युवालाई उद्यमशीलता विकासका लागि स्टार्टअप फन्ड सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ । शिक्षातर्फ विद्यालयहरूमा प्राविधिक शिक्षा विस्तार गरी युवालाई सीपयुक्त बनाउने, प्रत्येक पालिकामा नमुना विद्यालय स्थापना गर्ने तथा सरकारी प्राविधिक इन्स्टिच्युट निर्माण गर्ने योजना अघि सारेको छु । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन, लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक–पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने तथा खेलकुद पूर्वाधार निर्माणमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य पनि यहाँ राखेको छु ।

समावेशीकरणको विषयमा यहाँको मुख्य योजना के रहेको छ ?

दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छु । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई विशेष जोड दिँदै जनताका आवाजलाई प्रतिनिधिसभामा प्रभावकारी रूपमा उठाउने योजना बनाएको छु ।

यो क्षेत्रमा अहिले पनि अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या धेरै देखिन्छ, समस्या समाधानको लागि के कस्तो योजना बनाउनुभएको छ?

अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान, सडक स्तरोन्नति, खानेपानी विस्तार, रिङरोड निर्माण तथा सामाजिक पूर्वाधार सुदृढीकरणमा विशेष पहल गर्ने मेरो प्रतिबद्धता रहेको छ । समग्रमा विकास, रोजगारी, सुशासन र समावेशी नीतिलाई आधार बनाएको छु ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न वडा र भित्री बजारहरूमा नगरबस सञ्चालनको योजना मेरो रहेको छ । विभिन्न वडा र भित्री बजारहरूसम्म सञ्चालनका लागि पहल गर्ने सार्वजनिक बस सेवाले विशेष गरी छात्र–छात्रा, ज्येष्ठ नागरिक र दैनिक यात्रुहरूलाई ठूलो सुविधा पुग्ने विश्वास मैले लिएको छु । सस्तो, सुरक्षित र भरपर्दो सार्वजनिक यातायातका लागि पहल गर्ने हाम्रो प्रतिबद्धता हो । नगरबस सेवा विस्तारले नागरिकको जीवनलाई धेरै सहज बनाउने छ भन्ने मेरो बुझाइ छ ।

भैरहवासहित क्षेत्र नम्बर ३ को विकासमा यहाँको थप योजना के छ ?

म यहीँको स्थानीय हो । निर्वाचन परिणाम जस्तो आए पनि म बस्ने यहीँ हो । यस क्षेत्रको मलाई माया छ । मतदाताले साथ दिएको अवस्थामा नीति कानुन निर्माणका साथै मैले आफ्नै ठाउँको नै विकास गर्ने हो । क्षेत्रका विभिन्न गाउँहरूमा अहिले पनि सार्वजनिक यातायातको पहुँच छैन । पहुँचका लागि योजना बनाएको छु । योजना कार्यान्वयपछि यस क्षेत्रवासी लाभान्वित हुने विश्वास व्यक्त गरेको छु । यसको साथै भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरमा समेत पहिचान स्थापना गर्ने मेरो योजना रहेको छ ।

अन्त्यमा यहाँको क्षेत्रका मतदाताहरूलाई के भन्न चाहनु हुन्छ ?

मेरो क्षेत्रका साथै अन्य स्थानमा रहनुभएका मतादाता महानुभावले यो पटक युवा नेतृत्वले अगाडी बढाएको देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसलाई रूख चिन्हमा मतदात गरी विजयी बनाउनुहुनेछ भन्ने मेरो पूर्ण विश्वास छ । यहाँले दिएको मतको पूर्ण सदुपयोग हुने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार