इलाका प्रशासन कार्यालय कोहलपुरले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । कोहलपुर ११ की एक युवतीले पहिलोपटक आमाको नामबाट नागरिकता प्राप्त गरेकी हुन् । बिहीबार दिउँसो कार्यालयमा नागरिकता प्राप्त गर्दा आमाछोरीको रुवाबासी नै चलेको थियो ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बिहीबार दिउँसो इलाका प्रशासन कार्यालय कोहलपुर पुग्दा कार्यालय प्रमुख अन्तिम सिञ्जाली केही महिला सेवाग्राहीसँग कुराकानी गरिरहेकी थिइन् । उनीसँगै थिइन्, कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्मा । कार्यालयको अघिल्तिर सिञ्जाली थिइन् । त्यसको दायाँपट्टी वडाअध्यक्ष शर्मा बसिरहेकी थिइन् । सोही कोठामा साइडतिरको सोफामा एकजना युवती र दुईजना अधबैँसे महिला पनि थिए ।
हामी त्यहाँ पुग्नेबित्तिकै वडाध्यक्ष शर्मा जुरुक्क उठिन् । कार्यालय प्रमुख सिञ्जालीसहित त्यहाँ रहेका सबैजना हर्षित देखिन्थे । त्यो खुसीको कारण थियो, वर्षौँपछिको संघर्षपश्चात् नागरिकता प्राप्ति । लगत्तै कार्यालय प्रमुख सिञ्जालीले एक युवतीलाई कार्यालयमै नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरिन् । इलाका प्रशासन कार्यालय कोहलपुर स्थापनापछि पहिलोपटक आमाको नामबाट वंशजको आधारमा नागरिकता प्राप्त गर्ने पहिलो सेवाग्राही थिइन्, कोहलपुर–११ की २३ वर्षीया रेश्मा राई ।
नागरिकता प्राप्त गर्दाको खुसी उनको मुहारमा प्रष्टै झल्कन्थ्यो । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन्, ‘नागरिकता प्राप्तिका लागि मैले धेरै संघर्ष गरेँ । आज मैले नागरिकता प्राप्त गरेको छु । मलाई एकदमै खुसी लागिरहेको छ ।’ उनले सुरुसुरुमा नागरिकता प्राप्तिको लागि धेरैपटक प्रयास गर्दा पनि सफल नहुँदा नागरिकता पाउँदिन कि जस्तो अनुभूति भएको बताइन् ।
उनले आमाको नामबाट नागरिकता प्राप्तिको लागि झण्डै ६ वर्ष संघर्ष गरिन् । यो बीचमा नागरिकता प्राप्तिका लागि निकै दुःख पनि भोग्नु परेको उनको भनाइ थियो । त्रिभुवन माविबाट प्लस टुसम्मको अध्ययन सकाएकी उनले नागरिकता नभएकै कारण धेरै अवसरबाट वञ्चित हुनुप¥यो । नागरिकता नभएकै कारण उनले प्लस टुपछि थप अध्ययनसमेत गर्न पाइनन् ।
‘मेरो बुवा लामो समयदेखि बेपत्ता हुनुहुन्छ । हामीलाई आमाले काम गरेर हुर्काउनु भएको हो । प्लस टु सकिएपछि धेरै ठाउँ जागिरको लागि धाउँदा जहाँ पनि नागरिकता खोज्थ्यो । तर आफूसँग नागरिकता थिएन । धेरै अवसरबाट वञ्चित भएँ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै राईले भनिन् । नागरिकता नपाउँदा नेपाली नागरिक नै होइन कि जस्तो लाग्थ्यो ।
अहिले नागरिकता पाएपछि संसारको सबैभन्दा महंगो खुसी प्राप्त गरेको जस्तो अनुभूति भएको राईले बताइन् । आफ्नो नागरिकता प्राप्तिको लागि भूमिका खेल्ने कोहलपुर–११ की वडाअध्यक्ष र इलाका प्रशासन कार्यालय कोहलपुरकी प्रमुख सिञ्जालीलाई उनले धन्यवाद व्यक्त गरिन् ।
१६ वर्षको उमेरदेखि राईलाई नागरिकता दिलाउन सरकारी दैलो चाहार्दै संघर्ष गरेकी थिइन् उनकी माइजु जानकी खड्काले ।
बिहीबार भाञ्जीले नागरिकता पाउँदैछिन् भन्ने थाहा पाएपछि घरको सम्पूर्ण काम छोडेर दौडिँदै इलाका प्रशासन कार्यालयमा पुगेकी थिइन् । खड्का आफ्नी भाञ्जीले वर्षौँपछि नागरिकता पाउँदा निकै खुसी थिइन् । मिसन टुडे दैनिकसँग कुराकानीका क्रममा हर्षका आँसु खसाल्दै उनले भनिन्, ‘आज मेरी भाञ्जीले न्याय पाएकी छन् । नागरिकता नहुँदाको पीडा हामीले मात्रै अनुभूति गरेका छौँ । मेरै काखमा जन्मे हुर्केकी हुन् ।
नागरिकता दिलाउन नपाउँदा दुःखी थियौँ । आज सरकार र सबैको प्रयासले नागरिकता पाइयो ।’ महिला मान्छेले १२ कक्षासम्म दुःख गरेर पढाए पनि नागरिकता नभएकै कारण विभिन्न अवसरबाट वञ्चित भएको भन्दै अब भने सहज हुने खड्काको भनाइ थियो । आमाको नामबाट नागरिकता पाउने कानुन बनाएर सरकारले आफ्नी भाञ्जीजस्ता धेरै युवायुवतीलाई राहत भएको भन्दै उनले सरकारलाई धन्यवाद प्रकट गरिन् ।
रेश्मा राईकी आमा रमा खड्का भने सम्हालिन सकिनन् । उनले रुँदै भनिन्, ‘छोरी भर्खरै जन्मेकी थिई । यसका बाबा बेपत्ता भए । दुःख गरेर हुर्काएँ, बढाएँ । आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो ।’ उनले दश औँला जोडेर आफूहरूलाई खुसी प्रदान गर्न भूमिका खेल्ने सम्पूर्णलाई आभार प्रकट गरिन् । इलाका प्रशासन कार्यालय कोहलपुरकी कार्यालय प्रमुख अन्तिम सिञ्जालीले नेपाल नागरिकता ऐन, २०६३ संशोधन भएर विधेयक प्रमाणित भएपछि कोहलपुरमा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको जानकारी दिइन् ।
कार्यालय प्रमुखका रूपमा वंशजको आधारमा आमाको नामबाट सेवाग्राहीलाई सेवा दिन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उनको भनाइ थियो । सिञ्जालीले भनिन्, ‘उहाँ ५–६ वर्षदेखि नागरिकताको लागि कार्यालयमा धाएको देखिन्छ । पछिल्लोपटक पनि उहाँ तीन महिनाअघि आउनु भएको थियो । हामीले कानुनअनुसार काम अघि बढाइरहेका थियौँ ।
यहीबेला भर्खरै कानुन नै संशोधन भएर आएपछि हामीलाई पनि सहज भएको हो ।’ कार्यालयमा विगतमा यस्तो समस्या ल्याएर धेरै जना आउने गरेको र अब भने सजिलो भएको उनले जानकारी दिइन् । राईको नागरिकता प्राप्तिका लागि कोहलपुर नगरपालिका वडा नम्बर ११ ले समेत भूमिका खेलेको थियो । वडाध्यक्ष शर्माले आफ्नो वडाका नागरिकताले लामो संघर्षपछि नागरिकता पाउँदा खुसी लागेको बताइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत असोजमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए । ऐनको दफा (५)मा आमाले स्वघोषणा गरेपछि सन्तानले नागरिकता पाउन सक्ने र त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिने व्यवस्था गरिएको छ । यसरी पाउने नागरिकता वंशजका आधारमा हुनेछ ।
दफा (५)मा लेखिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नागरिकता प्राप्त गर्नेछ ।’
आमाको नामबाट नागरिकता दिने उद्देश्यबाट नागरिकता विधेयक, २०८१ माघमा प्रतिनिधिसभामा दर्ता गरिएको थियो । उक्त विधेयकलाई २०८१ चैतमा प्रतिनिधिसभाले पास गरेको थियो । त्यसपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । २०८२ भदौ ६ गते राष्ट्रियसभाले प्रतिनिधिसभामा फर्काएको थियो । सभामुख देवराज घिमिरेले २०८२ भदौ १८ गते उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए ।








प्रतिक्रिया दिनुहोस्